ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औषधि उद्योगको कच्चा पदार्थमा भ्याट छूट बजेटमै सीमित

२०७७ असोज, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले स्वदेशी औषधि उद्योगको प्रवद्र्धनका लागि चालू आर्थिक वर्षको बजेटमार्फत कच्चा पदार्थ र प्याकिङ मेटेरियलमा मूल्यअभिवृद्धि कर (भ्याट) छूट दिने घोषणा गरे पनि यसको कार्यान्वयन भएको छैन । उद्योगीले तीन दर्जनभन्दा बढी यता वस्तु आयात गर्दा अहिले पनि भ्याट तिर्नुपरेको बताएका छन् ।

औषधि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ र सहायक कच्चा पदार्थको आयातमा मूल्यअभिवृद्धि कर तिर्नुपरेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । ‘सरकारले चालू आर्थिक वर्षको बजेटमा भ्याट छूटको घोषणा गरे पनि भन्सार कार्यालयहरूले यस्तो कर लिइरहेका छन्,’ महासचिव अधिकारीले आर्थिक अभियानसँग भने ।

कच्चा पदार्थ र प्याकिङ मेटेरियल आयतमा सहुलियत दिने बजेटको व्यवस्थालाई आर्थिक ऐनमा छुटाइएकाले भन्सारले आयातमा भ्याट असुल गरेका हुन् । बजेटको व्यवस्था कार्यान्वयन नभएपछि उत्पादकले अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म ऐन सच्याउन माग गरे पनि अहिलेसम्म सुधार नभएको संघका निवर्तमान अध्यक्ष दीपक दाहालको भनाइ छ ।

सरोकारका अधिकारीहरूले बजेटमा घोषणा भएको छूट आर्थिक ऐनमा छुटेको स्वीकार गरे पनि बजेट आएको साढे ३ महीना बितिसक्दा पनि सहजीकरण नगरेको आरोप दाहालले लगाए । कच्चा पदार्थमा भ्याट लागेपछि उत्पादकले यस्ता वस्तुको आयात घटाएका छन् । अत्यावश्यक अवस्थामा मात्रै आयात गरेका छन् ।

जीवनजलको मुख्य कच्चा पदार्थ डेक्ट्रोजमा भ्याट लिन थालेपछि औषधि उद्योगले यसको उत्पादन घटाएका छन् । जीवनजलमा ७० प्रतिशत डेस्ट्रोज प्रयोग हुने उद्योगीको भनाइ छ । ‘यो वर्ष अहिलेसम्म झाडापखालाको समस्या देखिएन । यदि, यो समस्या आइदिएको भए जीवनजलको हाहाकार हुने थियो,’ महासचिव अधिकारीले भने ।

सरकारले अत्यावश्यकीय औषधिमा लामो समयदेखि मूल्य समायोजन नगरेको अवस्थामा कच्चा पदार्थको लागत बढेपछि उत्पादन प्रभावित भएको उद्योगीको गुनासो छ । भन्सारका अधिकारीहरू भने कच्चा पदार्थका रूपमा भित्रिएका वस्तु अन्य प्रयोजनमा प्रयोग हुन सक्ने भएकाले त्यस्ता वस्तुमा भ्याट लिइएको बताउँछन् ।

भाग २८, २९ र ३८ मा आउने वस्तुलाई औषधिको कच्चा पदार्थ मानिएकाले अन्य भागअन्तर्गतका एचएस कोडमा भित्रिएका वस्तुमा कर छूटको व्यवस्था नभएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनी बताउँछन् ।

औषधि उद्योगले भित्र्याउने कच्चा पदार्थको अन्यत्र प्रयोगबारे सरकारी अधिकारीहरूको बुझाइ नै गलत भएको भनाइ उत्पादकको छ । औषधि उद्योगले ल्याउने यस्ता वस्तुको मूल्य नै सामान्य प्रयोजनका वस्तुभन्दा बढी हुने भएकाले अन्य प्रयोगमा जान नसक्ने दाबी उद्योगीको छ ।

औषधि अयातमा भन्सारले ४ प्रतिशत भन्सार महसुल लिन्छ । तर, कच्चा पदार्थको आयातमा १३ प्रतिशत भ्याट लिएपछि त्यसको सीधा प्रभाव औषधिको मूल्यमा पर्ने क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारी बताउँछन् । यसबाट सबै उत्पादनको मूल्यमा असर परेको उद्यमीले बताए ।

कच्चा पदार्थमा भ्याट लिँदा अधिकांश औषधिको लागत २० प्रतिशतसम्म बढ्न सक्ने उद्योगीले बताए । औषधिको कच्चा पदार्थमा १ प्रतिशत भन्सार महसुल भए पनि अन्य भागमा परेका वस्तु आयात गर्दा १० प्रतिशतम्म महसुल र भ्याट तिर्नुपरेको उद्योगीको भनाइ छ । भन्सार दरबन्दीका जुनसुकै शीर्षकमा परे पनि औषधि उद्योगले कच्चा पदार्थका रूपमा प्रयोग गर्ने सामानको आयातमा कर छूट हुनुपर्ने माग संघका कोषाध्यक्ष प्रभात रुंगटाको छ ।

गत आर्थिक वर्षमा पनि उद्योगीले यो समस्या सामना गरेका थिए । भन्सार विभागले केही वस्तुमा छूट दिएको थियो । तर, अहिले भन्सारले गतवर्ष भ्याट लिन छुटेको भन्दै उद्योगलाई त्यस्तो कर तिर्न पत्राचार गरेको उद्योगीहरूले बताए । उद्योगीले यसबारेमा पनि प्रधानमन्त्री कार्यालयसहित सरोकारका निकायको ध्यानाकर्षण गराइएको बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)