ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रानी–जमरा–कुलरिया सिँचाइ आयोजना निर्माणमा १३ अर्ब बढी खर्च

२०७७ असोज, ६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

कैलाली । राष्ट्रिय गौरवको आयोजनामा समावेश रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कुल अनुमानित लागत २७ अर्ब ७० करोडमध्ये अहिलेसम्म १३ अर्ब १३ करोड ५९ लाख रूपैयाँ खर्च भएको छ ।

रानी–जमरा–कुलरिया सिँचाइको गत आर्थिक वर्षसम्म भौतिक प्रगति ४८ तथा वित्तीय प्रगति ४७ प्रतिशत भएको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी प्रेम लासिवाले जानकारी दिए । आयोजनामा सिँचाइसँगै विद्युत् उत्पादन हुने भएपछि यहाँका किसान हर्षित छन् । सुरुमा सिँचाइ नहरबाट मात्र किसानको खेतखेतमा पानी पुर्‍याउने उद्देश्यका साथ निर्माण थालिएको आयोजनाले विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएपछि सिँचाइ र विद्युत् निर्माणको काम सँगै अघि बढाइएको हो ।

४ दशमलव ७१ मेगावाटको जलविद्युत् आयोजना चालू आवभित्रै सक्ने गरी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ । जलविद्युत् आयोजनाको पावर हाउसको राफ्ट फाउन्डेसन, बाइपास च्यानल तथा टेलरेस निर्माण सकिएको छ । आयोजनाका इन्जिनियर अरुणकुमार साह चालू आवभित्रै ४.७१ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने बताउँछन् । ‘तीन वर्षअघि निर्माण सुरु गरिएको जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने गरी काम भइरहेको छ,’ उनले भने, ‘बन्दाबन्दीमा पनि जलविद्युत् आयोजनाको काम अघि बढेको थियो ।’  

आयोजनाका अनुसार गत आवसम्म मूल नहरमा घेराबन्दी कार्य आधा सकिएको छ । नहर आसपास क्षेत्रमा पहुँचमार्ग निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । आयोजना प्रभावित क्षेत्रबाट २५ हेक्टर जग्गा प्राप्ति गरेको आयोजनाले जानकारी गराएको हो । रानी–जमरा–कुलरिया सिँचाइ १ सय २० वर्ष पुरानो आयोजना हो । अहिले पुरानो सिँचाइ आयोजनाको आधुनिकीकरण र विस्तार गर्ने काम भइरहेको छ । पुरानै सिँचाइ प्रणालीबाट हाल कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको गरी करिब ११ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।  

सरकारले आव ०६६/६७ मा आधुनिकीकरणको काम सुरु गरेको थियो । आयोजना निर्माण सम्पन्न भएपछि करिब १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।  त्यसैगरी, पूर्व–पश्चिम राजमार्गको समानान्तर पश्चिमतर्फ जाने लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदीसम्मको थप करिब ६ हजार हेक्टरमा गरी कुल २० हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)