ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७० प्रतिशतले घट्यो औषधिको उत्पादन

समग्र औषधिको माग घटेकोमा मनोरोगसम्बन्धी औषधिको माग भने बढेको छ ।

२०७७ असोज, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले उत्पादनमा व्यापक कटौती गरेका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दीयता दीर्घरोग र प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनबाहेक अन्य औषधिको माग शून्य भएपछि उत्पादन कटौती गर्नु परेको व्यवसायीहरू बताउँछन् ।

औषधिको मागमा कमी आएपछि अहिले उद्योगीहरूले ७० प्रतिशतसम्म उत्पादन घटाएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

‘बजारमा औषधिको माग नै नभएपछि उद्योगीहरूले लक्ष्यभन्दा एकदमै कम उत्पादन गरिरहेका छन्,’ उनले भने ।

कोरोना महामारी शुरू हुँदा भारत र चीनले कच्चा पदार्थको निर्यातमा कडाइ गर्नु र औषधिजन्य कच्चा पदार्थको मूल्य पनि बढाएका कारण नेपालका उद्योगहरूले उत्पादनमा केही कमी ल्याएको उनले बताए ।

चैतयता आपूर्ति शृंखला राम्रो भए पनि बजारमा औषधिको माग नै नहुँदा व्यवसायीहरू पुरानो लयमा फर्किन सकेका छैनन् ।

अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएकाले नागरिकमा मनोवैज्ञानिक त्रास फैलिएको क्षत्रीको बुझाइ छ । ‘कोरोनाको जोखिमका कारण अत्यावश्यक अवस्थामा मात्र बिरामीहरू अस्पताल पुग्ने गरेका छन् जसले गर्दा मागमा कमी आएको हो,’ उनले भने ।

बजारमा माग नै नभएपछि देशकै सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले करीब १ महीना औषधि उत्पादन नै बन्द ग¥यो । बजारमा माग नभएकाले केही समय उत्पादन बन्द गरी पुनः सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए । ‘सप्लाइलगायत सबै काम भइरहेका छन् । उत्पादन बजार मागअनुसार गरिरहेका छौं,’ उनले भने ।

नेपाल मेडिकल संघका अध्यक्ष सीताराम घिमिरे पछिल्लो समय अस्पताल पुग्नेहरूको चाप नै न्यून भएको बताउँछन् । उनका अनुसार ट्रमा, छाला, दुखाइलगायत छोटो समयमा देखिने रोगका औषधिको माग बजारमा एकदमै न्यून छ । क्यान्सर, क्षयरोग, मधुमेहजस्ता दीर्घरोगको माग सामान्य रहेकामा पछिल्लो समय मनोरोगसम्बन्धी औषधिको माग भने ह्वात्तै बढेको उनी सुनाउँछन् ।

‘धेरैले रोजगारी गुमाएका छन्, महामारीको त्रास छ, त्यसैले पनि मान्छेहरू तनावमा गएका छन्,’ उनले भने, ‘जसले गर्दा औषधिको मागको आँकडामा डिप्रेसनका रोगी बढेको देखिन्छ ।’ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष एवं एशियन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक शंकर घिमिरे पनि समग्र औषधिको माग घटेकोमा मनोरोगसम्बन्धी औषधिको माग भने बढेको बताउँछन् ।

महामारीपछिको बन्दाबन्दीका कारण सर्वसाधारणमा आर्थिक र मनोवैज्ञानिक समस्या थपिएको विश्लेषण उनको छ । अन्य औषधिको माग बजारमा न्यून भएकाले तत्कालका लागि उत्पादनमा कटौती गरिएको उनले जानकारी दिए ।

‘कच्चा पदार्थ र मौज्दात पनि पर्याप्त भएकाले तत्काल मागअनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)