ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चमेलिया जलविद्युत्को हालसम्मको आम्दानी ४ अर्ब ११ करोड

२०७७ असोज, ७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र सरकारी लगानीमा निर्माण सम्पन्न ३० मेगावाट विद्युत् उत्पादन क्षमताको चमेलिया जलविद्युत् आयोजनाले २०६४ सालदेखि चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ४ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ ।

०७४ माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको आयोजना दार्चुलाको शैल्यशिखर नगरपालिका–१ मा रहेको छ ।

आयोजनाको बाँधस्थल बैतडी–दार्चुला सडक खण्डमा पर्ने गोकुलेश्वरबाट करिब १८ किलोमिटर टाढा तत्कालीन शेरी–लटीनाथ गाविसको बिटुलेमा रहेको छ ।

महाकाली नदीको मुख्य सहायक चमेलिया नदीको पानीलाई उपयोगमा ल्याई निर्माण गरिएको उक्त विद्युत् केन्द्रको जडित क्षमता ३० मेगावाट र वार्षिक १ सय ८४ दशमलव दुई गिगावाट आवर छ ।  

सुरुको अनुमानभन्दा दोब्बर लगानीमा निर्माण सम्पन्न भएको चमेलियाले ०७४ माघ २८ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । ०७६ फागुन मसान्तसम्म मात्र ३१ करोड ८४ हजार युनिट विद्युत् उत्पादन भएको चमेलियाले जानकारी दिएको छ ।

चमेलियालाई लक्षित गरी नेपाल विद्युत् प्राधिकरणले बनाएको १ सय ३२ केभी बँलाच–अत्तरिया प्रसारण लाइन निजी जलविद्युत् आयोजनाले प्रयोग गरेबापतको रकम जोड्दा आम्दानी थप बढेको चमेलिया जलविद्युत् आयोजना प्रमुख पुरन सोवले अभियानलाई बताए ।

‘वार्षिक १८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि पानीको मात्रा कम हुँदा दुई वर्षमा ३२ करोड युनिट उत्पादन भएको छ,’ उनले भने, ‘वार्षिक डेढ अर्ब रुपैयाँ मूल्य बराबरको विद्युत् उत्पादन भइरहेको छ ।’

वार्षिक लक्ष्यको ६० प्रतिशत विद्युत् बर्खा र ४० प्रतिशत सुक्खायाममा उत्पादन गरिँदै आएको छ । चमेलियाको विद्युत् बुटवलसम्म पुगेको छ । कुनै समस्या नआए आयोजनाले ९ वर्षमा लगानी उठाउन सक्ने अनुमान गरिएको छ ।

यसलाई सुदूरपश्चिममा सरकारी लगानीमा निर्मित सबैभन्दा ठूलो र पहिलो जलविद्युत् आयोजना मानिएको छ ।

आयोजनाबाट आर्थिक वर्ष ०७५/७६ मा १ लाख ८४ हजार २ सय मेगावाट आवर उत्पादन लक्ष्य रहेकामा १ लाख ६१ हजार ३ सय ९५ दशमलव ५४ र आव ०७६÷७७ मा १ लाख ८१ हजार ४ सय ३७ दशमलव ६६ मेगावाट आवर उत्पादन लक्ष्य रहेकामा एक लाख ६० हजार ८ सय ११ दशमलव ६६ मेगावाट आवर मात्र उत्पादन भएको आयोजना प्रमुख सोवले बताए ।

चालू आर्थिक वर्ष ०७७/७८ का लागि १ लाख ६९ हजार ६ दशमलव ३ मेगावाट आवर उत्पादन लक्ष्य निर्धारण गरिएकामा साउनमा १९ हजार ३ सय ५ दशमलव ५१ तथा भदौमा १८ हजार ६६ दशमलव २५ मेगावाट आवर विद्युत् उत्पादन भएको छ ।

दार्चुलामा चमेलियाबाहेक निजी क्षेत्रबाट थप २ आयोजनाले पनि बिजुली उत्पादन गर्दै आएका छन् । अपी हाइड्रोपावर कम्पनीको नौगाड पहिलोले साढे ८ मेगावाट र अपर नौगाडबाट ८ मेगाावाट उत्पादन भइरहेको छ । माथिल्लो चमेलिया ४० मेगावाट र मकरिगाड १० मेगावाट निर्माणको तयारीमा छन् ।

बझाङमा पनि विभिन्न आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणले दार्चुलादेखि अत्तरियासम्म १३२ केभी प्रसारण लाइन निर्माण गरेपछि लगानीकर्तालाई झनै सहज भएको हो ।

यो प्रसारण लाइन २ सय मेगावाट विद्युत् प्रसारण क्षमताको छ । हाल दार्चुलाले ४६ दशमलव ५ मेगावाट विद्युत् बाहिर पठाइरहेको छ ।

अहिले यस क्षेत्रमा केही जलविद्युत् आयोजना निर्माणाधीन र केही निर्माणको तयारीमा जुटेको चमेलियाका प्रमुख पुरन सोवले बताए । ‘चमेलिया सुदूरपश्चिम प्रदेशमा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो,’ उनले भने, ‘१ सय ३१ किमि प्रसारण लाइन निर्माण र आयोजना स्थलको सबस्टेसनबाट यस क्षेत्रमा उत्पादित सबै विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न मिल्छ ।’

प्रसारण लाइनले दार्चुला, बझाङ र बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् निर्माणमा तीव्रता आएको छ । अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि निर्माणाधीन छ । मकरिगाड हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको उक्त आयोजना डेढ वर्षभित्र सक्ने लक्ष्य छ । आयोजनाको लागत दुई अर्ब ५ करोड रहेको कम्पनीका इन्जिनियर उपेन्द्रबहादुर चन्दले बताए ।

यस्तै, अपि पावर कम्पनीको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन छ । यस आयोजनाले  प्राधिकरणसित विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)