ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तङ्ग्रिँदै उद्यम व्यवसाय : लय नसमात्दै नियन्त्रणको चिन्ता

२०७७ असोज, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै यति बेला आर्थिक गतिविधिले गति समात्न थालेको छ । आर्थिक दैनिकीमा सुधार आएपछि सामाजिक दिनचर्या पनि क्रमशः सहज बन्दै गएको छ ।

करीब ६ महीनाको नियन्त्रणले थला परेको औद्योगिक र व्यावसायिक उपक्रम विस्तारै लयमा फर्किने प्रयास गरिरहेको निजीक्षेत्रले बताएको छ । नियन्त्रण खुकुलो भएसँगै अहिले उद्योग कलकारखाना, सार्वजनिक यातायात, ढुवानी, आवागमन, बजारलगायत क्षेत्र चल्न थालेका छन् ।

यति नै बेला चाडपर्व पनि नजीक आइरहेकाले आवागमन बढ्ने र यसबाट संक्रमण फैलिने त्रास पनि कायमै छ । संक्रमण नियन्त्रणका लागि आर्थिक र सामाजिक गतिविधिमा फेरि रोक लाग्न सक्ने चिन्ताले भने सरोकारका पक्षलाई छोडेको छैन ।

उत्पादन र बजार बढ्न थाले पनि संक्रमणको डर भने हटिनसकेको चाचान समूहका अध्यक्ष बाबुलाल चाचान बताउँछन् । उद्योग व्यवसाय समान्य अवस्थामा आउन कम्तीमा ६ महीना लाग्ने भएकाले औद्योगिक व्यापारिक गतिविधि अवरुद्ध हुने कदम नचाल्न अध्यक्ष चाचानले सरकारलाई आग्रह गरे । आर्थिक गतिविधि अवरुद्ध हुँदा सामाजिक जीवन कष्टकर हुने दाबी निजीक्षेत्रका अनुभवीहरूको छ ।

कोरोना नियन्त्रणका नाममा अब पनि उद्योग र व्यापारलाई बिथोल्ने हो भने अर्थतन्त्र नै धराशयी हुने दाबी नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीको छ । ‘अर्थतन्त्र देशको मेरूदण्ड हो । ६ महीनामा यो कसरी जोगियो, त्यो आश्चर्यको विषय हो । अब पनि यसलाई बिथोल्ने काम भयो भने ध्वस्त हुन्छ, उनले भने ।

कोरोना नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञामात्र पर्याप्त नदेखिएकाले आर्थिक गतिविधि ठप्प बनाउनुको औचित्य नहुने व्यवसायीको भनाइ छ । कोरोनालाई सामान्यीकरण गर्दै अघि बढ्नुको विकल्प नभएको निम्बस समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवाल बताउँछन् । ‘कोरोनाको नाममा त्रास सृजना गरेर होइन, अब सतर्कता अपनाएर दिनचर्यालाई सामान्य बनाउनेतर्फ अघि बढ्नुपर्छ,’ अग्रवालले भने ।

संक्रमणको नाममा फेरि नियन्त्रणको उपाय अपनाउँदा ६ महीनाको नियन्त्रणबाट जसोतसो बाँचेको अर्थतन्त्र ध्वस्त हुने निजीक्षेत्रले बताएको छ । संक्रमण फैलिए पनि फेरि बन्दाबन्दी र निषेधाज्ञाजस्ता उपाय अपनाउनु मूर्खता हुने भनाइ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेशप्रसाद लाठको छ ।

‘अहिले समुदायमा फैलिएको संक्रमणले मानवीय गतिविधिमाथिको नियन्त्रणमात्रै समाधान होइन भन्ने त प्रमाणित भइसक्यो । अब मानवीय र आर्थिक क्षति कम गर्ने उपाय अपनाएर अघि बढ्नुपर्छ,’ लाठले भने । सरकारले बितेको ६ महीनामा मानवीय गतिविधिमा रोक लगाएर स्वास्थ्य पूर्वाधारमा भने उल्लेख्य काम नगरेको आरोप व्यवसायीको छ ।

कोरोना महामारी फैलिन नदिन नागरिक आफै सचेत हुनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव अरविन्द अमात्य बताउँछन् । सुरक्षाका मापदण्ड पालना गरेर दैनिकीलाई सामान्य बनाउँदै लैजानु नै उत्तम उपाय भएको धारणा अमात्यको छ । सतर्कता, उपचारका पूर्वाधार र आर्थिक गतिविधिलाई सँगसँगै अगाडि बढाउन निजीक्षेत्रले सुझाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)