ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकाता बन्दरगाहमा नेपाली कार्गोलाई ईडीआई प्रणाली अनिवार्य

२०७७ असोज, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गोमा भारतको कोलकाता बन्दरगाह भन्सारले इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई प्रणाली अनिवार्य गरेको छ । कोलकाता बन्दरगाह हुँदै कस्टम ट्रान्जिट डिक्लियरेशन (सीटीडी) अन्तर्गत नेपाल आउने कार्गोमा यो प्रणाली लागू गरिएको हो ।

कोलकाता बन्दरगाहमार्फत हुने तेस्रो मुलुकसँगको व्यापारलाई कागजी प्रक्रिया मुक्त बनाउन गत शुक्रवारदेखि ईडीआई अनिवार्य गरिएको हो । १ वर्षअघि नै लागू गरिएको यो प्रणाली यसअघि अनिवार्य थिएन ।

भारतीय भन्सारमा हुने सीटीडी प्रक्रियालाई छरितो बनाउन अनलाइनमा आधारित प्रणाली लागू भएको बन्दरगाहका अधिकारीले बताएका छन् । भारतीय सीमाशुल्क प्रधान आयुक्तको कार्यालयले यो बन्दरगाह हुँदै भारतका लागि आउने कार्गोमा यसअघि नै यो प्रणाली अनिवार्य गरिसकेको छ ।

यो प्रणालीमार्फत कार्गोको सीटीडीका लागि आयातकर्ताले अनलाइनबाटै कागजात पेश गर्ने व्यवस्था मिलाइएको छ । यसबाट कोलकाता बन्दरगाहमार्फत हुने नेपालको कार्गो आवागमन छरितो हुने अपेक्षा गरिएको छ ।

आयातकर्ताले आफ्ना प्रतिनिधिमार्फत सामानको बिल,प्याकिङ लिस्ट, उत्पत्तिको प्रमाणपत्र,प्रतीतपत्र, कोलकातास्थित महावाणिज्य दूतावासले दिने प्रमाणपत्रलगायत कागजात बन्दरगाह भन्सारमा पेश गर्दै आएका छन् । यो अनलाइन प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि अब बन्दरगाह भन्सारमा यी काजगपत्र पुर्‍याउनुपर्ने बाध्यता हट्ने कस्टम हाउस एजेन्ट अमृतभक्त श्रेष्ठले बताए ।

‘एजेन्टले आआफ्नो कार्यालयबाटै कागजात अपलोड गर्न मिल्ने गरी यो प्रणाली ल्याइएको छ । अहिले कार्यान्वयनमा केही असजिलो भए पनि अभ्यासमा गइसकेपछि यसले कार्गो ह्यन्डेलिङलाई सहज बनाउने अपेक्षा गरिएको छ,’ श्रेष्ठले आर्थिक अभियानलाई बताए ।

भन्सारले ईडीआई अनिवार्य गरेपछि प्रक्रिया पूरा गर्न बढी समय लागेको आयातकर्ताका प्रतिनिधि कमल मन्त्रीले बताए । ‘१ दिनमा हुने कामका लागि ३ दिनसम्म लाग्यो । यसका कारण बन्दरगाहमा १ हजार कन्टेनर थुप्रिएका छन् । यसबाट आयातकर्तालाई डिटेन्सनको भार थपिन्छ,’ उनले भने । अहिले चाडपर्वलक्षित मालसामानको कार्गोको चाप बढेको आयातकर्ताले बताए ।

यही बेला अनलाइन प्रणाली लागू गरिए पनि भन्सारका कर्मचारी प्रविधि सञ्चालनमा दक्ष नभएकाले ढिलाइ भइरहेको एजेन्टको गुनासो छ ।

ईडीआईमा गल्ती सच्याउने, रूट परिवर्तनलगायत विकल्प नभएकाले समस्या हुने श्रेष्ठले बताए । प्रणालीको उद्देश्य राम्रो भए पनि सुधार आवश्यक भएको उनको भनाइ छ । ईडीआई प्रणालीलाई प्रभावकारी र छरितो बनाउन बन्दरगाह भन्सार, प्रशासनलगायत सरोकारका भारतीय पक्षसित समन्वय भइरहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए । यो प्रणाली पूर्ण कार्यान्वयनको शुरुआती चरणमै भएकाले केही समस्या देखिए पनि चाँडै समाधान हुने दाबी महावाणिज्यदूत पौडेलको छ ।

नेपाली कार्गोमा समय र डिटेन्सनको भार नलाग्ने गरी कार्यान्वयनको व्यवस्था मिलाइने पनि पौडेलले बताए । ‘यो प्रणालीलाई परिमार्जन र परिष्कृत बनाएर सहजीकरण गर्न पहल भइरहेको छ । एजेन्टहरूले आफ्नै कार्यालयबाट प्रक्रिया पूरा गर्न सक्ने भएकाले यो समुद्रपार व्यापार छरितो बनाउने महत्त्वपूर्ण पूर्वाधार हो,’ उनले आर्थिक अभियानसँग भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)