ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक निर्माणमा लापरबाही : शैलुङ र युनाइटेडलाई कालोसूचीमा राख्ने चेतावनी

२०७७ असोज, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडाैं । सडक विस्तार तथा निर्माणमा चरम लापरबाही गर्ने दुई ठूला निर्माण व्यवसायी कम्पनीहरूलाई सरकारले कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

काठमाडाैं उपत्यकामा सडक विस्तारको ठेक्का पाएका युनाइटेड बिल्डर्स एन्ड इन्जिनीयर्स प्रालि तथा दिवा/शैलुङ जेभीलाई सम्झौताबमोजिम समयमै काम सम्पन्न नगरेको भन्दै ७
दिनभित्र कालोसूचीमा किन राख्नु नपर्ने स्पष्टीकरण पेश गर्न भनिएको छ ।

काठमाडाैं उपत्यका सडक विस्तार आयोजनाले बुधवार सार्वजनिक सूचना जारी गर्दै यी दुई  कम्पनीले सम्झैता अनुसार काम नगरेको, कोरोना भाइरसको कारण देखाई थप
मागिएको समयभित्र समते कार्य  सम्पन्न गर्नेतर्फ कुनै ठोस चासो नदेखाएको भन्दै कारबाही अघि बढाएको हो । आयोजनाले स्पष्टीकरण उचित नलागे ठेक्का तोडी कालोसूचीमा राखिनेसम्मको कारबाही अघि बढाउने बताएको छ ।

चाबहिल–जोरपाटी–साँखुको ३ दशमलव ६ किलोमीटर (किमी) सडक विस्तार गर्न युनाइटेड बिल्डर्स एन्ड इन्जिनीयर्स २०७१/७२ मा ठेक्का पाएको थियो । सो सडक विस्तारको काम सक्ने म्याद २०७६ चैतसम्म थियो । त्यसपछि कम्पनीलाई ६ महीनाको म्याद थप्दासमेत काम सम्पन्न हुने अवस्था नदेखेपछि कारबाहीको प्रक्रिया अघि बढाएको आयोजना प्रमुख गुरु अधिकारीले बताए । ‘चाबहिल–साँखु बागमती चोकसम्मको सडकमा एक लेयर कालोपत्र भएको छ,’ उनले भने ‘७५ प्रतिशत जति काम भएको र बाँकी रहेको काम सम्पन्न गर्न १ हप्ताजति लाग्छ ।’

त्यस्तै ३ दशमलव २ किमीको ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक विस्तार गर्न २०७२÷७३ ठेक्का पाएको दिवा÷शैलुङ जेभीलाई पनि स्पष्टीकरण सोधिएको छ । यो ठेक्काको म्याद भने २०७६ असारसम्म रहेको थियो । यद्यपि ६ महीना म्याद थप्दा पुससम्ममा उक्त कम्पनीले सडक बनाइसक्नुपर्छ । उक्त सडकमध्ये जम्मा ३०० मीटरमात्रै सडक बनेको भन्दै अधिकारीले सबै काम सम्पन्न गर्न २ महीनाभन्दा बढी लाग्ने बताए ।

दुवै सडक निर्माण गर्ने कम्पनीलाई १ हप्ताभित्र काम सम्पन्न गर्ने आधारसहितको स्पष्टीकरण दिन सूचना उपलब्ध गराएको भन्दै अधिकारीले स्पष्टीकरण उचित लागेमा काम अघि बढाउन मौका दिने जानकारी दिए ।

सडक डिभिजन कार्यालय हेटौंडाले करीब २ दर्जन निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ठेक्का सम्झौता गरेका यी निर्माण व्यवसायीहरूले सम्झौता म्याद समाप्त भएको लामो अवधिसम्म पटकपटक ताकेता गर्दा पनि सम्झौताबमोजिम काम सम्पन्न नगरेको भन्दै कार्यालयले ठेक्का तोडेको हो । यसका साथै कार्यालयले यी कम्पनीको बैंक जमानतसमेत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

जमानत जफतसमेत भएका र कालोसूचीमा राख्ने निर्णय भएका कम्पनीमा मकवानपुरका ६ ओटा निर्माण कम्पनी जीपीबी कन्स्ट्रक्शन, शर्मिला निर्माण सेवा, हेटौंडा कन्स्ट्रक्शन, बी ब्रदर्श निर्माण सेवा, विनायक कन्स्ट्रक्शन र दामुचन्द्रमाला कन्स्ट्रक्शन रहेका छन् । कार्यालयले पर्साका ६ ओटा निर्माण कम्पनी आशिया, अभय, शिव निर्माण सेवा, सौरभ, सरस्वती निर्माण सेवासँग ठेक्का तोडेको छ । बाराका नन्दनी कन्स्ट्रक्शन, जनजागृति, विशाल कन्स्ट्रक्शनसँग पनि ठेक्का तोडेको छ । काठमाडौंको नवयुग निर्माण सेवा र रौतहटको सरस्वती कन्स्ट्रक्शनसँग पनि कार्यालयले ठेक्का तोडेको छ ।

डिभिजन प्रमुख सुमन योगेशले सम्पर्कमा नआएका व्यवसायीहरूको ठेक्का तोडिएको जानकारी दिए । २०६५÷६६ मा ठेक्का लगाएका सडकहरू निर्माण नगर्ने कम्पनीहरूलाई कारबाही गरिएको र अब अध्ययन गरी कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ)लाई सिफारिश गरिने बताए । यसैगरी उनले ३५ ओटासम्म निर्माण कम्पनीसँग पनि ठेक्का तोड्ने तयारी गरिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)