ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भदौमा पनि औसतभन्दा बढी विप्रेषण

२०७७ असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना महामारीका कारण विप्रेषण आप्रवाहमा कमी आउने आकलनविपरीत विप्रेषण औसतभन्दा बढी भित्रिने क्रम जारी रहेको छ । चालू आर्थिक वर्षको दोस्रो महीना अर्थात् भदौमा पनि औसतभन्दा बढी विप्रेषण भित्रिएको छ । भदौमा पनि जेठ, असार र साउनमा झैं विप्रेषण आप्रवाह उच्च रहेको हो ।

भदौमा करीब ८५ अर्ब रुपैयाँ विप्रेषण नेपाल आएको नेपाल रेमिटर्स एशोसिएशनले बताएको छ, जुन औसतभन्दा बढी हो । पछिल्लो तथ्यांकअनुसार नेपालमा मासिक औसतमा ७३ अर्ब रुपैयाँ विप्रेषण आउने गर्छ । त्यो अनुसार भदौमा भित्रिएको विप्रेषण औसतभन्दा बढी भएको एशोसिएशनको भनाइ छ ।

गत साउनमा भने रू. ९२ अर्ब ७१ करोड विप्रेषण भित्रिएको छ । त्योअनुसार चालु आर्थिक वर्षको २ महीनामा रू. १ खर्ब ७७ अर्ब अर्बको हाराहारीमा विप्रेषण आएको देखिन्छ जुन गत आवको सोही अवधिको भन्दा १५ दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको भदौसम्म १ खर्ब ५३ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

भदौमा ८५ अर्ब रुपैयाँको हाराहारीमा विप्रेषण आएको अनुमान नेपाल रेमिटर्स एशोसिएशनका अध्यक्ष सुमन पोखरेलको छ । ‘भदौ महीना करीब ८५ अर्ब रुपैयाँ बराबरको विप्रेषण आएको प्रारम्भिक तथ्यांकले देखाएको छ । यद्यपि, यकिन तथ्यांक आउन बाँकी नै छ,’ उनले भने, ‘कोरोनाको महामारीका बीच पनि भदौमा आएको विप्रेषणलाई राम्रो मान्नुपर्छ ।’

नेपालमा सामान्य अवस्थामा औसतमा मासिक ७३ अर्ब रुपैयाँको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ । तर, कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित श्रम गन्तव्य मुलुकमा लगाइएको बन्दाबन्दीले गत चैत र वैशाखमा विप्रेषण आप्रवाह औसतभन्दा तल पुगेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतमा रू. ३४ अर्ब र वैशाखमा रू. ५४ अर्ब विप्रेषण भित्रिएको थियो । तर, जेठयता भने लगातार औसतभन्दा बढी विप्रेषण भित्रिएको छ । बन्दाबन्दीका शुरूका २ महीनामा वैदेशिक रोजगारीका प्रमुख श्रम गन्तव्यहरूमा समेत बन्दाबन्दी लगाइँदा पैसा पठाउन सक्ने स्थिति थिएन ।

त्यसैले चैत र वैशाखमा विप्रेषण आप्रवाह घटेको थियो । वैदेशिक श्रमबजारहरू विस्तारै खुल्न थालेपछि भने विप्रेषण आप्रवाहमा सुधार आउन थालेको हो । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यअनुरूप सरकारले नेपालमा गत चैत ११ गतेदेखि लामो बन्दाबन्दी लगाएको थियो ।

बन्दाबन्दीका कारण हुन्डीजस्ता अनौपचारिक माध्यमबाट रकम आउन कम भएकाले विप्रेषण आप्रवाहमा सोचजस्तो कमी नआएको बताइएको छ । बेलायत, अस्ट्रेलिया, यूएई, कोरियाजस्ता मुलुकबाट आउने विप्रेषणको ठूलो अंश हुन्डीमार्पmत नै आउने गर्छ । तर, यस अवधिमा ती मुलुकबाट औपचारिक माध्यमबाट बढी विप्रेषण आएको अध्यक्ष पोखरेलको भनाइ छ ।

पछिल्ला ४ महीनाको विप्रेषण आप्रवाह धेरैले आकलन गरेभन्दा उच्च रहे पनि आउँदा दिनमा यो यसरी नै रहन्छ वा यसमा कमी आउँछ भनेर यकिन गर्न नसकिने रेमिट कम्पनीहरू बताउँछन् । दशैंतिहारजस्ता चाडपर्वका कारण असोजमा पनि विप्रेषण आप्रवाह उच्च नै हुने गर्छ । तर, अहिले चाडपर्व नजिकिँदै गए पनि विप्रेषण आप्रवाह पहिलेको जस्तो नभएको कम्पनीहरू बताउँछन् । ‘पहिले दशैंतिहारलाई लक्षित गरेर विदेशीमा भएका नेपालीले यो सयममा उच्च मात्रामा विप्रेषण पठाउने गर्थे । तर, यो वर्ष अभैm त्यस्तो देखिएको छैन,’ अध्यक्ष पोखरेलले भने, ‘अहिले दशैं ढिला भएका कारण यो महीनाको अन्त्यसम्म विप्रेषण आप्रवाह राम्रै हुने अपेक्षा छ ।’

कोरोनाको महमारीका कारण गत आवमा १० प्रतिशतले विप्रषण आप्रवाह घट्ने अनुमान थियो । तर, गत आवमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले मात्र घटेको छ । गत आवमा रू. ८ खर्ब ७५ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो । चालू आवमा भने शुरूदेखि नै विप्रेषण आप्रवाह बढ्दै गएको छ । अध्यक्ष पोखरेलले भने, ‘कोरोना प्रभावले विप्रेषण आप्रवाहमा जुन रूपमा कमी आउने अनुमान गरिएको थियो । त्यस्तो देखिएन । अहिलेसम्मको अवस्था धेरै राम्रो छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)