ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ महीनामा ७० करोड स्टीकर छापिने

४० टन कागज जनक शिक्षामा आइपुग्यो

२०७७ असोज, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मदिरा र चुरोटमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले ३ महीनामा ७० करोड स्टीकर छाप्ने भएको छ ।

मुलुकभित्र अन्तःशुल्क स्टीकरको मौज्दात सकिँदै गएपछि अप्ठ्यारोमा परेको सरकारले जनक शिक्षालाई स्टीकर छपाइको जिम्मेवारी दिएको थियो ।

स्टीकर छपाइको काम शुरू गर्न जनक शिक्षाले टेन्डरमार्फत ४० टन कागज किनिसकेको छ । गत भदौको पहिलो साता नै कागज किन्नका लागि गरिएको टेन्डरमा सहभागी पाँच कम्पनीमध्ये सबैभन्दा सस्तोमा कबुल गरेको कागज कोठीसँग खरीदसम्बन्धी सम्झौता भएको थियो । समयमै कागज कोठीले केन्द्रलाई कागज उपलब्ध गराएपछि छपाइ अघि बढाउन बाटो खुलेको केन्द्रका अधिकारीहरू बताउँछन् ।

‘३ महीनाभित्र पहिलो चरणको छपाइ सकिनेछ, त्यसपछि सरकारले थप छाप्न भन्यो भने हामी तयारी अवस्थामा हुनेछौं,’ जनक शिक्षाका महानिर्देशक महेशप्रसाद तिमिल्सिनाले भने । उनका अनुसार छपाइको काम तत्काल थाल्न अहिले नमूना स्टीकर बनाइसकिएको छ । ‘नमूना अर्थ मन्त्रालयमा पठाइसकेका छौं, पास भएलगत्तै तीव्र गतिमा छपाइ हुनेछ,’ उनले भने ।

अन्तःशुल्क स्टीकरको अभाव हटाउन गत साउनमा तत्कालका लागि छपाइको जिम्मा जनक शिक्षालाई दिने निर्णय अर्थ मन्त्रालयले गरेको थियो ।

ग्लोबल टेन्डर आह्वान गर्दा मौज्दात रित्तिने र स्टीकरको चरम अभाव हुने अवस्था आउन सक्ने भएकाले स्वदेशमै छाप्नुपर्ने दबाबमा आन्तरिक राजस्व विभाग थियो ।

यसअघि स्टीकर खरीद प्रक्रियामा छनोट भएको इन्डोनेशियाली कम्पनी पेरुमपेरुरीले ठेक्का सम्झौता गर्न नआएपछि सरकार स्वदेशमै स्टीकर छपाइ गर्न बाध्य भएको हो । पेरुमपेरुरीले सबैभन्दा कम रकम अर्थात् १ अर्ब ६५ करोड रुपैयाँमा स्टीकर छपाइ तथा आपूर्तिको प्रस्ताव गरेको थियो ।

अर्थ मन्त्रालय मातहतका निकायलाई आवश्यक पर्ने ४० बढीभन्दा प्रकारका स्टीकर सरकारले यसअघि ग्लोबल टेन्डरमार्फत विदेशमा नै छाप्दै आएको थियो । आयकरबाहेक वार्षिक करीब ६५ अर्ब राजस्व मदिरा तथा सुर्तीजन्य वस्तुबाट सरकारले प्राप्त गर्ने गर्छ ।

अर्थ मन्त्रालयका अनुसार अहिले मदिरा तथा सुर्तीजन्य पदार्थमा प्रयोग गरिने सबैजसो स्टीकरको मौज्दात सकिनै लागेको छ । जनक शिक्षाले पठाएको नमूना छिट्टै स्वीकृत गर्न आन्तरिक राजस्व विभागलाई मन्त्रालयले निर्देशन दिइसकेको अर्थका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार पहिलो चरणमा जनक शिक्षाको छपाइ हेरेर बाँकी छपाइको जिम्मा दिने तयारीसमेत भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)