ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन कर्जा आवेदनमा आकर्षण

डिजिटलाइज्ड कर्जा प्रवाह प्रभावकारी हुन अझै समय लाग्ने

२०७७ असोज, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कोभिड महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखी  भुक्तानी गर्न, निक्षेप खाता खोल्नदेखि कर्जासमेत अनलाइनबाटै आवेदन दिएर उपयोग गर्न सकिने प्रडक्टहरू ल्याएका छन् ।

पछिल्लो समय केही बैंकहरूले कर्जा प्रवाहको प्रक्रियालाई डिजिटलाइज्ड गरेपछि यसमा ग्राहक आकर्षण बढ्न थालेको हो । केही बैंकले अनलाइनबाट माग भएका कर्जा स्वीकृतिसमेत दिन थालिसकेका छन् ।

पछिल्लो समय सानिमा बैंक, एनआईसी एसिया, नबिल बैंकलगायतले अनलाइनमार्फत आवेदन भरेर कर्जा लिन पाउने प्रडक्टहरू बजारमा ल्याएका छन् । यसको प्रभावकारिता देखिन थालेको सानिमा बैंकले बताएको छ ।

सानिमा बैंकले ग्राहक सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन बैंकको वेबसाइट डब्लुडब्लुडब्लुडट सानिमा बैंकडटकममा गई क्रेडिट कार्ड आवेदनमा क्लिक गरेर फारम भर्ने व्यवस्था गरेको थियो ।

बैंकले असोज ६ गतेदेखि ‘यसपालिको दसैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गरेको छ । क्रेडिट कार्डका लागि अनलाइनमार्फत १ सय ६२ जनाले आवेदन दिइसकेको सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सबै डकुमेन्ट पूरा गरेकाहरूलाई कर्जाको माग रकम, क्षमता हेरेर बिहीबारसम्म २० वटा क्रेडिट कार्डका लागि स्वीकृति दिइसकेका छौं ।

‘अहिलेसम्म आवेदन परेकामध्ये ५५ जनाले डकुमेन्ट पूरा गरेको पायौं । बाँकीको पनि फाइल हेर्दै छौं’, उनले अभियानसँग भने, ‘यसमध्ये पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने दसैं स्किम रहेको छ ।’

श्रेष्ठ बैंकले कर्जामा समेत डिजिटलाइज्ड गर्नुलाई कोरोना महामारीले दिएको अवसर ठान्छन । कोभिडका कारण बैंकहरूले गर्ने डिजिटल बैंकिङ प्रगति २ वर्षअघि ल्याएको उनको भनाइ छ ।

कर्जा मागसमेत अनलाइनबाट हुनेबारे सबैमा विश्वासको वातावरण बढाउँदै जान जरुरी भएको औंल्याउँदै उनले अझै सरकारले यसलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउँछन् ।

खल्ती डिजिटल वालेटमार्फत सुपर चामत्कारिक कर्जाहरूको आवेदन दिन सकिने सुविधा ल्याएको एनआईसी एसिया बैंकले भने यसको प्रभावकारिता तत्कालै हुन नसकेको बताएको छ ।

बैंकले प्रडक्ट लञ्च गरे पनि सेवाग्राहीका लागि नौलो भएको र यसमा अभ्यस्त नभइसकेकाले कर्जाहरूको आवेदन दिन सकिने सुविधा प्रभावकारी हुन अझै केही समय लाग्ने एनआईसी एसिया बैंकका जनसम्पर्क विभाग प्रमुख तथा सहायक सूचना अधिकारी अर्जुन खनियाले बताए ।

बैंकले यो कर्जा योजनाअन्तर्गत सुपर चामत्कारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाको आवेदन खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।

यो बैंकका खातावालाले खातामा वालेटलाई जोडेपछि वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सीधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था ल्याएको छ ।  

यसबारे धेरै सेवाग्राहीले आवेदन दिन चासो व्यक्त गरिरहेका छन् तर लञ्च गरेको धेरै नभएकाले प्रभावकारी हुन अझै समय लाग्ने उनको भनाइ छ ।

‘यो नेपाली बजारका लागि नयाँ प्रडक्ट हो । यसमा आकर्षण विस्तारै बढ्ने अपेक्षा छ । तर धेरै कर्जा रिलेसनको आधारमा प्रवाह गरिन्छ । कर्जा लिने ग्राहकको आम्दानी,  विश्वास र कस्तो प्रकृतिका व्यक्ति हो भनेर मात्र कर्जा प्रवाह गरिँदै आएको अवस्था छ,’  सहायक सूचना अधिकारी खनियाले भने ।

यसबाहेक नबिल बैंकले फोनबाट ऋण लिन सकिने सुविधा सुरु गरेको छ । यो सुविधापछि तलबी खातावाहक ग्राहकले आवश्यकताअनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्छन् ।

यस्तो व्यवस्था भर्खरै लञ्च भएकाले अहिले धमाधम अनुरोध आइरहेको नबिल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिए । यो सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ बाट खातामा ऋण उपलब्ध गराइने भएकाले सेवाग्राहीहरू बढी लाभान्वित भएको उनको भनाइ छ । ‘सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्नेछ । स्मार्ट बैंक एप प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । यस्तो ऋण छोटो अवधिका लागि उपलब्ध गराइएको छ’, ज्ञवालीले भने, ‘यो सुविधा भोलिका दिनमा सबै बैंकका लागिसमेत उपयुक्त हुन सक्छ ।’

बिनाधितो ऋण लिन ग्राहकको बैंकिङ कारोबारसँग निहित भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने बैंकले बताएको छ । यसअघि भौतिक रुपमै उपस्थित हुँदासमेत कर्जा लिन धेरै झन्झटिला प्रक्रिया अपनाउनुपर्ने अवस्था थियो । तर, अहिले कर्जासमेत डिजिटलाइज्ड भएको छ । तर, यो प्रडक्ट नेपालका लागि नयाँ भएकाले प्रभावकारी हुन समय लाग्ने बैंकरहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)