ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असोज १९ बाट खुल्ने भयो तातोपानी नाका

२०७७ असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक/काठमाडौं । गत फागुनदेखि ठप्प रहेको नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका असोज १९ बाट सुचारु हुने भएको छ । मंगलवार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा असोज १९ (अक्टोबर ५) बाट नाका सुचारु गर्ने सहमति भएको हो ।

सिन्धुपाल्चोकको जम्बु बजारमा २५ असारमा पहिरो गएपछि नाका बन्द थियो र बीचमा केही समय आंशिक खुले पनि चीनमा कोरोना महामारी शुरू भएपछि ठप्प रहँदै आएको छ । बैठकमा चीनका तर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र नेपाल तर्पmका मजदूर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ । त्यसका लागि नेपालका तर्फबाट २ समूह बनाई सामान भित्र्याइनेछ । एक समूहमा चालक, सहचालक र मजदूर गरी २५ जना र अर्को समूहमा २८ जनाको टोली रहने जनाइएको छ ।

पहिलो समूहको पीसीआर गरेर तयारी अवस्थामा राखिएको छ । चिनियाँ पक्षले थप अर्को २८ जनाको समूह तयारी अवस्थामा राख्न भनेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार यसअघि जाँच गरिएका पहिलो समूहका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदूरको ५/५ दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।

मंगलवारको बैठकमा ली ऊ लिनको नेतृत्वमा भन्सार प्रमुखलगायत उच्च चिनियाँ अधिकारीहरू संलग्न थिए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री, सुरक्षा निकायका प्रमुखहरू छलफलमा सहभागी भएका थिए ।

असोज १९ बाट चिनियाँ भन्सारमा रोकिएका मालवाहक कन्टेनरका सामान नेपाल भित्रनेछन् । त्यससँगै नजिकिएको चाडपर्वका लागि चाहिने अत्यावश्यक सामग्रीसमेत तातोपानी भन्सारबाट भित्रनेछ ।

कुती नजीकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न नेपालले चिनियाँ अधिकारीलाई अनुरोध गरेको छ । तर, चिनियाँ पक्षले भने यसबारे माथिल्लो निकायमा कुरा गरेर निर्णय गर्ने बताएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

नाकामा रोकिएका कन्टेनर पठाइदिन उवासंघले लेख्यो चीनलाई पत्र
चीन र नेपालको नाकामा अर्बाैं रुपैयाँको सामान रोकिएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले चीनतर्पmको तीनओटा सरकारी निकायलाई चिठी लेखेर सामान पठाउने व्यवस्था गर्न अनुरोध गरेको छ ।

नेपालीहरूको चाडपर्व पनि नजीक आएको कारण आवश्यक सामान नेपाल लैजाने व्यवस्था गरिदिन संघले मंगलवार अनुरोधपत्र लेखेको हो । तातोपानी र रसुवामा अर्बौं रुपैयाँका नेपाली व्यापारीका सामान अलपत्र अवस्थामा रहेको छ ।

गर्मी सिजनकै लागि व्यापारीहरूले ल्याएका सामान पनि रोकिएको छ । यस्ता सामान रोकिँदा धेरै व्यापारीको उठिबास लाग्ने अवस्था आएको पत्रमा उल्लेख गरिएको छ ।

चीनसँगको कूटनीतिक पहलमा सरकारी पक्षबाट ठोस काम नभएको भन्दै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले व्यापारीको समस्या समाधान गर्न आवश्यक भएकाले यो पहल गरिएको अध्यक्ष वेदवहादुर श्रेष्ठले बताए । व्यापारीका समस्याबारे जानकारी गराउँदै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले चीनको न्यालम कस्टम, चीनको डिपार्टमेन्ट अफ कमर्श र झाङ्मु एडमिनिस्टेशनलाई छुट्टाछुट्टै पत्र लेखेर सामान नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरेको हो ।

नेपालको उत्तरी तातोपानी नाका २०७२ को भूकम्पसँगै बन्द भएको थियो । तातोपानी बन्द भएपछि रसुवा नाकाबाट काम भएको थियो । तर, अहिले दुवै नाकामा व्यापार व्यवसाय बन्द छ । २०७२ सालबाट बन्द भएको नाका २०७६ जेठदेखि खुल्यो तर चीनमा कोरोना महामारी देखिएपछि फागुनदेखि पुनः बन्द भयो ।

नेपाली व्यापारीले ल्याएको सामान चीनको खासा, न्यालम र सिगात्सेमा रोकिएका छन् । खासा हुँदै आउने ४ सयभन्दा धेरै कन्टेनर रोकिएका छन् । यो सामान अघिल्लो डिसेम्बरदेखि नै रोकिएको हो ।

केही समय थोरै परिमाणमा आएको सामान पनि चीन पक्षले पुलमा झारिदिने गरेको थियो । व्यापारीले ल्याएको १ वर्ष अघिदेखिको सामान रोकिएको छ । यसबारेमा राज्यले धेरै पहल नगरेको व्यापारीहरूको गुनासो छ । व्यापारी मात्र होइन, १ हजारभन्दा धेरै मालवाहक गाडी, चालक र सहचालक अलपत्र छन् । उनीहरूको रोजीरोटी पनि समस्यामा परेको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलले खासा, नेलम, ल्यासा र केरुङमा गरी करीब २ हजार कन्टेनर सामानहरू सीमा पारी रहेको बताएका छन् । उनका अनुसार तातोपानी नाका खुल्नु सकारात्मक भए पनि पुनः अवरोध आउनु हुँदैन । दशैंका बेला सामान बोकेका कन्टेनरहरू आउन सके बजारमा स्टक समान सकिएकाले हाहाकार हुने सम्भावना कम हुनेछ । चीनतर्फ जोडिको अर्काे नाका रसुवागढीबाट समेत आयात प्रभावित बन्दै आएको छ । गत हप्ताबाट दैनिक पाँचओटा कन्टेनरमा सामान ल्याउन चिनियाँ पक्षसँग समझदारी भए पनि नाकाबाट निर्बाध रूपमा समान आउन पाएको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)