ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी लगानी सीधै बैंक खातामा ल्याउन गृहकार्य

२०७७ असोज, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । केन्द्रीय बैंकको स्वीकृतविना प्रत्यक्ष विदेशी लगानीको रकम (एफडीआई) सीधै बैंक खातामा ल्याउन पाइने व्यवस्थाका लागि गृहकार्य शुरू भएको छ । एफडीआईको रकम सीधै बैंक खातामा ल्याउन दिनुपर्ने लगानीकर्ताको माग पूरा गर्न राष्ट्र बैंकले गृहकार्य शुरू गरेको हो ।

यो व्यवस्था आएपछि विदेशी लगानी ल्याउनुअघि राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने राष्ट्र बैंकले बताएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले निश्चित शर्त र मापदण्डको अधीनमा रही निश्चित रकमसम्मको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाहरूमार्फत स्वचालित रूपमा (अटोमेटिक रूट) बाट भित्र्याउन सक्ने व्यवस्था गरेको छ । यसअनुसार निश्चित थ्रेसहोल्डसम्मको लगानीलाई राष्ट्र बैंकबाट स्वीकृति नलिई सीधै ल्याउन पाउने व्यवस्था गरिँदै छ । यो व्यवस्थाले एफडीआईको रकम राष्ट्र बैंकको स्वीकृतिविना सीधै वाणिज्य बैंकको खातामा आउने गरी मिलाउन गृहकार्य गरिरहेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । तर, कोरोना महामारीका कारण कार्यान्वयनमा लैजान केही समय लाग्ने उनको भनाइ छ ।

यो व्यवस्था लागू भएपछि एफडीआईको रकम स्वीकृत गर्नुअघिका सबै प्रक्रिया पूरा गर्न राष्ट्र बैंक (हाल एकल विन्दु सेवा केन्द्र) धाउनुपर्ने समयको बचत हुनेछ । लगानीकर्ताले लगानी रकमअनुसार लगानी बोर्ड, उद्योग विभाग, मन्त्रालयबाट मात्र स्वीकृति लिए पुग्छ । कोभिडले गर्दा तत्कालै विदेशी रकम भित्रिने वातावरण नभइसकेकाले अहिले नै व्यवस्था लागू गरी हाल्न औचित्यपूर्ण नभएकाले केही ढिलाइ हुनसक्ने विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

‘कस्ता परियोजनालाई, कति विदेशी लगानीसम्मलाई यस्तो सुविधा दिने र बैंकमा खाता के कसरी खोल्ने लगायतबारे अझै निर्णय भएको छैन । सबै प्रक्रियामै छन् । मौद्रिक नीतिले भनेअनुसार कार्यविधि बनाउँदै छौं । अहिले कोरोना महामारीले गर्दा बोर्ड मिटिङ पनि कम बसेको स्थिति छ,’ उनले अभियानसँग भने, ‘यो व्यवस्था ल्याउन वैदेशिक लगानी तथा प्रविधि ऐनमा समेत संशोधन गर्नुपर्ने देखिन्छ ।’

कोभिड अवधिभर तयारी पूरा गर्नेमा आफूहरू जुटेको उनको भनाइ छ । राष्ट्र बैंकसँग स्वीकृति लिन नपरे पनि लगानीकर्ताको रकम वाणिज्य बैंकमा आएपछि सम्बद्ध बैंकले रकमको स्रोत प्रमाणित गर्नुपर्ने निर्देशक पौडेलले बताए । रकम ल्याइसकेपछि अभिलेख राख्नुपर्ने भएकाले लगानीकर्ताले अनिवार्य रूपमा लेखांकन गर्नु पर्नेछ ।

उनका अनुसार छिमेकी मुलुक भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले पनि विदेशी रकम सीधै बैंकको खातामा ल्याउने व्यवस्था गरेको छ । रकमआएपछि ३० दिनभित्र लेखांकन गरिसक्नु पर्ने भनेको छ । राष्ट्र बैंकले पनि यस्तै मोडालिटीलाई अपनाउन सक्ने उनको भनाइ छ ।

एफीडआई भित्र्याउनुअघि विभाग, मन्त्रालय सबै तर चहार्नुपर्ने झन्झटिलो प्रक्रिया भएको गुनासो गर्दै आएका लगानीकर्ता मौद्रिक नीतिले गरेको यो व्यवस्था छिटो आउनुपर्ने बताउँछन् । विदेशी लगानी ल्याउने प्रक्रिया सरल होस् भनेर राष्ट्र बैंकले एकद्वार प्रणालीअनुसार उद्योग विभागमा २०७६ जेठदेखि एकल विन्दु सेवा केन्द्रको शुरुआत गरेको छ । यो केन्द्र शुरू भएदेखि हालसम्म करीब १६ अर्ब रुपैयाँको विदेशी लगानीको स्वीकृति दिइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एफडीआई स्वीकृतिका लागि सो केन्द्र भए पनि रकम स्वीकृति गर्न कागजात जुटाउँदा र प्रक्रिया पूरा गर्दा लाग्ने समय भने नयाँ व्यवस्थाले गर्दा जोगिने नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर बताउँछन् । सबै विभाग चहार्दा महीनांै दिन लागेको उदाहरण दिँदै अब रकम सीधै बैंकमा आउने व्यवस्थाले केही हदसम्म लगानीमैत्री वातावरण हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले यस्तो लगानीमा झन्झटिला प्रक्रियालाई कम गरे लगानी भित्रिने अवसर सृजना हुन्छ,’ उनले भने, ‘यसले विशेषतः समयको बचत हुन्छ । यो व्यवसायीका लागि मोटिभेशन पनि हो ।’

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सीधै बैंकमा आउने वातावरण मिलाउन गरिएको अनुरोध छिटै पूरा हुनेमा खुशी व्यक्त गर्छन् । उनले भने, ‘हामीले पहिलेदेखि सहज तरीकाबाट सीधै बैंकमा एफडीआई ल्याउन पाउने व्यवस्था गर्न भनिरहेका थियौं । यसबारे अहिले काम भइरहेको छ भन्ने थाहा भयो । अब पैसा बैंकमा आएर काम थालेपछि मात्र केन्द्रीय बैंकमा लेखांकन गर्ने व्यवस्था व्यवसायीका लागि सराहनीय हुनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)