ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो नयाँ कर्जाको माग

२०७७ असोज, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थामा नयाँ कर्जाको माग बढ्न थालेको छ । खासगरी कोरोनाबाट प्रभावित ठूला तथा साना सबै खाले व्यवसायलाई राहत दिन ल्याइएको चालू पूँजी कर्जाको माग बढेको हो ।

चालू पूँजी कर्जाको दायरा बढाएपछि बैंकहरूमा यसको माग आउन थालेको बैंकरहरूले बताएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले कम्पनी सञ्चालन गर्ने खालका कर्जाहरूको माग बढ्न थालेको बताए । ‘राष्ट्र बैंकले कार्यालय सञ्चालन खर्चका लागि चालू कर्जाको दायरा बढाएपछि माग हुन थालेको हो,’ उनले भने । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार पर्यटनबाहेकका क्षेत्रले कर्जाको माग गर्न थालेका छन् ।

नबिल बैंकका सीईओ अनिल शाह पनि कर्जा प्रवाहमा सुधार देखिएको स्वीकार्छन् । ‘लामो समय बन्द रहेका ठूला कम्पनीहरू पुनः सुचारु हुन कर्जा आवश्यक पर्छ । यसैले यसअघि ठप्प रहेका सिमेन्ट फ्याक्ट्रीलगायत उद्योगले कर्जा माग गर्न थालेका छन् । साना तथा मझौला उद्यमीहरूले पनि व्यवसाय सुचारु गर्न कर्जा लिन आएका छन्,’ उनले भने, ‘व्यवसायीहरू होटेल, रेस्टुराँ सञ्चालन हुने अपेक्षाले आवश्यक कर्जा लिन इच्छुक भएको देखिन्छ ।’

शाहका अनुसार ठूला कम्पनीहरू सञ्चालन गर्न नगद आवश्यक हुने भएकाले कर्जा माग बढेको हो । तर, नजिकिँदै गरेको दशैंतिहार जस्ता चाडपर्व लक्षित गरी वस्तु आयातका लागि भने एलसी (लेटर अफ करेन्सी) कर्जा प्रवाह नभएको उनले बताए । दशैंका लागि वस्तुहरू आयात हुनुपर्ने हो तर त्यसका लागि एलसी खोल्न कोही पनि नआएको उनको भनाइ छ । सरकारले चाडपर्व ढुक्कले खुलाउने भनेर आश्वासन नदिएकाले व्यवसाय पनि अलमलमा परेकाले यस्तो कर्जाको माग नभएको उनको ठहर छ ।

बैंकिङ प्रणालीमा करीब २ खर्ब रुपैयाँ हाराहारीमा अधिक तरलताको अवस्था छ । बैंकमा निक्षेप मात्र थुप्रिरहने र कर्जा प्रवाह खासै हुन नसक्दा कर्जा तथा निक्षेपकै ब्याजदर विगत ५ महीनामा निकै तल झरेको छ । बैंकहरूले साधारण निक्षेपको ब्याजदर न्यूनतम २ प्रतिशतसम्म झारेका छन् भने निक्षेपको अधिकतम ब्याजदर करीब ८ प्रतिशतको हाराहारीमा रह्यो । बैंकहरूले घटेको आधारदरमा कर्जाको ब्याजदर निर्धारण गरे । तर पनि कर्जा प्रवाह हुने स्थिति छैन । यसबीच कतिपय बैंकले आधारदरभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याए । यसले कर्जा प्रवाहमा पुराना ऋणी तानातान गर्ने काममात्र ग¥यो ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ जारी गरेको र निषेधाज्ञा पनि केही खुकुलो भएकाले कर्जाको माग हुन थालेको बैंकरहरू बताउँछन् । यसअघि पुराना कर्जा बैंकबीच तानातान गर्ने प्रवृत्ति थियो तर अहिले नयाँ कर्जा प्रवाह हुन थालेको बैंकरहरू स्वीकार गर्छन् । व्यवसायीहरू भने बजार सुचारु नभएसम्म ढुक्क भएर कर्जा लिनु उपयुक्त नहुने बताउँछन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर अहिले लगानी गर्ने वातावरण नभएको बताउँछन् । ‘बैंकबाट अहिले कर्जा लिएर के गर्नु, लगानी गर्ने अवस्था सुदृढ भएको छैन । कोरोना महामारी अन्त्य नभएसम्म लगानीको राम्रो वातावरण हुन नसक्ने स्थिति छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)