ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा ५ सय मेगावाटको विद्युत् आयोजना निर्माण गर्ने अस्ट्रेलियन कम्पनीको प्रस्ताव

२०७७ असोज, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । अस्ट्रेलियाको एक व्यावसायिक घरानाले नेपालमा ५ सय मेगावाटको जलविद्युत् आयोजना निर्माण प्रस्ताव गरेको छ । अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा उक्त मेगावाटको विद्युत् उत्पादन गरेर खपत व्यवस्थापनसमेत आफैं गर्ने प्रस्ताव सरकारसमक्ष पेस गरेका हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त कम्पनीबाट ५ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव आएको जानकारी दिए । यस बिषयमा दुई साताअघि मन्त्रालय र कम्पनीका प्रतिनिधिबीच भर्चुअल छलफलसमेत भइसकेको उनको भनाइ छ ।

फोर्टेस्क्यू मेटलले सकेसम्म एउटै आयोजनाको क्षमता ५ सय मेगावाटको हुने गरी निर्माण गर्ने प्रस्ताव गरेको हो । नेपालमा अन्य उद्योगहरू स्थापना गरेर उक्त विद्युत् पनि आफैंले खपत गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको मन्त्री पुनले बताए ।

यसका लागि उक्त कम्पनीको विशेष टोली आगामी साता अर्थात् असोज २६ मा नेपाल आउन लागेको छ ।

कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली नेपाल आउन लागेका हो । उक्त टोली आएपछि यस बिषयमा थप छलफल तथा प्रक्रिया अगाडि बढाइने मन्त्रालयको भनाइ छ ।

‘उक्त टोली नेपाल आएपछि हामीले विभिन्न सम्भावित आयोजनाहरू अवगत गराउनेछौं ।  सम्बन्धित नीतिगत, कानुनी र प्रक्रियागत व्यवस्थाबारे पनि कम्पनीलाई जानकारी दिनेछौं,’ मन्त्री पुनले भने ।

३ दिनको बसाइमा आउने उक्त टोलीले आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा पनि सरकारसँग सम्झौता गर्नेछ ।

फोर्टेस्क्यू मेटल अस्ट्रेलियाको  १० ठूला कम्पनीमध्ये एक हो । यस विषयमा मन्त्री पुन र अस्ट्रेलियन राजदूत पिटर बडबीच पनि छलफल भएको छ । राजदूत पिटरले आफ्नो कार्यकाल सकाएर स्वदेश फर्कनुअघि शुक्रबार ऊर्जामन्त्रीसँग भेटेका थिए ।

भेटमा यस विषयमा पनि छलफल भएको मन्त्री पुनले बताए ।

राजदुत पिटरले फोर्टेस्क्यू मेटल कम्पनीको प्रस्ताव दोहोर्‍याएका थिए । ‘अस्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेको छ । यसमा हामीले सहजीकरण गर्छाै,’ मन्त्री पुनले भने ।

अस्ट्रेलियाले अहिले नेपालमा एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहयोग गर्दै आएको छ । भेटवार्तामा राजदूत पिटरले अस्ट्रेलियाको निजी क्षेत्रलाई नेपालमा जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)