ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिबीमाको व्यवसाय साढे १७ प्रतिशतले बढ्यो

२०७७ असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक वर्ष कृषि (बाली तथा पशुपक्षी) बीमाको व्यवसाय १७ दशमलव ६१ प्रतिशतले बढेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरूले कृषिबीमाबाट १ अर्ब १८ करोड रुँपैयाँको बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो आवको तुलनामा १७ करोड ६९ लाख रुपैयाँले बढी हो । आव २०७५/७६ मा आवमा कृषिबीमामार्फत १ अर्ब रुपैयाँ हाराहारीमा बीमाशुल्क संकलन भएको थियो ।

आव २०७६/७७ मा संकलन भएको कुल बीमाशुल्कमध्ये ८८ करोड ६२ लाख रुपैयाँ सरकारबाट अनुदानबापत प्राप्त भएको छ । कृषिबीमामा सरकारले ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

बीमा समितिको तथ्यांकअनुसार पछिल्लो समय कृषिबीमाको व्यवसाय बढ्दै गएको देखिन्छ । आव २०७०/७१ देखि कृषिबीमाको व्यावसायिक थालनी गरिएको थियो । शुरूको वर्ष अर्थात् आव २०७०/७१ मा कृषिबीमामार्फत २ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएकोमा अहिले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन हुन थालेको छ ।

त्यस्तै, कम्पनीहरूका अनुसार अहिले कुल बीमा व्यवसायमा कृषि बीमाको अंश करीब १० प्रतिशत पुगेको छ । समितिले सबै जिल्लामा कृषिबीमाको सेवा पुर्‍याउने गरी कम्पनीहरूलाई जिल्ला विभाजन गरी अनिवार्य कार्यक्षेत्र तोकेको छ । साथै, स्थानीय तहसँग सहकार्य गरेर बीमासम्बन्धी अन्तरक्रिया पनि गर्दै आएको छ । समितिका यी यस्ता प्रयासले कृषिबीमाको व्यवसाय बढ्दै गएको समितिले बताएको छ । यसैगरी कृषिबीमासम्बन्धी नयाँ प्रडक्टहरू ल्याइएकाले पनि व्यवसाय बढेको समितिको भनाइ छ । यद्यपि, गत आवमा कोरोना महामारीका कारण कृषिबीमा व्यवसाय पनि प्रभावित भएको कम्पनीहरू बताउँछन् । कोरोनाका कारण गत आवमा समग्र बीमा व्यवसाय प्रभावित हुँदा कृषिबीमामा असर पर्नु स्वाभाविक नै रहेको युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

‘कोरोनाको महामारी नभएको भए गत आवमा कृषिबीमाको व्यवसाय अझ बढी हुने थियो । तर, त्यो हुन सकेन,’ उनले भने, ‘यद्यपि, गत आवमा कृषिबीमामार्फत भएको व्यवसाय सन्तोषजनक नै छ ।’

आउने दिनमा कृषिबीमालाई व्यापक रूपमा अगाडि बढाउनुपर्ने भनाइ भट्टराईको छ । ‘कृषि बीमाको व्यवसाय बढ्दै गएको छ । तर, अझै फुल फेजमा जान सकेको छैन,’ उनले भने, ‘अब यसलाई व्यापक रूपमा विस्तार गर्न कम्पनीहरू नै अग्रसर हुनुपर्छ ।’

अहिले बीमा कम्पनीहरूले स्थानीय स्तरमा रहेका लघुवित्त वित्तीय संस्थाहरूसँग सहकार्य गरी स्थानीय स्तरमा नै कृषिबीमाको पहुँच बढाएका छन् । साथै, सरकारले पनि बीमा कम्पनीहरू कृषिबीमा व्यवसाय गर्न अनिवार्य रूपमा नै जिल्ला तोकिदिएको छ । तर, त्यो अझै प्रभावकारी नभएको भट्टराई बताउँछन् ।

पछिल्लो समय कृषिबीमाअन्तर्गत पशुपक्षी बीमातर्फ भने आम किसानको चेतना बढ्दै छ । उनीहरू सरकारले अनुदान नदिए पनि त्यस्ता किसान बीमा गर्न राजी छन् । तर, बालीमा बीमा अझै बीमाको आकर्षण नबढेको कम्पनीहरू बताउँछन् ।

हाल कृषिबीमाअन्तर्गत २२ ओटाभन्दा बढी प्रडक्ट छन् । हाल पशुपक्षी बीमातर्फ बाख्रा, माछा, कुखरालगायत पशुपक्षीको बीमा गर्न सकिन्छ । यस्तै, बाली बीमातर्फ धान, अदुवा, सुन्तला, बेसार, च्याउलगायत बालीको बीमा गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)