ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लामो दूरीका यातायात सुचारु

२०७७ असोज, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । संघीय सरकारले बिहीबारबाट लामो दूरीका सम्पूर्ण सार्वजनिक यातायात खोल्ने निर्णय गरे पनि स्थानीय तहसँग सहकार्य नहुँदा काठमाडाैंबाट बाहिरिएका गाडी विभिन्न जिल्लामा होल्ड भएका छन् ।

सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सार्वजनिक यातायात खुलाए पनि बाटोमा प्रहरीले रोकेर दुःख दिएको यातायात व्यवसायीहरूले बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ देखि लगाइएको देशव्यापी बन्दाबन्दीसँगै लामो दूरीमा चल्ने सवारीसाधन ठप्प भएका थिए । साउनमा बन्दाबन्दी खुकुलो पारिँदा छोटो दूरीको यातायात सञ्चालन खुला गरिएको थियो ।

सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरी गाडी चलाए पनि स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा बाटोमा प्रहरीले गाडी रोकेर दुःख दिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

सुनसरी, धादिङ, विराटनगर, चितवन र झापालगायत जिल्लामा गाडी रोकिएको उनले बताए । ‘कतिपय ठाउँमा ५ गतेबाट मात्र यातायात खोल्ने निर्णय भएको भन्दै रोकिएको रहेछ र कतिपय ठाउँमा आपूmसँग समन्वय नभएको भन्दै प्रमुख जिल्ला अधिकारीले रोकेका छन्,’ उनले भने ।

उनका अनुसार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले त्यहाँका व्यवसायीलाई भोलि यातायात खुलाउने विषयमा छलफल गर्न बोलाएका छन् ।

कर्माचार्यले आफूहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई यसको जानकारी गराएकोमा मन्त्रीले यातायात सञ्चालनको सहज वातावरण बनाउने आश्वासन दिएको बताए ।

यातायात सञ्चालनको पहिलो दिन लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रुको चाप भने सामान्य देखियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीवार पहिलो दिन ६९ वटा सार्वजनिक बस काठमाडांै भित्रिएकामा ५६ वटा मात्र बाहिरिएका छन् ।

थोरै मात्रामा सार्वजनिक सवारीको चहलपहल भएकोमा निजी सवारी, मालवाहक सवारीसहित पहिलो दिन काठमाडाैंबाट बाहिरिनेको संख्या ५ हजार ३ सय ३३ र काठमाडौंमा भित्रिनेको संख्या ४ हजार ७५ रहेको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले पहिलो दिनको अनुगमनमा सबै सवारीले मापदण्ड अपनाएको र कतैबाट कुनै गुनासो पनि नआएको बताए ।

पहिलो दिन जिल्लासँग समन्वय नहुँदा जिल्लामा सामान्य समस्या देखिए पनि आगामी १ हप्तासम्म अवस्था सामान्य हुने महासंघका अध्यक्ष कर्माचार्य बताउँछन् ।

प्रत्येक वर्ष दशैंमा काठमाडौंबाट बाहिरिनेको चाप बाक्लो भए पनि यस वर्ष दशैं नजिकिँदै गए पनि त्यस्तो चहलपहल देखिँदैन । ‘अधिकांश मानिस राजधानी नफर्किएकाले यात्रु व्यवस्थापनमा त्यस्तो समस्या नदेखिएला,’ कर्माचार्यले भने ।

यात्रुको चाप सामान्य भएकाले यस वर्ष व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने भएका छन् । ‘यात्रुको चाप छैन त्यसैले अग्रिम टिकट बुकिङ खुलाइराख्न आवश्यक देखिँदैन, आगामी एक साताको चाप हेरेर टिकट बुकिङ खुलाउन आवश्यक देखिए मात्र अग्रिम टिकट बुकिङ खोल्छाैं,’ कर्माचार्यले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)