पर्वत । पर्वतमा कोरोना महामारीको प्रभाव तुलनात्मक रूपमा कम छ । लकडाउनपछि कतिपय विकास निर्माणका काम सुचारु भएका छन् । तर, सडक पूर्वाधारको काम भने अलपत्र भएको छ । भारत तथा तराईबाट कामदार आउन चैतयता कालोपत्रको काम ठप्प छ । पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास वैरागीले जिल्लामा अघिल्लो वर्ष सम्पन्न हुनुपर्ने ४३ ओटा सडकको स्तरोन्नति सहित सातओटा ठूला आयोजनाका सडकको काम रोकिएको बताए । ‘नेपाली कामदारले मात्रै कालोपत्रको काम गर्न नसक्ने रहेछन्,’ उनले भने, ‘कोरोना महामारीका कारण भारतीय कामदार ल्याउन सकिएन ।’
मजदूर नहुँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर सहित ९ ओटा सडकको काम रोकिएको छ । ग्रामीण क्षेत्रका सडक सहित सदरमुकाम कुश्माको भित्री सडक र वाहिरी चक्रपथको कालोपत्र गर्ने काम पनि अलपत्र छ । लकडाउनपछि घर फर्किएका यहाँका आयोजनामा कार्यरत मजदूरहरू पुनः काममा फर्किन पाएका छैनन् ।
गत आर्थिक वर्षभित्रै सक्ने गरी सम्झौता भएका चिसापानी–हुवास १० किलोमिटर, कुश्मा–दुर्लुङ ५ किलोमिटर, सिल्मी–कार्कीनेटा साढे ५ किलोमिटर कालोपत्रको अन्तिम चरणमा थिए । दोबिल्ला–फलेवास, हिलेखोला–कार्किनेटा, अर्मादी–बनौँ सडकको कालोपत्र पनि अलपत्र अवस्थामा रहेको बैरागीले जानकारी दिए । प्रदेश मातहतको पूर्वाधार कार्यालय बाहेक स्थानीय तह र संघीय सरकार मातहत मर्मत र स्तरोन्नति हुनुपर्ने सडकको काम रोकिएको छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको २४ किलोमिटर र कालीगण्डकी कोरिडोरको ७ किलोमिटर कालोपत्र गर्ने योजना पनि पूरा हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापामगरले असारसम्म पर्वत खण्ड सक्ने सम्झौता रहेकोमा म्याद थप्ने तयारीमा रहेको जानकारी दिए ।
‘स्थानीय रुपमा उपलब्ध कामदारबाट नाली निर्माण, गिटी बिच्छ्याउने, पर्खाल निर्माण लगायत संरचना बनाउने काम चलिरहेको छ,’ थापा मगरले भने, ‘विगत पाँच महीनादेखि कामको गति शून्य अवस्थामै छ ।’ पूर्वाधार कार्यालयले गत आर्थिक वर्षमा सकिने सबैजसो योजनाको कम्तीमा ६ महीना म्याद थप गरेको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । कामदार ल्याउन प्रशासनसँग समन्वय भइरहेको आचार्यले बताए । जिल्लाका सबै स्थानीय तहसम्म पुग्ने सडक कालोपत्र गर्न अघिल्लो वर्षदेखि संघ, प्रदेश र स्थानीय तहले करोडौं रुपैयाँ बजेट विनियोजन गरेका थिए । जिल्ला सदरमुकाम कुश्माको भित्री सडक र बाहिरी चक्रपथ विस्तारले पनि गति लिएको छैन ।