ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यती एयरले अन्तरराष्ट्रिय क्षेत्रीय उडानको अनुमति लिँदै

२०७७ असोज, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । यती एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रीय उडानका लागि मन्त्रालयसँग अनुमति मागेको छ । यती एयरले भारतीय बजारमा उडान भर्ने योजनासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालका अनुसार विसं २०५५ देखि यात्रुलाई सेवा दिंदै आएको यती एयरलाइन्ससँग हाल ७२ सिट क्षमताका ५ एटिआर, ३० सिट क्षमताका ५ जेटस्ट्रिम र भगिनी संस्था तारा एयरसँग ४ ओटा ट्वीनवटर विमान गरी १४ विमान सञ्चालनमा छन् ।

‘दुई दशक लामो आन्तरिक उडानपछि भारतका केही क्षेत्रीय बजारमा जान सक्ने गरी कम्पनीले अन्तरराष्ट्रिय अनुमतिका लागि मन्त्रालयमा अनुमति माग गरेको छ । अबको केही समयमै अनुमति लिएर अन्तर्राष्ट्रिय उडानमा आफ्नो उपस्थिति जनाउने योजना छ’, उनले भने ।

यती एयरले हाल पोखरा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरालगायतमा सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

यती एयरलाइन्सले नेपालगञ्ज र पोखरामा समेत स्थायी विमान राखी नियमित तथा चार्टर उडानमार्फत दुर्गम क्षेत्रको विकासमा योगदान दिँदै आएको सिईओ रिमालको दाबी छ ।

यसैबीच कम्पनीले आफ्नो २२ औं स्थापना दिवस अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न देशका विभिन्न भागका लागि प्याकेज घोषणा गरेको छ । पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ नारा अगाडि सारेको कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको सिईओ रिमालले जानकारी दिए ।

वार्षिकोत्सव अवसरमा ओयोजित पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को संक्रमणका कारण झन्डै ६ महिनादेखि बन्द रहेको यती एयरले सोमबारदेखि नै उडान सुरु गरेको बताए ।

‘यात्राका बेला यात्रुलाई सुरक्षित राख्न गर्नुपर्ने अतिरिक्त सुरक्षा उपायका लागि कर्मचारीलाई अभ्यस्त राख्न तालिम प्रदान गर्ने, आवश्यक उपकरण खरिद गर्ने तथा उडानसम्बन्धी पूर्वाभ्यास गरिसकेका छौं,’ उनले भने ।

प्याकेजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौं आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित होटल बसाइको व्यवस्था मिलाइएको  कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

कम्पनीले २२ औं स्थापना दिवस अवसर पारेर सोमबारदेखि ‘यती एयरलाइन्स मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ । वार्षिकोत्सव अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बोर्डले मुलुकका सम्भावित भ्रमण स्थलको खोजी गरिरहेको बताएका छन् ।

हरेक नेपालीलाई देश दर्शनको वातावरण निर्माण गर्न सके आन्तरिक पर्यटनले गति लिने उनको भनाइ छ । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटक गतिविधि अगाडि बढाउनुको विकल्प नरहेको दाबी गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)