ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धानबालीमा खैरो फड्के कीराको प्रकोप

२०७७ असोज, ६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरका चारओटा स्थानीय तहको धानबालीमा खैरो फड्के किराको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्र, कञ्चनपुरका अनुसार जिल्लाका भीमदत्त, वेदकोट, शुक्लाफाँटा र महाकाली नगरपालिकामा उक्त कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले स्थानीय किसानले लगाएको धानबालीमा खैरो फड्के कीराले क्षति पुर्‍याएको बताए । उनका अनुसार महाकाली, शुक्लाफाँटा र भीमदत्तमा यो कीराको प्रकोप देखिएको छ । ‘कीराले धानबालीमा क्षति पुर्‍याउन थालेपछि कृषि ज्ञान केन्द्रले स्थलगत भ्रमणमा जोड दिएको छ,’ केन्द्रका निमित्त प्रमुख भट्टले भने, ‘नियन्त्रणका लागि स्थानीय किसानलाई सचेत गराएका छौं ।’

केन्द्रले गरेको अनुगमनका क्रममा महाकालीमा एक दशमलव पाँच हेक्टर, वेदकोटमा आधा हेक्टर तथा भीमदत्त र शुक्लाफाँटामा दुई÷दुई हेक्टर क्षेत्रफलमा खैरो फड्के कीरा देखिएको हो ।

‘अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए । ‘भीमदत्त नगरपालिका–२, १७, १८ र १९ वडा, वेदकोटका केही वडासँगै पछिल्लो समयमा शुक्लाफाँटा नगरपालिकामा पनि यो समस्या देखिएको छ,’ उनले भने । ज्ञान केन्द्रले आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत एक लाख रुपैयाँ बराबरको विषादी खरीद गरी किसानलाई बाँडिसकेको छ । साथै थप विषादी कृषि विकास निर्देशनालय दिपायलबाट आएपछि प्रतिकिसान ५० एमएलका दरले वितरण गरिने केन्द्रले बताएको छ । इमिडाक्लोप्रिड नामक विषादी धानको फेदमा पर्ने गरी छर्किएमा फड्के कीरा मर्ने केन्द्रका निमित्त प्रमुख भट्टले बताए ।

धानबाली पसाउने समयमा फड्के कीरा देखिएपछि कञ्चनपुरका किसान चिन्तित बनेका छन् । जिल्लाको महाकाली नगरपालिका–१ का किसान विष्णुदत्त भट्टले ३ बिगाहामा लगाएको बालीमा यो कीरा देखिएको बताए । धान रोपेदेखि पटक–पटक विषादी छरे पनि कीराको प्रकोप नियन्त्रण नभएको उनको भनाइ छ ।

‘सिल्की र सर्जवान जातको धान राम्रो फल्छ भनेर पूरै खेतमा रोपेँ,’ भट्टले भने, ‘तर बाली भित्र्याउने बेला यस्तो समस्या आयो ।’ त्यस्तै महाकाली–१ का धनीदत्त भट्टको एक बिगाहा खेतमा लगाइएको धानबालीमा पनि फड्के कीराले क्षति पुर्‍याएको छ । वडा नम्बर ४ पिपल चौताराका रुद्रलाल सुनार पनि धानबाली फड्के कीराले सखाप पारेपछि आफ्ना परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । पहिले धानका पातहरू पहेँलो हुँदै गएको र बाला आए पनि फोस्रा भएको किसानले बताएका छन् । ज्ञान केन्द्रले खैरो फड्के कीराको प्रकोप नियन्त्रणका लागि विषादी खरीद गरी किसानलाई वितरण गर्न जिल्लास्थित पालिकालाई आग्रह छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)