असोज ५, काठमाडौं । विदेशमा कार्यरत नेपालीहरुले अब पूर्ण रुपमा डिजिटल माध्यमबाट रेमिट्यान्स (विप्रेषण) पठाउन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले विदेशमा काम गर्ने नेपालीहरुले नेपालमा विप्रेषण (रेमिट्यान्स) मोबाईल तथा ईन्टरनेट बैंकिङ, ईलेक्ट्रोनिक कार्ड, डिजिटल वालेटजस्ता डिजिटल माध्यमबाट पठाउन सक्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमवार सूचना जारी गर्दै रेमिट्यान्समा पूर्ण डिजिटाईजेशनको व्यवस्था गरेको हो ।उक्त व्यवस्थाले विदेशबाट नेपालीहरुले पठाएको रेमिट्यान्स बैंक तथा रेमिट्यान्स कम्पनीमा गएरै लिनुपर्ने र विदेशबाट खातामा मात्रै पठाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।
उक्त सुविधा उपभोगका लागि विप्रेषण प्राप्त गर्ने नेपालीले नेपालका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुले प्रदान गर्ने वालेट, मोवाईल तथा ईन्टरनेट बैंकिङ जस्ता डिजिटल माध्यमको सुविधा प्रयोग गरेको हुनुपर्ने छ ।
यो सुविधाले तत्कालै विदेशबाट पठााएको रकम हातहातै पुग्ने र के कति प्राप्त भयो त्यो थाहा हुन्छ । यसअघिको व्यवस्थामा बैंक खाता नम्बर गल्ती हुने, रेमिट्यान्स झिक्दा नागरीकता जस्ता परिचयपत्र देखाउनु पर्ने जस्ता समस्या पनि अन्त्य भएको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।
विदेशबाट अरु समयमा भन्दा विशेष गरेर दशैं आसपास नेपालमा धेरै विप्रेषण भित्रिने भएकाले यसैलाई लक्षित गरेर विप्रेषणमा डिजिटल सुविधाको व्यवस्था गरेको उनको भनाइ छ ।
‘यो व्यवस्थाले विप्रेषण तत्कालै के कति आयो भनेर थाहा हुन्छ । घरमै बसेर आ–आफ्नै मोवाइल, कम्युटरजस्ता प्रविधिबाट जतिखेर भन्यो त्यतिखेर उताबाट पठाउन र पाउने भए र यता प्राप्त गर्न सजिलो भयो । तर यसका लागि सेवाग्राहिले अनिवार्य रुपमा डिजिटल सुविधा प्रयोग गर्नुपर्यो’, कार्यकारी निर्देशक मिश्रले अभियानसँग भने ।
उक्त व्यवस्थाले बैंक तथा वित्तीय संस्थाबाट सञ्चालित मोबाईल तथा ईन्टरनेट बैंकिङबाट विप्रेषण प्राप्त गर्न सकिन्छ । साथै, ई सेवा, आईएमई पे, फेन पे, खल्ती जस्ता सञ्चालनमा रहेका १४ ओटा भुक्तानी प्रदायक संस्थाहरको वालेटमार्फत पनि विप्रेषण सुविधा प्रयोग गर्न सकिने छ ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७ को साविकका व्यवस्था अतिरिक्त यस्तो कारोबार गर्ने संस्थाले ९ बुंदे शर्तसहित सम्झौता गरेपछि मात्र डिजिटल माध्यमबाट नेपाल रकम भित्र्याउन सक्ने छन् । उक्त शर्त अन्तर्गत नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालनमा रहेको डिजिटल पेमेन्ट उपकरण सञ्चालन गर्ने संस्थासंग आवद्ध हुनु पर्ने छ ।
साथै विदेशको कानूनअनुसार दर्ता भइ इच्छुक संस्थाहरुले त्यस देशको नियामक निकायबाट यस्तो रेमिट्यान्स कारोबार गर्न अनुमति लिनुपर्ने छ । साथै, यस्तो डिजिटल पेमेन्ट उपकरणबाट क्रस बोर्डर कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा सुरक्षा व्यवस्था अपनाउनु पर्ने छ ।
केन्द्रीय बैंकका अनुसार संस्थाहरुले सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानूनले व्यवस्था गरे अनुसारको समयावधिसम्म सुरक्षित राखने प्रतिवद्धता गर्नुपर्ने छ ।
यस्तै विदेशबाट विप्रेषकले डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफैं उपस्थित भइ भुक्तानी लिन नसक्ने अवस्थामा वालेटमा रहने तोकिएको सिमाभन्दा बढी भएमा संस्थाले प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनु पर्ने छ ।
यस्तो कारोबारमा सम्पत्ती शुद्धीकरण (एएमएल तथा सीएफटी) अपनाउनु पर्ने छ । कारोबार गर्दा विवरण गल्ति भइ कारोबार पूरा हुन नसके स्वचालित तवरले परिपूर्ती हुने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले शर्तमा उल्लेख गरेको छ ।