ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकाली आयुर्वेद औषधालयमा औषधि अभाव

२०७७ असोज, १  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । महाकाली अञ्चल आयुर्वेद औषधालय, महेन्द्रनगरमा औषधि अभाव रहेको पाइएको छ । चालू आर्थिक वर्षमा औषधिको आपूर्ति नभएपछि औषधालयमा औषधि अभाव भएको हो । गत आर्थिक वर्षकै बाँकी रहेको औषधिबाट सेवा दिइरहेको औषधालयलाई अहिलेसम्म औषधि प्राप्त हुन सकेको छैन ।

आयुर्वेद औषधालयका प्रमुख डाक्टर ओम प्रकाश कलौनीले औषधालयमा औषधि अभाव भएको बताए । उनका अनुसार मन्त्रालयले चालू आर्थिक वर्षका लागि आवश्यक औषधि नपठाँउदा समस्या भएको छ । औषधालयले गत आर्थिक वर्षमा आएको औषधि वितरण गरिरहेको भए पनि हाल सोही स्टक सकिएको छ ।

औषधालयमा गत चैतमा औषधि आपूर्ति भएको थियो । कोरोना भाइरसको संक्रमणपछि आयुर्वेदिक औषधिको माग बढे पनि थप आपूर्ति नभएको औषधालयका डाक्टर कलौनीको भनाइ छ । ‘कोरोना भाइरसको संक्रमणपछि आयुर्वेदिक औषधिको माग एकदमै बढेको छ,’  उनले भने, ‘अहिले दैनिक ४० जनासम्म सेवाग्राही आउने गरेका छन् । औषधि अभाव भएकाले सेवाग्राहीलाई परामर्श र आवश्यक औषधि किन्न सुझाव दिने गरेका छौं ।’

औषधालयका अर्का कर्मचारी कृष्णदक्त उपाध्यायले औषधि अभाव भएपछि बिरामीविना औषधि फिर्ता हुने गरेको बताए । उनका अनुसार औषधालयमा बढीजसो माग हुने सबै औषधि सकिएका छन् । औषधालयमा ग्यास्ट्रिक, सुगर, बाथ रोग, जन्डिस लगायतको औषधि अभाव भएको छ ।

‘पछिल्लो समय आयुर्वेदिक औषधिमा बिरामीको आकर्षण बढ्दै गएको छ,’ उपाध्यायले भने, ‘औषधालयमा निःशुल्क औषधि पाइने भएको आउनेहरू धेरै हुन्छन्, तर औषधि अभाव हुँदा रित्तै फर्काउनुपर्ने बाध्यता छ ।’ आवश्यक औषधिको माग फारम सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको औषधालयले बताएको छ ।

पछिल्लो समय आयुर्वेदिक औषधिमा सेवाग्राहीको आकर्षण बढ्दै गएको पाइएको छ । अहिले दैनिक ४० देखि ५० जना सेवाग्राही आउने गरेको कार्यालयले बताएको छ । विगतका वर्षमा दैनिक १५ जनासम्म सेवाग्राही आउने गरेको कार्यालयको तथ्यांक छ ।

गत आवमा मात्रै ७ हजार सेवाग्राही औषधालयबाट सेवा लिएका छन् भने अघिल्लो आर्थिक वर्षमा ५ हजार जनाले सेवा लिएको औषधालयका डाक्टर कलौनीले बताए । त्यस्तै चालू आवको २ महीनामा मात्रै ११ सयभन्दा बढीले सेवा लिएका छन् । आयुर्वेद औषधालयले सञ्चालन गरेको पञ्चकर्म सेवा प्रभावकारी बन्दै गएको छ । औषधालयले चार वर्षअघि शुरू गरेको पञ्चकर्म सेवा लिनेहरू समेत बढेका छन् । औषधालयका अनुसार पञ्चकर्म सेवाबाट हाड जोर्नी दुख्ने, टाउको दुख्ने, बाथ रोग लगायत समस्याको उपचार हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)