ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यार्सागुम्बा संकलनमा स्थानीयको उदासीनता

२०७७ असोज, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । विगतका वर्षहरूमा यार्सागुम्बा पाइने म्याग्दीका बुकी, खर्क  पाटनहरूमा यतिबेला यार्सा संकलकहरूको बाख्लै भीड लाग्ने गर्दथ्यो । जडीबुटीमध्ये महँगो मानिने यार्सा संकलनका लागि जिल्लाका रघुगंगा गाउँपालिका–८ कुइनेमंगले, धवलागिरि गाउँपालिका–३ गुर्जा, मुदी लगायतका पाटन र खर्कहरूमा महीनौंसम्म बस्ने यार्सा संकलकहरू यस वर्ष छिट्टै फर्किए । यार्सा संकलनका लागि बस्तीदेखि करीब डेढ दिनको यात्रा गरेर कुइनेमंगलेका बुकीमा पुगेका ४० जना स्थानीयले बाख्लै यार्सा भेटे । ३ दिनसम्म यार्सा संकलन गरे पनि थप समय बस्न उत्साह नभएको स्थानीय युवा चित्र छन्त्यालले बताए ।

उनका अनुसार विगतका वर्षको जस्तो यस वर्ष यार्साको माग बजारमा छैन । कोरोना संक्रमणको जोखिमका कारण कुनै पनि व्यापारीबाट  यार्साको माग नआएकाले यस वर्ष स्थानीय बासिन्दाले यार्सा संकलनमा त्यति रुचि नदेखाएको उनको भनाइ छ ।

विगतका वर्षमा यार्सा संकलनका लागि ३ महीनासम्म बुकी, खर्क र पाटनहरूमै बिताउने स्थानीय यस वर्ष ३ दिनभन्दा बढी बसेनन् । ‘बाक्लै यार्सा पाइने ठाउँमा पुगेर पनि धेरै दिन बसेर संकलन गर्न कोही तयार भएनन्,’ छन्त्यालले भने, ‘घरायसी प्रयोग र गाउँमै विक्री गर्न थोरै मात्र संकलन गरेर फर्कियौं ।’ यस वर्ष यार्साको मूल्यसमेत घटेकाले जोखिम मोलेर संकलन गर्न स्थानीयले नचाहेको उनले बताए ।

करीब ३ महीनासम्म हिमाली क्षेत्र आसपासका क्षेत्रमा पुगेर संकलन गरेको यार्सा विक्री गरेर यहाँका स्थानीयले वर्षभरको घरखर्च, बालबालिकाको पढाइ खर्चका अतिरिक्त राम्रै आम्दानी गर्ने गरेको वडाध्यक्ष गमान छन्त्यालले बताए । उनका अनुसार यहाँका चौरवन, चमेली, रिखार, रिरु लगायत स्थानमा गुणस्तरीय यार्सा पाइन्छ ।

धवलागिरि हिमाल आसपासका स्थानमा यार्सा संकलन गर्न यस वर्ष गाउँका ४० जना पुगेको वडाध्यक्ष छन्त्यालले बताए । विगतका वर्षमा यार्सा खरीद गर्न हेलिकोप्टरमार्फत व्यापारी गाउँमै आउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणका कारण कुनै पनि व्यापारी सम्पर्कमा नआएको स्थानीयको भनाइ छ ।

कुइनेमंगलेको बुकीमा ठूलो र गुणस्तरीय यार्सा पाइने भएकाले स्थानीय बासिन्दा बुकी संरक्षण अभियानमा समेत लागेका छन् । यहाँ यार्साले अन्तरराष्ट्रिय व्यापारीलाई आकर्षित गर्न सक्ने बलियो सम्भावना रहेको स्थानीय यार्सा संकलकहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)