ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महामारीका बीच ७ हजार नेपाली कामदार विदेशिए

२०७७ असोज, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीको श्रमस्वीकृति दिन खुला गरेसँगै नेपाली कामदारहरू वैदेशिक रोजगारमा जाने क्रम बढेको छ । नयाँ श्रमस्वीकृति तथा पुनः श्रमस्वीकृति लिएर नेपाली कामदारहरू रोजगारीका लागि श्रम गन्तव्य मुलुकमा जाने थालेका हुन् ।

सरकारले कोरोना संक्रमणलाई दृष्टिगत गर्दै गत फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन बन्द गरेको थियो । असार लागेयता सरकारले क्रमैसँग वैदेशिक रोजगारीलाई खोल्दै शुरूमा पुनः श्रमस्वीकृति खुला गर्‍यो । असार १४ गते पुनः श्रमस्वीकृति पुनः सुचारू गरेको सरकारले भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो । त्यसयता ७ हजारभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीका लागि श्रम गन्तव्यमा गइसकेको वैदेशिक रोजगार विभागले बताएको छ ।

विभागका अनुसार बन्दाबन्दी पछि गत शुक्रवारसम्म ७ हजार २९० नेपाली कामदार वैदेशिक रोजगारीका लागि उडिसकेका छन् । त्यसमध्ये ११७ जना नयाँ श्रमस्वीकृति लिएर जानेहरू भएको म्यानपावर व्यवसायीहरूले बताएका छन् ।

सरकारले श्रमस्वीकृति दिन स्थगन गरेपछि बिदामा आएका ३ लाख २८ हजारभन्दा बढी कामदार नेपालमै रोकिएका थिए । साथै, नयाँ भिषा आएर पनि श्रमस्वीकति नपाउँदा १ लाख १५ हजार कामदार वैदेशिक रोजगारमा जान पाएका थिएनन् । अहिले श्रमस्वीकृति दिन शुरू गरेपछि उनीहरू वैदेशिक रोजगारीमा जान लागेको व्यवसायीहरूको भनाइ छ ।

नयाँ श्रमस्वीकृति यूएई, जापान, रोमोनिया बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा काम गर्न लिइएको छ । त्यस्तै, पुनः श्रमस्वीकृति दुबई, मलेशिया कता, साउदी, जापानलगायत मुलुकका लागि लिइएको छ ।

विभागको तथ्यांकअनुसार यस अवधिमा यूएईमा सबैभन्दा बढी कामदार गएका छन् । यूएईमा ३ हजार ५२२ जना कामदार गएका छन् भने कतारमा १ हजार ३६६ जना कामदार गएका छन् । यसैगरी मलेशियामा ६४०, जापानमा ३८७, साउदीमा ३१७, कुवेतमा २१९, ओमनमा १३९ बहराइनमा १५४ जना नेपाली कामदार गएका छन् ।

विभागले नयाँ कामदारहरूलाई ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) लिएर श्रमस्वीकृति दिने गरेको छ । साथै, छुट्टीमा आएका कामदारलाई पनि एनओसी माग्ने गरिएको विभागका प्रवक्ता टीकामणि नेउपानेले बताए । ‘अहिले कोरोना भाइरसका कारण विदेशमा रहेका कामदारको रोजगारी नै संकटमा छ । त्यो अवस्थामा यताबाट जाने कामदारहरूले रोजगार पाउन नसक्नेलगायत समस्या भोग्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यसैले एनओसी ल्याउनेलाई मात्र श्रमस्वीकृति दिने गरेका छौं । यद्यपि, पुनः श्रमस्वीकृतिमा यो अनिवार्य गरिएको छैन ।’ बिदामा आएको ६ महीनाभन्दा बढी भएका कामदारले भने एनओसी ल्याउनुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले श्रमस्वीकृति खुला गरेपछि नयाँ भिषा आएका कामदारलाई विदेश पठाउन सहज भएको बताए । साथै, श्रम गन्तव्य मुलुकबाट कामदारको माग पनि आउन थालेको उनको भनाइ छ । ‘अहिले यूएईले ५० हजारभन्दा बढी नेपाली कामदारको इन्क्वारी गरिरहेको छ । यस्तै, कतारलगायतका मुलुकबाट पनि कामदारको माग आइरहेको छ,’ उनले बताए ।

कोरोना महामारी नियन्त्रण गर्न नेपालसहित विभिन्न मुलुकको लगाएको बन्दाबन्दीले वैदेशिक रोजगारी व्यवसाय नराम्ररी प्रभावित भएको थियो । श्रम गन्तव्यमा समेत केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउँदैै जाँदा वैदेशिक रोजगार व्यवसायले विस्तारै गति लिने विश्वास व्यवसायीहरूको छ ।

यद्यपि, कोरोनाकै कारण वैदेशिक रोजगार व्यवसाय प्रभावित भएकाले यसको पुनरुत्थानका लागि सरकारको सहयोग आवश्यक रहेको श्रेष्ठ बताउँछन् । अब म्यानपावर व्यवसायलाई पुनरुत्थान गर्न कम्पनीहरूको धरौटीमा रकम सामान्य अवस्था आउने बेलासम्मका लागि फिर्ता दिनुपर्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)