ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा व्यवसायमा कोरोनाको असर : प्रथम बीमाशुल्क संकलन औसतभन्दा कम

२०७७ असोज, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण चालू आर्थिक वर्षमा पनि जीवन बीमा व्यवसाय प्रभावित भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण गत आवमा पनि जीवन बीमा व्यवसाय प्रभावित भएको थियो । अहिले बन्दाबन्दी खुकुलो बनाइए पनि व्यवसाय चलायमान भएको छैन । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) मा कोरोनाको महामारीले असर पारेको छ ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले औसतमा मासिक रू. २ अर्ब ८७ करोडभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने गरेका छन् । तर, चालू आवको साउन र भदौमा औसतभन्दा पनि कम प्रथम बीमाशुल्क संकलन भएको छ ।

बीमा समितिबाट प्राप्त चालू आवको भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो । समितिका अनुसार साउनमा रू. २ अर्ब २२ करोड र भदौमा रू. २ अर्ब ७४ करोड प्रथम बीमाशुल्क संकलन भएको छ । जुन औसतभन्दा कम हो ।

कोरोनाको त्रासका कारण बीमा अभिकर्ताहरू खुलेर फिल्डमा हिँड्न पाएका छैनन् । त्यसैको असरले प्रथम बीमाशुल्क संकलनमा असर पुगेको कम्पनीहरू बताउँछन् । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले अहिले जीवन बीमा व्यवसायको ‘मोमेन्ट’ नै नभएको बताए ।

‘नयाँ व्यवसायका लागि अभिकर्ताहरू ग्राहकको घरघर नै पुग्नुपर्ने हुन्छ । तर, कोरोनाको त्रासले अहिले त्यस्तो गर्न सकिएको छैन । फलस्वरूप जीवन बीमा व्यवसाय प्रभावित भएको छ,’ उनले भने, ‘यो महामारीको समयमा बीमाको आवश्यकता झन् बढेको छ । त्यसअनुसार नयाँ बीमितहरू जुन रूपमा थपिनुपर्ने हो, त्यसअनुसार थपिएका छैनन् ।’

हालकै अवस्था कायम रहेमा समग्र चालू आवको व्यवसाय नै प्रभावित हुने उनको भनाइ छ । ‘अवस्था सामान्य भइहाल्यो भने कुनै समस्या नआउला, तर यही अवस्था कायम भयो भने व्यवसाय बढाउन चुनौती नै हुने देखिन्छ,’ उनले भने, ‘विगतमा ५० प्रतिशतसम्मले व्यवसाय बढेको इतिहास छ । तर, अब त्यो वृद्धिदर प्राप्ति गर्न कठिन छ ।’ साथै, पहिला जारी भएका बीमालेख नवीकरण नहुने (ल्याप्स हुने) सम्भावना पनि उच्च रहेको उनको भनाइ छ ।

अहिले पुराना बीमालेखहरू नवीकरण भइरहेका छन् । तर, त्यो पूर्णरूपमा अर्थात् सामान्य अवस्थामा जस्तो नभएको कम्पनीहरू बताउँछन् ।

गत असारदेखि बन्दाबन्दी खुकुलो भएपछि व्यवसायमा केही सुधार आए पनि सोचेजस्तो नभएको कर्ण बताउँछन् । ‘अहिले जुन रूपमा जीवन बीमा व्यवसाय अगाडि बढ्नुपर्ने हो । त्यसअनुसार बढेको छैन,’ उनले भने । भदौ लागेपछि कोरोना नियन्त्रण गर्न काठमाडौंलगायत जिल्लामा निषेधाज्ञा पनि लगाइएको थियो । त्यसको असरले पनि व्यवसाय प्रभावित भएको कम्पनीहरू बताउँछन् ।

बीमा समितिको तथ्यांकअनुसार प्रथम बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा छ । उक्त कम्पनीले रू. १ अर्ब ३८ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा रहेको युनियन लाइफले रू. ४७ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यसैगरी नेशनल लाइफले रू. ४४ करोड, एलआईसी नेपालले रू. ३८ करोड र राष्ट्रिय बीमा संस्थानले रू. ३१ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधि जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने रू. २० अर्ब ७८ करोड रहेको छ । कुल बीमाशुल्क संकलन गर्ने मामलामा पनि नेपाल लाइफ अगाडि छ, उक्त कम्पनीले रू. ६ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको राष्ट्रिय बीमा संस्थानले रू. ३ अर्ब ८७ करोड प्रथम बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी, एलआईसी नेपालले रू. २ अर्ब ५३ करोड, नेशनल लाइफले रू. १ अर्ब ७३ करोड र युनियन लाइफले रू. ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)