ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा पर्यटकीय गतिविधि शुरू हुँदै

२०७७ असोज, ४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असोज ४, कास्की । पोखरामा लकडाउनको अन्त्यसँगै पर्यटकीय गतिविधि चलायमान गराउने अभियान शुरू भएको छ ।

सरकारले करिव ६ महीना लामो बन्दाबन्दीको अन्त्य गरेपछि लामो समयदेखि ठप्प भएका पर्यटकीय गतिविधिलाई चलायमान गराउन व्यवसायीले पर्यटकीय होटल रेष्टुराँ, डुंगा व्यवसाय, प्याराग्लाइडिङ र हवाई यातायात लगायत सेवा सुचारु गर्न लागेका हुन् । 

व्यवसायीले कोरोनाले विगत ६ महीनादेखि बन्द रहेको साहसिक खेलकुद प्याराग्लाइडिङ सोमवारदेखि शुरू गर्ने बताएका छन् । विभिन्न हवाई कम्पनीहरूले सोमवारदेखि व्यावसायिक हवाई उडान शुरू गरेपछि नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ । 

आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यावसायिक उडान शुरू गरिने हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । लामो लकडाउनसँगै बन्द भएका ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक रुपमा उडान शुरु गर्ने अध्यक्ष भण्डारीले बताए ।

‘लामो समयदेखि थला परेको व्यवसायलाई गति दिन कम्पनीहरू खोलेर उडानका लागि बुकिङ शुरु गर्न व्यवसायीलाई आग्रह गरेका छौं,’ उनले भने, ‘अहिले विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यावसायिक उडान शुरू गरेर पर्यटकीय गतिविधिलाई चलायमान गराउनेछौं ।’

कोरोनाको जोखिमसँगै पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनीहरुले यो ६ महिनामा ५० करोडको घाटा व्यहोर्नुपरेको नाका महासचिव बलराम आचार्यले बताए । उनले नेपाली प्याराग्लाइडिङकै इतिहासमा निकै अप्ठ्यारो समय व्यहोर्नुपरेको बताए । ‘कोरोना संक्रमण देखिएसंगै व्यवसाय बन्द भएपछि यसै व्यवसायमा आश्रित ३७० भन्दा बढी पाइलट र उनीहरूका परिवार समेत समस्या उत्पन्न भयो,’ उनले भने । 

प्याराग्लाइडिङका लागि यो सिजन निकै उपयुक्त भएकाले अब आन्तरिक पर्यटनलाई चलयमान गराउने गरी आकर्षक प्याकेज सहित उडानको तयारी थालेको उनले बताए । नेपालको पर्यटनको क्षेत्रमा प्याराग्लाइडिङको योगदान महत्वपूर्ण रहेको बताउँदै महासचिव आचार्यले २०७१÷०७२ मा उत्कृष्ट करदाताको रूपमा समेत सम्मानित भएको स्मरण गरे ।

त्यसैगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा महत्वपूर्ण मानिएको डुंगा व्यवसाय पनि सञ्चालनमा आएको छ । स्वास्थ्य सतर्कता अपनाएर पोखराको फेवातालमा शुक्रवारदेखि डुंगा सञ्चालनमा आएका हुन् ।

कोरोना संक्रमण नहोस् भन्ने उद्देश्यले सामान्य अवस्थामा यात्रु चड्ने संख्या भन्दा आधा घटाएर डुंगामा शयर गर्ने व्यवस्था पनि मिलाइको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले जानकारी दिए । 

यात्रुले प्रयोग गरेको लाइफ ज्याकेट पनि एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखेर अर्को दिन मात्र प्रयोगमा ल्याइने उनले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा मापदण्ड अपनाएर डुंगा संचालन गर्न अनुमति दिएको हो । डुंगा सञ्चालनमा अनुमति दिइए पनि फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिर दर्शन गर्न र घुम्न जान भने रोक लगाइएको छ । 

डुंगामा फेवाताल शयर गर्दा एकै परिवारका वा संगै आएका साथी हुनुपर्ने उल्लेख छ । फेवातालका ८ ओटा डुंगा घाटमा कुल ७ सय डुंगा रहेका छन् । फेवातालमा ६०० जनाले दैनिक डुंगा चलाएर जीवीकोपार्जन गर्दै आएका छन्।

काठमाण्डौं पोखरा हवाई सेवा शुरू हुँदै
कोरोनाका कारण चैत दोस्रो हप्ताबाट बन्द रहेको आन्तरिक हवाई सेवा सोमवारदेखि शुरू हुने भएको छ । लामो समयदेखि ठप्प रहेको आन्तरिक हवाई उडानको तयारी पूरा भएको हवाई सेवा कम्पनीहरूले बताएका छन् । पोखरा काठमाडौं पोखरा उडानका लागि बुद्ध एयर र यती एयरले टिकट बुकिङ खुलाएका छन् । 

सरकारले तयार पारेको सुरक्षा मापदण्डलाई अपनाएर आन्तरिक उडान शुरू गरिने नागरिक उड्डयन कार्यलय पोखरा प्रमुख भोलाप्रसाद गुरागाईंले बताए । बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले सोमवार बुद्ध एयरले बिहान साढे आठ बजे काठमाडौंबाट पोखराका लागि पहिलो उडान गर्ने बताए ।

बुद्ध एयरले पहिलो दिन २ ओटा उडान गर्नेछ । त्यसपछि यात्रुको चाप अनुसार उडान थप्दै जाने बरालले बताए । त्यस्तै यती एयरलाइन्सले यात्रुको बुकिङ उत्साहजनक भएको बताएको छ । यती एयरका पोखरा प्रमुख राम लामिछानेले यात्रीको चासो र बुकिङ उत्साहजनक भएको बताए ।

पोखरा - काठमाडौंको दुवैतर्फको हवाई सेवा शुरू हुने भए पनि पोखराबाट हवाई उडान हुने चारओटा गन्तव्यमा भने टुंगो लागेको छैन । पोखराबाट काठमाडौंपछि सबैभन्दा धेरै उडाउन हुने जोमसोम हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)