धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक प्रयोग गरेबापत सवारीसाधनबाट शुल्क असुल्दै आएको पाइएको छ । नगरपालिकाभित्र निर्माण गरिएका सडक उपभोगबापत नगरपालिकाले व्यावसायिक प्रयोजनका सवारीसाधनबाट शुल्क असुल्न थालेको हो ।
ढुंगा, गिट्टी तथा बालुवा उत्खननबापत छुट्टै रोयल्टी लिइरहेको नगरपालिका कार्यालयले मालवाहक सवारीसाधलने सडक प्रयोगबापत एक पटकमा १ सय रुपैयाँसम्म थप शुल्क लिने गरेको गुनासो स्थानीयले गर्न थालेका छन् । टोलटोलमा नगरपालिकाले व्यक्ति नै परिचालन गरेर शुल्क लिने गरेको स्थानीय व्यवसायीले गुनासो पोखेका छन् । नगरपालिकाले सडक शुल्क लिइरहेको विषयउपर अहिलेसम्म कहीँ कतैबाट सुनुवाइ नभएको निर्माण व्यवसायी प्रमानन्द भट्टले बताए । यस्तै कृषि सामग्री एक स्थानबाट अर्को स्थानसम्म पु¥याउँदा र फर्किंदा समेत सडक शुल्क लिने गरिएको गुनासो किसानहरूको छ । मालुवेला–गुलरिया–रैकवार विछुवा २२ दशमलव ९३१ किलोमिटर सडक निर्माण गर्दै आएका निर्माण व्यवसायी भट्टले ढुंगा, बालुवा र गिट्टीको रोयल्टी तिरिसक्दा पनि सडक प्रयोगबापत प्रतिट्र्याक्टर १ सयका दरले शुल्क तिर्नुपरेको बताए । ‘दिनमा जति पटक सडक प्रयोग गर्यो, त्यति पटक शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘हामी १६ करोड ३३ लाखमा करीब २३ किलोमिटर सडक कालोपत्र गर्दै छौं । तर नगरपालिकाले असुल्ने सडक शुल्क कारण निकै समस्या भएको छ ।’ यसविरुद्ध केही दिन काम नै बन्द गरेर बसे पनि सुनुवाइ नभएपछि शुक्रवारदेखि पुनः शुल्क तिरेरै भए पनि काम सुचारु गरिएको उ नले बताए । उक्त विषयमा प्रशासनलाई जानकारी गराउँदा निवेदन आए कारबाही गर्ने बताइएको उनको भनाइ छ । यस्तै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका केरा व्यवसायी हरेन्द्र बोहराले पनि आपूmहरूले उत्पादन गरेको केरा एक स्थानबाट अर्को स्थानसम्म पु¥याउँदा नगरपालिकाले सडक शुल्क लिने गरेको गुनासो गरे । आफैले उत्पादन गरेको वस्तु ढुवानी गर्दा समेत नगरपालिकाले शुल्क असल्नु उचित नभएको उनको भनाइ छ ।
कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले सडक प्रयोगबापत व्यावसायिक प्रयोजनका सबै सवारीसाधनबाट शुल्क लिने गरिएको स्वीकारे । उनले ८ घनमिटरभन्दा माथिको प्रतिट्रली ९०, ८ घनमिटरको ८०, प्रतिट्रक ७०, प्रतिट्र्याक्टर ६०, यात्रुवाहक बसबाट ४०, जीपबाट ३० र रोलरबाट १ सय रुपैयाँ लिने गरिएको जानकारी दिए । यस्तो शुल्क संकलनका लागि नगरपालिकाले निर्णय गरेरै १० लाख ५० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनको भनाइ छ ।