ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर–जयनगर रेल : आज ३४ किमी खण्डमा परीक्षणको रूपमा सञ्चालन हुँदै

२०७७ असोज, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क. author avatar कमलेश ठाकुर

काठमाडाै/जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा शुक्रवार परीक्षणको रूपमा रेल सञ्चालन हुने भएको छ । भारत सरकारको कम्पनी कोंकण रेलवे कर्पोरेशनले निर्माण गरेको रेल बिहीवार बेलुका जयनगर आइपुगेको छ ।

करीब १३ सय यात्रु क्षमता रहेको रेल सीमावर्ती जयनगरबाट शुक्रवार जनकपुर ल्याइँदै छ । शुक्रवार रेलको परीक्षण गरिने नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

परीक्षण सञ्चालनका क्रममा रेलमा कुनै समस्या नआए शुक्रवार नै भारतीय कम्पनीले नेपाललाई जिम्मा लगाउनेछ । उक्त रेल कम्पनीकै प्राविधिकहरूले चलाएर नेपालको जनकपुरसम्म ल्याउने भट्टराईले बताए । नियमित रूपमा सञ्चालनका लागि एक साताभित्रै भारतसँग छलफल गरेर मोडालिटी तयार हुने उनले जानकारी दिए ।

भारतमा बनेको रेलको यात्रु क्षमता करीब २६ सय छ भने कम्पनीले ती रेल केही साताअघि सीमावर्ती विहारको हाजीपुर ल्याइपुर्‍याएको थियो ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालन गरिनेछ ।

जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारत सरकारकै अनुदानमा रेलमार्ग निर्माण पूरा भइसकेको छ ।

जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । गतवर्ष रेल सेवा सञ्चालन हुने दाबी सरोकारवाला निकायले गरे पनि बाढीका कारण सम्भव भएन । रेलमार्ग भूगोलअनुसार निर्माण नहुँदा बाढीले क्षतिग्रस्त बनाएको थियो ।

सन् २०१० मा भारत सरकारको पूर्ण अनुदानमा भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमिटरमा रेलमार्गका लागि पूर्वाधार निर्माण गरिने सम्झौता दुई देशका सरकारबीच भएको थियो ।

त्यसका लागि रू. ५ अर्ब ३८ करोड रुपैयाँ भारत सरकारले अनुदान दिएको थियो । हाल पहिलो चरणमा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३२ किलोमिटरसम्म निर्माणको काम सम्पन्न भएको छ ।

रेलमार्ग निर्माणको काम भारतीय अनुदानमा भए पनि रेल भने नेपाल सरकार आफैले किनेको हो । भन्सारबाहेक रू. ८५ करोड ६५ लाख रुपैयाँमा पाँचओटा डिब्बासहितका दुई सेट रेल नेपाल सरकारले किनेको छ ।

यसमा रू. १५ करोड भन्सार कर लागेकाले १ अर्ब रुपैयाँ लागतध मा नेपाल सरकारले रेल किनेको हो । एक सेट रेलमा पाँचओटा डिब्बा छन्, जसमध्ये एउटा डिब्बा भने एसी कोच रहेको बुझिएको छ ।

जयनगर–जनकपुर ब्रोडगेज निर्माणका लागि रेल सेवा २०१४ देखि बन्द थियो । यस क्षेत्रका बासिन्दा लामो समयदेखि रेलको पर्खाइमा छन् ।

पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेलवे सेवा सञ्चालनका गर्ने विभागको तयारी छ ।

भारतीय कर्मचारीकै बोलवाला
जयनगर–जनकपुर रेल सेवामा भारतीय कर्मचारीकै बोलवाला हुने देखिएको छ । नेपाल सरकारसँग आवश्यक दक्ष जनशक्ति नहुँदा भारतीय कर्मचारीकै भर पर्नुपर्ने अवस्था छ ।
रेल चलाउन ३ जना चालक, ३ जना सहचालक, ८ जना स्टेशन मास्टर, ३ जना प्वाइन्ट्स म्यान, ३ जना मेकानिक्स, सिनियर सेक्शन इन्चार्ज १ जना, सुपरभाइजर ३ जना गरी २६ जना भारतीय कर्मचारी राख्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)