ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज सुक्खा बन्दरगाहमा सम्झौताविपरीत सेवा शुल्क

प्रिस्टाइनलाई एनआईटीडीबीले सोध्यो स्पष्टीकरण

२०७७ असोज, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीले सम्झौताविपरीत काम गरेको भन्दै नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी)ले स्पष्टीकरण सोधेको छ । एनआईटीडीबीले बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिसँग स्पष्टीकरण मागेको हो ।

बन्दरगाहमा आयातकर्ताले टर्मिनल सेवा शुल्क (टीएससी) र मजदूरलाई बेग्लाबेग्लै रकम तिरेको पाइएपछि प्रिस्टाइनलाई स्पष्टीकरण सोधिएको एनआईटीडीबीका निर्देशक हेमेन्द्रमोहन शाहीले बताए । स्थलगत निरीक्षण गर्दा प्रिस्टाइनले सेवाग्राहीसित सम्झौताविपरीत शुल्क लिएको भेटिएको दाबी निर्देशक शाहीले गरे ।

बन्दरगाहको नियामक निकाय एनआईटीडीबी र प्रिस्टाइनबीच ठेक्का सम्झौतामा बन्दरगाह सञ्चालकले सेवाग्राहीसित टीएससीबाहेक कुनै पनि शुल्क लिन नपाइने शर्त छ । तर, बोराबन्द कार्गो (बीसीएन) तर्फका सेवाग्राहीले बन्दरगाह सञ्चालक र लोडअनलोडका मजदूर दुवैलाई रकम तिरेको भेटिएको शाहीले बताए ।

‘सेवाग्राही टीएससी र लोडअनलोडका लागि मजदूरलाई बेग्लाबेग्लै रकम तिर्न बाध्य भएको पाइयो । प्रिस्टाइनले तोकिएअनुसार शुल्क लिएपछि आयातकर्ताले अन्यलाई रकम तिर्नु पर्दैन,’ उनले आर्थिक अभियानसित भने ।

ठेक्का सम्झौताअनुसार सञ्चालकले बीसीएन कार्गोतर्फ प्रतिमेट्रिकटन रू. २४६ शुल्क लिन पाउँछ । सेवाग्राहीले यो रकम बन्दरगाह सञ्चालकलाई बुझाएपछि बन्दरगाहमा कार्गो व्यवस्थापनबापतको कुनै पनि रकम तिर्नु पर्दैन । बन्दरगाहमा सेवाग्राहीले सञ्चालक र मजदूरलाई बेग्लाबेग्लै रकम बुझाउनुपरेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

प्रिस्टाइनले बन्दरगाह चलाउने जिम्मा लिएलगत्तै यसअघि आयातकर्ताले बन्दरगाहमा पाउने निःशुल्क समय घटाइदिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हस्तक्षेप गरेर पूर्ववत् व्यवस्था कायम गराएको थियो ।

बन्दरगाहमा काम गर्ने मजदूर र मजदूर आपूर्तिकर्ताहरूले स्थायी लेखा नम्बर नलिएकाले सम्झौता कार्यान्वयनमा समस्या परेको प्रिस्टाइनले बताएको छ ।

कम्पनीले सेवाग्राहीसित प्रति मेट्रिकटन रू. १०९ मात्र लिएको दाबी प्रिस्टाइनका मुख्य अधिकृत आदित्य रायले गरे ।

‘लोडअनलोडमा काम गर्ने सबै कामदारले स्थायी लेखा नम्बर लिएका छैनन् । उनीहरूको त्यसमा रुचि पनि छैन । त्यसैले हामीले टीएससी रू. १०९ मात्र लिएका छौं । मजदूरको खर्च सेवाग्राही आफैले दिएका छन्,’ रायले आर्थिक अभियानसित भने ।

प्रिस्टाइनले एनआईटीडीबीलाई यो बेहोरासहितको स्पष्टीकरण पनि पठाएको जानकारी रायले दिए । बन्दरगाहमा यसअघिको सञ्चालकले प्रति मेट्रिकटन रू.९९ लिने गरेकोमा सम्झौताअनुसार त्यसमा १० प्रतिशत बढाएर रू. १०९ लिइएको प्रिस्टाइनले बताएको छ । यसै वर्षको नयाँ ठेक्का सम्झौतामा प्रत्येक शीर्षकको शुल्क १० प्रतिशत बढाउने उल्लेख छ ।  

बन्दरगाह सञ्चालक र मजदूरलाई बेग्लाबेग्लै रकम तिर्दा प्रतिर्‍याक रू. ५० हजारदेखि १ लाख ५० हजारसम्म अतिरिक्त खर्च परेको आयातकर्ता सुरेश रुंगटाले बताए । रुंगटाका अनुसार प्रिस्टाइनलाई रू. १०९ का दरले शुल्क तिरेपछि मजदूरलाई लोडअनलोडको प्रतिमेट्रिकटन रू. १५० बुझाउनुपर्छ । ‘बेगनको ढोका खोलेको, सरसफाई, ब्यागिङलगायत अन्य खर्च पनि आयातकर्ताको टाउकोमै परेको छ । ठेक्का सम्झौताका अधारमा बन्दरगाह सञ्चालकलाई रू. २४६ का दरले दिएपछि अरू खर्च नपर्ने हो,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)