ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञा हटेसँगै उद्योगीले बढाउन थाले उत्पादन

निर्माण सामग्रीका उद्योग भने सिजन कुर्दै

२०७७ असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । विगत ६ महीनादेखि बन्दाबन्दी र निषेधाज्ञाका कारण उल्लेख्य मात्रामा उत्पादन कटौती गरेका उद्योगी तथा व्यवसायीहरूले उद्योगको उत्पादन बढाउन थालेका छन् । निषेधाज्ञाका बेलामा उद्योग, कलकारखाना/फ्याक्ट्रीहरूले क्षमताको १५ देखि २५ प्रतिशत उत्पादन गर्दै आएकामा झन्डै १ महीनाको निषेधाज्ञा असोज १ गतेदेखि हटेपछि क्षमताको करीब ६० प्रतिशतसम्म उत्पादन गर्न थालेका छन् ।

चैत ११ गतेदेखि जारी बन्दाबन्दी सरकारले साउनमा खुला गरेको थियो । यस अवधिमा उत्पादन बढे पनि भदौ ३ गतेदेखि पुनः जारी निषेधाज्ञाले उद्योग व्यवसाय क्षेत्र थप थलिएका थिए । झन्डै ६ महीना लामो समय बन्द/खुलाको उतारचढाव खेपेको उद्योग व्यवसाय क्षेत्रले अब करीब १ महीनादेखि डेढ महीनाभित्रमा पिक अप लिन सक्ने आरएमसी ग्रूपका प्रबन्ध निर्देशक राजेश अग्रवालले बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्षसमेत रहेका अग्रवालले सबै खाले उद्योग व्यवसायीहरू सरकारले बनाएको सुरक्षा प्रोट्रोकल पालना गरी कोभिडसँगै उत्पादन तथा व्यवसायमा लाग्न समान धारणा बनाइसकेकाले अब उद्योग क्षेत्रले लय लिन सक्ने बताए । पाल्पा सिमेन्टलगायत निर्माण सामग्रीको उत्पादन गर्दै आएको आरएमसी ग्रूपले अहिले कुल क्षमताको २५ देखि ३० प्रतिशतसम्म उत्पादन गर्दै आएको छ । अग्रवालले भने, ‘निर्माण सामग्रीको उत्पादन भएकाले दशैंपछि विकासको सिजन शुरू भएपछि उत्पादन वृद्धि गरिनेछ ।’

अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपाने कुल क्षमताको ५० देखि ६० प्रतिशतसम्म उत्पादन हुन थालेको र सोहीअनुसार विक्री पनि भइरहेको बताए । बन्दाबन्दी र निषेधाज्ञाले धराशयी नै बनेको व्यवसाय तथा उत्पादनले पिकअप लिन थालेको भन्दै न्यौपानेले भने, ‘उद्योग/व्यवसायले विस्तारै लय समात्न थालेकाले संक्रमणको भयका बीच आशावादी बनाएको छ ।’
उक्त ग्रूपका मुख्य उत्पादन सिमेन्ट र फलामे डन्डीको उत्पादन तथा विक्री पनि अहिले ५० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ । कामदारको आवतजावत र बजार खुलेकाले अबको केही समयपछि नै व्यवसाय विस्तारै वृद्धि हुुने अपेक्षा गरिएको न्यौपानेले बताए ।

अन्य निर्माण सामग्री उत्पादन गर्दै आएका व्यवसायीहरूले पनि उत्पादन क्षमतालाई झन्डै ५० प्रतिशतसम्म पुर्‍याएका छन् । विगत वर्षको तुलनामा अहिलेको सिजनमा खपत भने उल्लेख्य मात्रामा घटेको उनीहरूको भनाइ छ ।

बन्दाबन्दी र निषेधाज्ञाले शिथिल भएका उद्योगहरूबाट विस्तार उत्पादन वृद्धि भए पनि बजार र खपतको समस्यामा भने सुधारको खाँचो रहेको उनीहरूको भनाइ छ । खासगरी निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूले विकास निर्माणको सिजन कुरेका छन् । सिमेन्ट, डन्डीदेखि इँटा उत्पादकहरूले दशैं तिहारलगत्तै विकास निर्माणका काम शुरू हुने र आवासहरू पनि बनाउने वातावरण देखिएकाले त्यसपछि उत्पादन क्षमता विस्तार गर्ने तयारीमा छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघका अनुसार हाल ४० प्रतिशत जति ग्रील तथा स्टील व्यवसायहरू सञ्चालनमा आएका छन् । कात्तिकसम्ममा यो क्षेत्रको उत्पादन क्षमता ६० देखि ७० प्रतिशतसम्म पुग्ने देखिन्छ । नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटाको विक्री वितरणमा मन्दी नै लागेको बताए । ‘इँटाको कारोबारका लागि अहिले अफ सिजन हो,’ चित्रकारले भने, ‘यद्यपि विगत वर्षमा केही मात्रामा भए पनि घर तथा आवास बनाउनेहरूमार्फत खपत हुन्थ्यो अहिले त्यस्तो छैन ।’

महासंघका अनुसार यो वर्ष ३ अर्ब (संख्या) इँटा उत्पादन गर्ने लक्ष्य राखेकोमा ५० प्रतिशतसम्म मात्रै उत्पादन भएको छ भने मूल्यमा ५ देखि १० प्रतिशत वृद्धि भएको छ । अहिले प्रतिगोटा इँटाको मूल्य न्यूनतम रू. १४ देखि अधिकतम रू. २५ सम्म रहेको छ । तर, सिमेन्ट र डन्डीको मूल्य भने घटेको छ । अहिले ओपीसी सिमेन्टको मूल्य रू. ६५० र पीपीसी सिमेन्टको मूल्य रू. ५५० रहेको छ, । फलामे छडको मूल्य भने मूल्य अभिवृद्धि कर (भ्याट)सहित अधिकतम प्रतिकेजी रू. ७५ सम्म पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)