पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा विदेशी नागरिकको आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण भएको छ । विभिन्न दाताको सहयोगमा पञ्चकोशी माध्यमिक विद्यालयमा ६ कोठे भवन निर्माण सम्पन्न भएको हो ।
बेलायतका १९ वर्षीय अर्बपति इमान गाड्जीको नेतृत्वमा रहेको ग्रो योर एजेन्सीमार्फत पहार ट्रष्ट नेपालको ८९ लाख, कुश्मा नगरपालिका र स्थानीयको श्रमदानसहित १ करोड ६ लाख खर्चिएर उक्त विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवन आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पहार ट्रष्टका संरक्षक तथा पूर्वअध्यक्ष चन्द्रबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरे । पुरानो संरचना अनुसार बनेको भवन र भूकम्पका कारण भत्किने अवस्थामा रहेकाले दाता खोजेर नयाँ भवन बनाउन थालिएको थियो । कोरोनाको कहरका बीचमा पनि विद्यालयले समयमै भवन सम्पन्न गर्न सकेको र शैक्षिक प्रयोगका लागि विद्यालयलाई हस्तान्तरण गरिएको पहार ट्रष्ट नेपालका संरक्षक तथा पूर्वअध्यक्ष गुरुङले बताए ।
यसअघि तत्कालीन शिक्षा कार्यालय पर्वतको सहयोगमा चारकोठे भवन निर्माण भइसकेको छ भने पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को सहयोगमा चारकोठे भवन र शौचालय तथा खानेपानी निर्माणको काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बताए । भवन निर्माणसँगै सामुदायिक विद्यालय भए पनि पञ्चकोशी माविले ५ कक्षासम्म मन्टेस्सोरी विधिबाट अध्यापन गराउँदै आएको छ । यस्तै विद्यालयमा शैक्षिक सुधारका काम समेत गरिरहेको छ ।