ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्तामा २ दिन बिदाको प्रस्ताव

इन्धन मूल्य र हवाई भाडा पुनरवलोकनको ठोस प्रस्ताव पेश गर्न प्राधिकरणलाई निर्देशन

२०७७ असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना महामारीका कारण ठप्पप्राय भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदाको प्रस्ताव अघि सारेको छ ।

मन्त्रालयले २ दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीवार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा २ दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेका छन्, जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ ।

आन्तरिक पर्यटन चलायमान बनाउन यसले सहयोग गर्ने अपेक्षासहित २ दिनको बिदाको प्रस्ताव तयार पारिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘यसले लाखौं मानिस बिदा मनाउन आन्तरिक पर्यटकका रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन्, यसले  पर्यटनलाई चलायमान बनाउन सघाउ पुग्छ,’ उनले भने ।

मन्त्री भट्टराईका अनुसार १ दिनको बिदाले मानिसहरू कहीँ घुम्न जान चाहेर पनि समय अभावमा जान नसक्ने हुँदा २ दिनको बिदा दिँदा टाढा घुम्ने जान चाहनेलाई समय पनि हुनेछ भने बसाइ अवधि लम्बिँदा खर्च पनि बढ्नेछ ।

त्यस्तै बिहीवारको बैठकले पशुपतिनाथ मन्दिर, लुिम्बनीलगायत खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) मा पेश गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णयसमेत गरिएको छ ।

हवाई इन्धनको मूल्य पुनरवलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी हप्ता दिनभित्र मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले बताएको छ ।

बैठकले बंगलादेश, इन्डोनेशिया, रसिया, दक्षिण कोरिया, फिनल्यान्डसँग भएको हवाई सम्झौता असोजभित्र तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयसमेत गरेको छ ।

दुईदिने बिदाको प्रस्ताव पारित भएमा पर्यटकीय गतिविधि बढ्ने नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।

‘पहिलेदेखि नै यो प्रस्तावका बारेमा छलफल भए पनि कार्यान्वयन हुन सकेको थिएन । अब अहिले त्यो प्रस्तावमा निर्णय गरेर कार्यान्वयनमा लैजाने समय आएको छ । यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ भन्ने लाग्छ,’ उनले भने ।

यससँगै अहिले पनि विदेशी पर्यटक नेपाल आउन चाहेको र कतिपय बुकिङ अझै क्यान्सिल नभएको जानकारी दिँदै जोशीले नेपाल आउन चाहने पर्यटकका लागि नेपाल खुला छ भन्ने गरी क्याम्पेन गर्नुपर्ने बताए । ‘अहिले सामान्य अवस्थामा जस्तो पर्यटक आउन सक्ने अवस्था छैन । तर, जो नेपाललाई माया गर्छन्, नेपाललाई राम्रोसँग बुझेका छन्, त्यस्ता ‘नेपाल प्रेमी’ पर्यटक अहिले पनि आफ्नो पुरानो बुकिङ रद्द नगरी पर्खेर बसेका छन् । यो नेपालका लागि सुखद पक्ष हो, त्यसलाई हामीले क्यास गर्नुपर्छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिकुमार लामिछानले पर्यटन बोर्डले अन्तरराष्ट्रिय क्षेत्रबाट पर्यटक आगमन हुने अवस्था नरहँदा पनि आन्तरिक पर्यटन चलायमान बनाउन बिदाको अवधारणा ल्याउनुपर्ने लबिङ गरिरहेको सन्दर्भमा यो प्रस्ताव कार्यान्वयन हुँदा नेपाली पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)