ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपत्यकामा फ्लाइओभर : तीन स्थानमा अध्ययन शुरू, निर्माण मिति भने अनिश्चित

२०७७ असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं उपत्यकामा प्mलाइओभर बनाउने चर्चा विगत ५ वर्षदेखि हुँदै आए पनि निर्माण अघि बढाउने काम भने अनिश्चित नै देखिएको छ । फ्लाइओभर निर्माणमा नेपालको अनुभव नभएको र लगानी पनि बढी हुने भएकाले तत्काल नै निर्माण गरिहाल्ने अवस्था अहिले नभएको सडक विभागको भनाइ छ ।

फ्लाइओभरको अध्ययन अघि बढाए पनि तत्काल बनाइहाल्ने अवस्थामा नभएको विभागको भनाइ छ । विभाग स्रोतले भन्यो, ‘पाइपलाइनमा फ्लाइओभर बनाउने योजना छ तर चालू आवमै ठेक्का लाग्ने विषय भने प्रचारमात्रै हो, अहिले अध्ययनकै क्रममा भएकाले निर्माण शुरू गर्ने मिति अनिश्चित छ तर बनाउन भने पर्छ । सवारीको चाप हुँदा चक्रपथका चोकहरूमा ट्राफिक जाम बढी भएकाले फ्लाइओभर निर्माण गर्न सकिने सम्भावना भएका स्थानमा अध्ययन अघि बढाइएको विभागको भनाइ छ ।

विभागअन्तर्गतको पुल महाशाखाले ४/५ वर्ष अघि बानेश्वरमा फ्लाइओभर बनाउन सकिन्छ कि भनेर प्रारम्भिक अध्ययन शुरू गरेको थियो । फ्लाइओभर बनाउने योजना चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमा परेको छ । यद्यपि अहिलेसम्म उपत्यकाका कुन चोकमा फ्लाइओभर बनाउने भन्ने विषय निश्चित भने भएको छैन ।

नेपालमा पहिलोपटक फ्लाइओभर बनाउने भएकाले तुलनात्मक रूपमा कम जोखिम भएका आवश्यक र सहज स्थानलाई छनोट गरिएको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले बताए । तीन स्थानको अध्ययनका लागि नेपाली परामर्शदातासँग रू. ५२ लाखमा सम्झौता भएको छ । विभागले चालू आवमा नेपालकै लगानीमा नेपाली परामर्शदाता कम्पनीबाट उपत्यकाका तीन चोक ग्वार्काे, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउने अध्ययन अघि बढाएको छ ।

कोटेश्वर र तीनकुनेमा भने जापानी सहयोग नियोग (जाइका)ले फ्लाइओभर बनाउन अध्ययन शुरू गरिसकेको छ तर त्यसमा विभागको भने सहभागिता छैन । विभागले साउन पहिलो साता परामर्शदाता कम्पनीसँग अध्ययनका लागि सम्झौता गरेको छ ।

चार लेनको फ्लाइओभर बनाउँदा कम्तीमा १ अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान रहेको विभागको आकलन छ । यद्यपि लागतको विषय अध्ययनले तय गर्नेछ । प्रतिवेदन मध्य असोजसम्म तयार हुने भनिए पनि कोरोनाका कारण काममा समस्या आएकाले आगामी पुससम्ममा अध्ययन सम्पन्न हुने देखिएको छ ।

‘लगानीभन्दा पनि गलत संरचना बनेमा सच्याउँदा लगानी खेर जाने जोखिम रहने र सरकारले समेत अहिले मात्रै ट्राफिक व्यवस्थापनमा चासो दिँदै फ्लाइओभरलाई अघि बढाएकाले समय लाग्नु स्वाभाविकै रहेको’ विभागका अधिकारी बताउँछन् ।

उक्त अध्ययनले केकति लागत, जग्गा अधिग्रहणजस्ता विषय अैांल्याइने र त्यसपछि मात्रै ग्वार्कोमा फ्लाइओभर बनाउन शुरू गरिने विभागको भनाइ छ । नेपालसँग फ्लाइओभर बनाएको अनुभव छैन । यद्यपि नागढुंगा–नौबीसे सुरुङमार्गको बलम्बु पोइन्टमा भने सुरुङमार्गसँगै फ्लाइओभर भने बन्दै छ ।

शहरी क्षेत्रमा जग्गाको सीमितता हुने भएकाले पनि फ्लाइओभर बनाउँदा लागत महँगो हुनुका साथै धेरै सरोकारवालाहरू (नगरपालिका, खानेपानी, बिजुली, टेलिकम) लगायतसँँग समन्वय गर्नुपर्ने हुन्छ । बानेश्वरमा फ्लाइओभर बनाउने भनिए पनि त्यसका लागि ४/५ वर्ष लाग्ने देखिएपछि तत्काल आवतजावतमा सहज होस् भनी ३ करोड रुपैयाँ खर्च गरी ओभरहेड ब्रिज बनाउन लागिएको विभागले जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र माइतीघरलाई हेरेर एकीकृत रूपमा बानेश्वर चोकमा फ्लाइओभरले जोड्न सकिने विभागको छ । कोटेश्वरमा बन्दा त्यसको इन्टरसेक्सनका रूपमा तीनकुने आउने भएकाले बानेश्वर हुँदै माइतीघरसम्म पुग्ने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)