ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खर्च बढ्ने भएपछि तत्काल रेल्वे कर्मचारी नियुक्ति नगरिने

२०७७ असोज, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटरमा चल्ने रेलका लागि आवश्यक कर्मचारीको नियुक्ति तत्कालका लागि नहुने देखिएको छ । कोरोना महामारीका कारण रेल सञ्चालन अनिश्चित भएको र कर्मचारी नियुक्ति गर्दा खर्च बढ्ने तर रेल नचल्ने भएकाले नेपाल रेलवे कम्पनी लिमिटेडले तत्काल कर्मचारी नियुक्ति नगर्ने भएको हो ।

तर, कम्पनीले रेल सञ्चालनका लागि आवश्यक प्राविधिक र प्रशासनिक कर्मचारी भर्नाको प्रक्रिया भने जारी राख्ने भएको छ । कोरोनाको कारण रेल कहिलेदेखि चलाउने भन्ने यकिन नभएपछि मासिक पारिश्रमिकमा मात्रै रकम खर्च हुने देखिएकाले कर्मचारी नियुक्त गर्ने तयारी नगरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

‘कर्मचारी नियुक्तिको प्रक्रिया शुरू गरिएको छ, १२९ जना कर्मचारी करारमा नियुक्ति गर्न सूचना जारी गरिएको छ भने भारतबाट पनि रेल चालक र कन्ट्रोलरलगायत कर्मचारी ल्याउने प्रक्रिया शुरू गरिएको छ,’ भट्टराईले भने, ‘रेल चल्ने निश्चित हुनासाथ कर्मचारी नियुक्त गछौंं, तत्कालका लागि भने नियुक्ति गर्न लागिएको छैन ।’

कोरोना संक्रमण कम भएको संकेत मिल्नासाथ कर्मचारी नियुक्ति शुरू गरिने र तालीम दिने काम अघि बढाउने उनको भनाइ छ । जनकपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल रेलवे कम्पनीमा २ महीनाअघि मात्रै महाप्रबन्धका रूपमा भट्टराईलाई सरकारले नियुक्ति गरेको थियो । तर, कर्मचारीलगायत नियुक्तिका प्रक्रिया कम्पनीले १ हप्ताअघि मात्रै शुरू गरेको छ । अहिले भट्टराईसहित १३ जना कर्मचारी कम्पनीमा कार्यरत छन् ।

रेल ल्याइसके पनि कोरोनाका कारण सञ्चालनमा अप्ठ्यारो हुँदा ती रेल नेपालको धनुषाको इनरुवामा पार्किङ गरी राखिएको छ । ती रेल अहिले नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)ले सुरक्षा दिइरहेको भट्टराईले बताए । रू. ८६ करोड लगानीका ती रेल सञ्चालन नभए पनि रेल निर्माता कम्पनीले बीचबीचमा भने जाँच गर्नेछ ।

१ वर्षसम्म मर्मतसम्भार गर्ने र प्राविधिक समस्या समाधान गर्ने ग्यारेन्टी दिएको हुँदा सोही कम्पनीले नै रेलको प्राविधिक पक्ष जाँच गर्नेछ । शुक्रवार परीक्षण सञ्चालन गरिएको रेल पुनः भारतको जयनगरतर्फ लगिएको भए पनि अहिले रेल नेपाली भूमिमा राखिएको छ ।

भारतीय कर्मचारी ल्याउने, उक्त ट्र्याक बेड नेपाललाई हस्तान्तरण गर्ने, रेल सञ्चालनको मोडालिटी तय गर्ने जस्ता विषयमा १ हप्ताभित्र नेपाली र भारतीय रेल अधिकारीहरूसँग छलफल गरिँदै छ । भारत सरकारले नेपालसँग क्रशबोर्डर रेल सञ्जाल विस्तारका लागि पूर्वदेखि पश्चिमका विभिन्न पाँचओटा रेल लिंक अनुदानमा बनाइदिने घोषणा गरेको थियो । तीमध्ये जनकपुर–जयनगर रेल लिंक पहिला निर्माण भई सञ्चालनमा आउने भइसकेको छ ।

कम्पनीको नाममा रहेका जग्गा खोजी गरिने
काठमाडौं (अस) । नेपाल रेल्वे कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा विभिन्न स्थानमा रहेका जग्गाहरूको खोजी गर्ने भएको छ । विभिन्न मन्त्रालय तथा अन्य सार्वजनिक निकायले फरक प्रयोजनका लागि प्रयोगमा ल्याएका जग्गाहरूलाई कम्पनीको नाममा ल्याउने तयारी गरिएको हो ।

विगत ६ वर्षदेखि बन्द रहेको कम्पनीका नाममा अर्बाैंको सम्पत्ति रहेको भए पनि त्यसबाट पर्याप्त लाभ लिन नसकेकाले अहिले कम्पनीले ती सबै सम्पत्ति एकीकृत गरी कम्पनीको नाममा ल्याउन लागेको हो । कुनकुन निकायले के र कस्ता कामका लागि कम्पनीको सम्पत्ति प्रयोगमा ल्याएका छन्, हस्तान्तरण कसरी हुुन्छ भन्ने अध्ययन करिब २ महीनापछि गरिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

‘कम्पनीको नाममा अर्बाैंको सम्पत्ति रहेकाले त्यसको उपयोग, संरक्षण गरी आम्दानी गर्दै यात्रुलाई सस्तो दरमा रेल चढ्न सक्ने अवस्था ल्याउने र कम्पनीको सञ्चालन खर्च पनि त्यसबाट पूर्ति हुने अवस्था सिर्जना गरिनेछ,’ भट्टराईले भने । रक्सौल–अम्लेखगञ्जमा १९ बिघा जग्गा रहेको र कतिपय स्थानमा भारतीय सुकुम्बासीहरूको बस्ती पनि बसिसकेको उनको भनाइ छ । यसका साथै, कम्पनीको जग्गा वीरगञ्ज, जनकपुर, सिमरा, जितपुर र भारतको रेल स्टेशन जयनगरमा समेत रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)