ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महासंघको चुनाव मङ्सिर दोस्रो साता

२०७७ असोज, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । कोरोना महामारीका कारण पटकपटक सरेको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मङ्सिरको दोस्रो साता हुने भएको छ । शुक्रवार बसेको महासंघ पदाधिकारी बैठकले मङ्सिर ११ र १२ मा महासंघको ५४औं साधारणसभा तथा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।

पदाधिकारी बैठकले पारित गरेको चुनावको मिति महासंघको कार्यसमिति बैठकमा अनुमोदनका लागि पेश गरिँदै छ । साधारणसभा र चुनावका विषयमा छलफल गर्न असोज दोस्रो साता महासंघको कार्यसमिति बैठक बस्दै छ । सो बैठकले चुनावको मितिलाई अनुमोदन गर्ने महासंघका एशोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकालले बताए ।

‘त्यसअघि नै साधारणसभाका लागि सरकारसँग अनुमति लिने काम अघि बढ्छ । साथै, चुनाव कुन मोडालिटीमा कसरी गर्ने भन्ने तय पनि कार्यसमिति बैठकले नै गर्नेछ,’ उनले भने, ‘असोजको ११÷१२ गते कार्यसमितिको बैठक बस्दै छ ।’

यसअघि चुनावको मितिलाई लिएर दुई पक्षमा विभाजित भएको महासंघ मङ्सिरमा निर्वाचन गर्न शुक्रवारको बैठकमा एकमत देखियो ।

शुक्रवारको पदाधिकारी बैठकले चुनावको मिति मात्र तय गरेकोमा कुन मोडालिटीमा चुनाव गर्ने भन्नेबारे कार्यसमितिले निर्णय गर्ने महासंघका जिल्लानगर उपाध्यक्ष किशोर प्रधानले बताए । ‘सर्व सहमतिमा मङ्सिर अन्तिम साता चुनाव गर्ने भन्ने निर्णय भएको छ । कार्यसमिति बैठकले कुन मोडालिटीमा चुनाव गर्ने निर्णय गर्छ, सोहीअनुसार चुनावको मोडालिटी निर्धारण हुन्छ,’ उनले भने ।

तर, महासंघको साधारणसभा जूमबाट गर्ने तथा चुनाव भने नेपाल सरकारले तयार पारेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै काठमाडाैंमै गर्ने सहमति भएको बताइएको छ । एशोशिएट, जिल्लानगर तथा वस्तुगत संघको निर्वाचन काठमाडाैंमै छुट्टाछुट्टै ठाउँमा गर्ने तयारी छ ।

यसअघि गत चैत २८ र २९ गते काठमाडौंमा गर्न तय गरिएको साधारणसभा तथा नयाँ नेतृत्व चयन कोरोना महामारीको बढ्दो जोखिमका कारण महासंघको कार्यसमितिले स्थगन गरेको थियो । त्यसयता पटकपटक मिति तय गरिए पनि बन्दाबन्दी र निषेधाज्ञाका कारण पनि हुनसकेन ।

निर्धारित समयमा चुनाव हुन नसक्दा महासंघभित्रै तत्काल चुनाव गर्ने वा केही समय पर्खने भन्ने बारेमा आन्तरिक विवाद बढेको थियो । महासंघका पदाधिकारीहरू कोरोना जोखिम मोलेर चुनाव गर्ने र नगर्ने दुई कित्तामा विभाजित हुँदा साउन २२ को कार्यसमिति बैठकले कोरोना जोखिमकै बेला चुनाव कसरी गर्न सकिन्छ भन्ने मोडालिटी बनाउन समिति गठन गरेको थियो ।

कार्यसमिति सदस्यहरू रञ्जित आचार्य, भरत आचार्य, सुनील गोपाल श्रेष्ठ, अरुण सुमार्गी, विनोद ढकाल र डीबी बस्नेतको नेतृत्वमा मोडालिटी बनाउन बनेको उक्त समितिले साउन अन्तिम साता महासंघ अध्यक्ष भवानी राणालाई मोडालिटीको प्रतिवेदन बुझाएपछि शुक्रवार राणाले चुनावको मिति तय गर्नेगरी पदाधिकारी बैठक डाकेकी थिइन् ।

समितिले कोरोनाको जोखिम कम भएपछि तीन तहकै चुनाव काठमाडौंमै गर्न सकिने, दूरी कायम गरेर वस्तुगत एवम् एशोसिएटको चुनाव काठमाडौंमा तथा जिल्लानगरको चुनाव जिल्लामै गर्न सकिने तथा विद्युतीय मतदान गरी तीनओटा मोडालिटी तयार पेश गरेको थियो ।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधानअनुसार स्वतः अध्यक्ष हुने भएपछि मुख्य प्रतिस्पर्धा तथा चासो वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्ष पदका लागि छ । वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय ढकाल र प्रधानले आआफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । ढकालको प्यानलबाट वस्तुगतको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्लानगरमा गुणनिधि तिवारी चुनावी मैदानमा उत्रिएका छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ सौरभ ज्योति र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ प्रतिस्पर्धा गर्दै छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)