ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न डीपीआर तयार

२०७७ असोज, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । प्रदेश सरकरले पोखरा महानगरको वडा–३३ पशुपतिघाटमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न डीपीआर तयार गरेको हो ।

सरकारले तयार पारेको डीपीआरअनुसार रंगशाला निर्माणका लागि १ अर्ब ६० करोड खर्च लाग्ने भएको छ । पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा प्रदेश सरकारको भोगाधिकार क्षेत्रभित्र आएपछि रंगशाला निर्माणको कामले गति लिएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले रंगशालाको डीपीआर तयार गरी आवश्यक प्रक्रियाका लागि छलफल भइरहेको बताए ।

रंगशालाको डीपीआर १६ लाखको लागतमा बीआरएस सोलुसन इन्जिनियरिङले तयार पारेको हो । डीपीआर तयार भएसँगै रंगशाला निर्माणका लागि जग्गा सम्याउने काम सुरु गरिन लागेको काफ्लेले जानकारी दिए ।

बीआरएस सोलुसन इन्जिनियरिङले तयार पारेको डीपीआरअनुसार नयाँ रंगशाला १८ हजार दर्शक क्षमताको हुनेछ ।

आर्थिक वर्ष ०७७/०७८ मा गण्डकी प्रदेश सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न २ करोड विनियोजन गरेको थियो । जग्गा प्राप्ति र डीपीआर तयार भएपछि उक्त रकम रंगशालाको पूर्वाधार निर्माणमा खर्चिने उनले बताए ।

‘निर्माण सुरु गर्नुअघि जग्गा संरक्षण गर्न सम्बन्धित मन्त्रालयसँग छलफल थालेका छौं’, काफ्लेले भने, ‘अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि ठूलो बजेट आवश्यक  पर्ने हुँदा प्रदेश सरकारले स्रोत जुटाउन आवश्यक पहल थालेको छ ।’

रंगशाला निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत निर्माण प्रक्रिया सुरु गर्न र आवश्यकताअनुसारको प्रक्रिया अवलम्बन गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

सरकारले बजेटको रकमान्तर गरेर २ वर्षभित्र आवश्यक पूर्वाधार निर्माणको काम सक्ने गरी बजेट व्यवस्था गरेर निर्माण प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । सरकारले निर्माण सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकनका लागिसमेत काम अघि बढाइएको उपसचिव काफ्लेले बताए ।

रंगशालाभित्र पिच बाटो, नदी नियन्त्रण, होस्टल, भीआईपी बिल्डिङ, मिडिया कक्षलगायतका आवश्यक पूर्वाधार निर्माण गरिने डीपीआरमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)