धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर÷डीएमई उपकरण जडान गरिएको छ । भीओआर/डीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान गरिएको हो ।
विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भीओआर/डीएमई उपकरण जडान पूरा भएको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर थापाले जानकारी दिए । यो उपकरणको परीक्षण हुन भने बाँकी रहेको उनले बताए ।
१ हजार ८ सय मिटर लामो र ३० मिटर चौडा धावनमार्गमा कालोपत्रे सम्पन्न भइरहेको छ । विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।
दमकल राख्ने घर ‘फायर बिल्डिङ’ र ओभरहेड ट्यांकी निर्माणाधीन अवस्थामा रहेको विमानस्थल कार्यालय प्रमुख थापाले जानकारी दिए ।
तुवाँलो लागेका बेला र रात्रिकालीन समयमा पनि उडान भर्न सकिने गरी जाइकाको सहयोगमा भीओआर÷डीएमई उपकरण जडान गर्न जमिन अधिग्रहण गरिएको हो ।
अहिले धनगढी विमानस्थलको नाममा करिब ७० बिघा जमिन छ । सबै मौसममा दूरी र दिशा पत्ता लगाउन सक्ने उपकरण भीओआर÷डीएमई जडानका लागि १७ बिघाभन्दा बढी जमिन विमानस्थलको नाममा नामसारी भएको कार्यालयले जनाएको छ ।
धनगढी विमानस्थलमा अहिले अन्दाजको भर वा पाइलटको आँखाले हेरेर (भीएफआरको सहायताले) जहाज अवतरण गरिँदै आएको छ । ०६५ देखि निरन्तर धनगढी विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गरिँदै आएको छ ।
६ महिनापछि उडान
धनगढी विमानस्थलबाट हवाई सेवा ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । बन्दाबन्दीका कारण गत चैतदेखि बन्द हवाई सेवा असोज ६ बाट सञ्चालनमा आएको हो ।
निजी क्षेत्रको बुद्ध एयरले काठमाडौं–धनगढी–काठमाडौंसम्मको हवाई सेवा सुरु गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
एउटै समय धेरै उडान भर्दा हुने भीडभाडले कोभिड–१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एक पटकमा एउटा मात्र उडान गरिएको विमानस्थल प्रमुख थापाले बताए । समिट एयरले केही दिनअघि नेपालगन्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगन्जसम्म दुई चार्टर उडान गरेको थियो ।
डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावनमार्गको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी छ । नेपाल वायुसेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ ।
निगमसँग धनगढी रुटमा चल्ने जहाज अभाव भएपछि काउन्टर बन्द गर्नु परेको कार्यालयका प्रमुख हरिदत्त पन्तले जानकारी दिए ।
निगमले धनगढी विमानस्थलबाट कोभिड–१९ को संक्रमण फैलिनुअघि गत चैतसम्म काठमाडौं–धनगढी–काठमाडौंसम्म सातामा तीन दिन ‘एमए
६०’ जहाजमार्फत हवाई सेवा दिँदै आएको थियो ।
‘नयाँ जहाज व्यवस्था नहुन्जेल काउन्टर पुनः सञ्चालन हुँदैन’, उनले भने, ‘एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।’ निगमको धनगढी कार्यालयको काउन्टर बन्द भएसँगै त्यहाँ ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीको म्याद थपिएको छैन । पाँच स्थायी कर्मचारीमध्ये कार्यालय प्रमुख पन्तसहित चार जनाको काठमाडौं र एक जनाको दाङ सरुवा भएको छ ।
देशभरका नाफा कमाउने १० विमानस्थलमध्ये धनगढी विमानस्थल पनि पर्छ । कोरोना संक्रमण रोकथामका लागि चैत ११ देखि हवाई सेवा बन्दको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ ।
महिनामा २५ देखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा त्यो आम्दानी गुमाउनु परेको विमानस्थल कार्यालय प्रमुख थापाले बताए ।