पर्वत । २ वर्षमै सक्ने सम्झौता भई काम थालिएको पर्वतको एउटा मोटरेबल पुलको काम ५ वर्षसम्म पनि पूरा भएको छैन । जिल्लाकोे मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दी खोलामाथिको निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।
खोलाको एकातिर पुलको केही संरचना तयार पारेर यसै छाडिएको छ । संघीय सरकारले ५ वर्षअघि निर्माण शुरू गरेको मोटरेबल पुलको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन । पुल निर्माणका लागि २०७२ सालमै ६ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो भने २०७२ सालदेखि नै निर्माण थालिएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म पुलको काम ज्यूँका त्यूँ रहेको छ ।
स्थानीय शुक्रराज ढुंगानाले पुल निर्माणका लागि पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले चासो नदेखाएको बताए । ‘धेरैपटक हामीले पुलको बारेमा सरकारी निकायमा कुरा राखेका छौं,’ ढुंगानाले भने, ‘पुलको काम रोकिएको बारेमा गुनासो गरेको थाहा पाए उल्टै ठेकेदारले धम्की दिन्छन् ।’ पुल बन्ने चाहना पूरा नहुँदा आपूmहरू निराश भएको उनले बताए । पुल अलपत्र हुँदा बर्खामा सडकमा गाडी नै गुड्दैनन् भने हिउँदमा खोलामा पसेर सवारी वारपार गर्छन् ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता मौखिक रूपमा व्यक्त गरे पनि निर्माण कम्पनीले काम अघि नबढाएको जानकारी दिए । ‘पटक पटक ताकेता गरेकै छौं,’ लम्सालले भने, ‘काम अघि बढाउन निर्माण व्यवसायी गम्भीर देखिएनन् । ताकेता गर्दागर्दै अटेरी गरेपछि सम्झौता रद्द गर्ने तयारी भएको उनले बताए । तर, कार्यालयले लामो समयसम्म सम्झौता रद्द गर्न चासो दिएको छैन । प्रतिनिधिसभाका सांसद पदम गिरीले निर्माण कम्पनीका प्रतितिधि राजेन्द्र भण्डारीलाई पुल निर्माणस्थलमै तत्काल काम अघि बढाउने सम्बन्धमा लिखित कागज समेत गराएका थिए । गिरीले भने, ‘प्रतिबद्धता अनुसारको काम अघि बढ्ने गरी निर्माण कम्पनी गम्भीर नबन्दा स्थानीयले दुःख पाएका छन् ।’ खोलामा पुल नहुँदा वर्षायाममा सवारीसाधन आगमन पूर्णरूपमा बन्द हुन्छ । यात्रामा स्थानीयले बेहोरेको सास्तीबारे सबै पक्ष गम्भीर भए पनि निर्माण व्यवसायी गम्भीर नभएको सांसद गिरीको आरोप छ ।
ठेकेदारले सांसदको आग्रह समेत टेरेका छैनन् । पछिल्लोपटक सरकारले पहिलेदेखि अलपत्र बनेका विकास निमार्णका कामलाई एक वर्ष म्याद थप गरेको छ । सरकारको निर्णय कार्यान्वयन गर्ने हो भने आगामी पुससम्ममा सम्झौता रद्द हुनुपर्छ ।
स्थानीय तहको गठनअघि नै निर्माण शुरू भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी निकै ठूलो हैरानी बेहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल बताउँछन् । स्थानीय तह, संघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटक पटक अटेर गरेकाले यस्तो समस्या भएको उनको भनाइ छ ।