ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुधवारबाट रसुवागढी नाका सञ्चालनमा

आजबाट दैनिक पाँचओटा कन्टेनर आउने

२०७७ असोज, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । तीन सातादेखि बन्द रहेको रसुवागढी नाका बुधवारबाट सुचारु भएको छ । चिनियाँ पक्षले बिहीवारदेखि नियमित सामान पठाउन थालेपछि नाका सञ्चालनमा आएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जिल्ला प्रशासन कार्यालय रसुवालाई चिनियाँ पक्षले बिहीवारदेखि दैनिक पाँचओटा कन्टेनरमा सामान पठाउने जानकारी दिएको बताए । उनका अनुसार बुधवार मात्र एउटा कन्टेनरमा स्वास्थ्य सामग्री आएको थियो ।

कोरोना महामारीका कारण माघ १५ गतेदेखि ठप्प रहेको नाका जेठ महीनाबाट सञ्चालनमा आएको थियो । तर, श्रमिकमा कोरोना संक्रमण देखिएपछि भदौको दोस्रो हप्ता यो नाका पुनः बन्द भएको थियो ।

जेठयता चीनबाट दैनिक चार कन्टेनर सामान आउने गरेको थियो । सामान आयातमा वृद्धि गर्न नेपाली पक्षले चिनियाँ पक्षलाई पटकपटक अनुरोध गर्दै आएको छ ।

भन्सार कार्यालयका अधिकारीहरूका अनुसार धेरै कन्टेनर भित्र्याउन भन्सार कार्यालयबाट पहल गरेपछि चिनियाँ पक्षले बढाउने आश्वासन दिएको छ । अहिले नाकालाई निर्बाध सञ्चालनमा ल्याउन बाटोमा पहिरो हटाउन विभिन्न ठाउँमा आठओटा डोजर राखिएको छ ।

चिनियाँ प्रतिनिधिले बुधवार रसुवागढी नाकाको अवलोकनसमेत गरेका छन् । ल्हासाबाट आएका उनीहरूले नेपालतर्फ सामान झर्ने ठाउँको अवलोकनले गरेर फर्केको भन्सार कार्यालय प्रमुख खड्काले बताए । उनका अनुसार चिनियाँ पक्षले दुई सिफ्ट गरेर कन्टेनर पास गर्ने काम अघि बढाउने बताएको छ । ‘मितेरी पुलवारि समान झार्नका लागि स्थानको अवलोकन गर्न चिनियाँ अधिकारीहरू आएका थिए, हेरेर गएका छन्, आशा छ, उनीहरूले समान धेरै पठाउनेछन्,’ उनले भने ।

गतवर्ष सोही नाका हुँदै २७ अर्ब रुपैयाँभन्दा बढीको समान नेपाल भित्रँदा करीब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष नाकामा बारम्बार अवरोध आउँदा १ अर्ब रुपैयाँको मात्रै समान नेपाल भित्रिएको छ भने त्यसबाट ४० करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार कार्यालय रसुवाले बताएको छ ।

नेपालले सो नाका हुँदै विभिन्न इलेक्ट्रोनिक समान, लत्ताकपडा, स्याउ, लसुन, प्याज, कस्मेटिक समान, खेलौनाहरू आयात गर्दै आएको छ ।

नाका बारम्बार अवरोध हुँदा २० अर्ब बराबरको समान व्यापारीहरूले ल्याउन सकेका छैनन् । नेपाल हिमालय सीमापार व्यापार संघका अनुसार केरुङ र खासामा गरी नेपाली व्यापारीका सामान बोकेका हजारभन्दा बढी कन्टेनर अड्किएका छन् । नाकामा रोकिएका सामानमध्ये ५० प्रतिशत लत्ताकपडा र जुत्ताचप्पल रहेका छन् ।

नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल रसुवागढी तथा तातोपानी दुवै नाका नियमित सञ्चालनमा ल्याउन राज्यले गम्भीर पहल गर्नुपर्ने बताउँछन् । दुवै नाका निर्बाध रूपमा सञ्चालनमा नआए चाडबाड नजिकिएका बेला बजारमा समानको अभाव हुने उनको भनाइ छ ।

भन्सार विभागका अनुसार तातोपानी नाका सञ्चालनका लागि पहल भइरहे पनि कहिलेदेखि नियमित हुन्छ भन्नेमा विभाग नै अलमलमा छ । भन्सार विभागका निर्देशक शिशिर घिमिरेले नाका सञ्चालनमा ल्याउन सडक मर्मतको काम भइरहेकाले काम पूरा भएपछि सञ्चालनमा आउने बताए ।

तर, कहिलेसम्म काम सकिन्छ, त्यसको अनुमान भने गर्न नसकिने उनको भनाइ छ ।  सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरोध हुँदा असारदेखि नै उक्त नाका सञ्चालनमा आउन सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)