काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लामो बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो भएसँगै अहिले आर्थिक क्षेत्र चलायमान हुँदै गएको छ । तर, बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुन बजार भने अझै ठप्प अवस्थामा छ ।
मूल्य अकासिएपछि गत आर्थिक वर्षको सुरुदेखि नै सुनचाँदीको व्यवसाय खस्किँदै आएको थियो । त्यसमाथि कोरोना महामारी र त्यसको नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण सुनको व्यवसाय थप प्रभावित भएको थियो ।
तर, अहिले बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो हुँदा व्यवसायमा सुधार आउने अपेक्षा गरिए पनि कुनै सुधार नआएको व्यवसायीहरु बताउँछन् ।
अहिले दसैं–तिहारजस्ता चाडपर्वको सिजन पनि नजिकिँदै छ । सामान्य अवस्थामा यो समय सुन कारोबार उच्च हुनुपर्थ्यो । तर, यसपालि सुनको व्यवसायमा कुनै रौनक नआएको व्यवसायीहरुको गुनासो छ ।
सुनको मूल्य उच्च भएकैले यसको कारोबार हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
‘बन्दाबन्दीका कारण आर्थिक क्षेत्र प्रभावित हुँदा मानिसको आम्दानी घटेको छ । त्यसमाथि सुनको मूल्य बढ्दा उपभोक्ताले यसलाई प्राथमिकतामा राखेनन् । त्यसैले यसको बजार खस्किएको हो’, शाक्यले भने ।
अहिले आवश्यक परेका ग्राहक मात्र सुन खरिद गर्न आउने हुँदा पसल खोल्ने र बन्द गर्ने मात्र काम भएको उनले बताए ।
पहिला चाडपर्व सिजन र विवाहको लगन भएकाले असोजमा दैनिक ३५ केजीभन्दा बढी सुन खपत हुन्थ्यो । तर, अहिले त्यसको ५ प्रतिशत सुन खपत हुने गरेको उनी बताउँछन् । ‘विवाहको लगन भए पनि सुन कारोबारमा केही सुधार आउँथ्यो । तर, मलमासका कारण अहिले विवाहको लगन छैन,’ उनले भने, ‘सुन व्यवसाय पर्ख र हेरको स्थितिमा छ ।’
गत वर्ष असारमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ हाराहारी थियो । तर, गत वर्ष चीन र अमेरिकाबीचको व्यापार द्वन्द्व, इरान र अमेरिकाबीचको तनावलगायतका कारण विश्व बजारमै सुनको मूल्य बढ्यो । विश्व बजारको मूल्यअनुसार नै नेपालमा सुनको मूल्य निर्धारण गरिने हुँदा गत वर्षको साउनदेखि मूल्य बढ्न थालेको थियो ।
कोरोना महामारी सुरु भएपछि सुन मूल्य थप बढेर नयाँ उचाइमा पुग्यो । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको थियो । अहिले घटेर प्रतितोला ९३ हजार रुपैयाँ हारहारीमा आएको छ ।
सुनको मूल्य अकासिएपछि उपभोक्ताले सुनको गहना बनाउने मनसाय नराखेको व्यवसायीहरुको भनाइ छ । शाक्य भन्छन्, ‘अहिले गरगहनाप्रति ग्राहकको कुनै आकर्षण नै छैन । उनीहरुले सुनको मूल्य घटेपछि मात्र गरगहना बनाउने बताउँछन् । त्यसकारण सुनचाँदी व्यवसाय अहिले निराशाको अवस्थामा छ ।’
पहिला तीज, दसैं–तिहारजस्ता चाडपर्वमा सुनको कारोबार व्यापक मात्रामा हुन्थ्यो । उपभोक्ताले चाडपर्वमा नयाँ गरगहना बनाउने गर्थे । तर, अहिले त्यस्तो नदेखिएको शाक्यको अनुभव छ ।
सुनचाँदी व्यवसायलाई सामान्य अवस्थामा आउन एक वर्षभन्दा बढी समय लाग्ने उनले बताए । ‘कोरोना महामारी कहिले सकिने भन्ने टुंगो छैन । खोप बन्ने क्रम जारी रहेकाले अब यो महामारी धेरै लामो समय नरहला,’ उनले भने, ‘त्यो अवस्थामा १ वर्षपछि सुनचाँदीको व्यवसाय सामान्य अवस्थामा आउन सक्छ ।’
न्युरोडस्थित वराह ज्वेलरीका म्यानेजर कृष्ण खाती पनि व्यवसायमा पहिलेजस्तो रौनक नभएको सुनाउँछन् । ‘पहिला दसैं–तिहारअघि जुन किसिमको व्यापार हुन्थ्यो, अहिले त्योअनुसार छैन,’ उनले भने, ‘अहिले फाट्टाफुट्ट मात्र किनमेल भइरहेको छ । व्यवसाय खस्किए पनि निराशा भइहाल्ने अवस्था छैन ।’
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा २२ हजारभन्दा बढी सुनचाँदी पसल छन् । त्यसमध्ये अधिकांश सुनचाँदी पसल भाडामा राखिएका छन् । तर, व्यवसाय नहुँदा व्यवसायीहरुको आयस्रोत नै गुमेको छ । फलस्वरुप हाल व्यवसायीलाई घरभाडा तथा स्थायी कर्मचारीको तलब भुक्तानी गर्न समस्या छ ।
विशेषगरी साना तथा मझौला व्यवसायी यसबाट बढी प्रभावित भएका छन् । ठूला व्यवसायीहरुसँग सञ्चिति पनि हुने भएकाले त्यति समस्या छैन । तर, पसलको मासिक आम्दानीले नै घरभाडा, तलब तथा घरासी खर्च चलाउने साना तथा मझौला पसलेलाई साँच्चिकै मर्का परेको व्यवसायीहरु बताउँछन् ।