ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ महीनामै झन्डै अर्ब बराबरको सिमेन्ट / क्लिंकर आयात

असोज कात्तिकदेखि आयात गर्न नपर्ने उत्पादकको दाबी

२०७७ असोज, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । मुलुकको सिमेन्ट तथा क्लिंकर उत्पादनमा बन्दाबन्दी र निषेधाज्ञाको असर देखिन थालेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि गरेको बन्दाबन्दीका कारण चुनढुंगा उत्खनन र सिमेन्ट उत्पादन नै ठप्प हुँदा नेपालबाट क्लिंकर र सिमेन्ट आयातका लागि रू. ९५ करोड ७२ लाख रकम बाहिरिएको छ ।

बन्दाबन्दीका कारण क्लिंकर बनाउने कच्चा पदार्थ चुनढुंगा (लाइम स्टोन) उत्खननमा लगाइएको रोक र सिमेन्ट उत्पादनमा पनि कमी आउँदा व्यवसायीहरूले भारतबाट क्लिंकर र सिमेन्ट आयात गरेका हुन् । यद्यपि चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो साउन महीनामा भन्दा भदौमा यसको आयात कम देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनमा रू. ५१ करोड ३४ लाख रकमको सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।

यसैगरी, भदौ महीनामा रू. ४४ करोड ३७ लाख बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । यद्यपि यो गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा पनि धेरै हो । गत आर्थिक वर्षमा साउन र भदौमा गरी नेपालले भारतबाट रू. ७८ करोड २३ लाखको सिमेन्ट तथा क्लिंकर आयात गरेको थियो ।

नेपाल क्लिंकर तथा सिमेन्टमा आत्मनिर्भर भएको व्यवसायीहरूले दाबी गर्दै आए पनि सहज अवस्था हुँदासमेत यसको आयात शून्यमा भने झरेको छैन । चालू आवमा भने परिस्थिति सहज नहुँदा व्यापारीहरूले जेठ तथा असारमा अडर गरेको सिमेन्ट तथा क्लिंकर अहिले आयात हुन थालेको व्यवसायीहरू बताउँछन् ।

नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले आयात हुनेमध्ये क्लिंकरको परिणाम उल्लेख्य हुन सक्ने तर्क गरे । अग्नि सिमेन्टका प्रबन्ध निर्देशकसमेत रहेका पोखरेलले चुनढुंगा उत्खननको सिजनमा बन्दाबन्दीका बीचमा सरकारले सहजीकरण नगरिदिँदा र पछि वर्षायाम शुरू भएकाले खानीसम्म पुग्न नसकेको बताए । फलस्वरूप व्यवसायीहरूले क्लिंकर आयात गरेको उनको भनाइ छ ।

कलकारखाना खुलेको र अब खानीबाट पनि चुनढुंगा उत्खनन गर्न सकिने भएकाले असोज र कात्तिकदेखि क्लिंकर र सिमेन्ट आयात नहुने उनको दाबी छ ।

कोरोना र बन्दाबन्दी अनिश्चित भएको अवस्थामा व्यवसायीहरूले स्टकमा राख्न पनि क्लिंकर तथा सिमेन्ट आयात गरेको देखिएको छ । अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाण्ज्यि महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि बन्दाबन्दीको बीचमा उत्पादन र खानी सञ्चालन गर्न नसक्दा आयात बढेको बताए । ‘अहिले भने आयात बन्द जस्तै रहेको छ,’ मुरारकाले भने, ‘नेपालकै उद्योगहरूले उत्पादन शुरू गरिसकेकाले आगामी दिनमा आयात रोकिने अपेक्षा गरिएको छ ।’

पूर्ण क्षमतामा सिमेन्ट उद्योग सञ्चालन नभए पनि सीमित प्रतिशतमा उत्पादन गर्दै आएको र माग पनि कम भएकाले नेपालमै उत्पादन हुने सिमेन्टले अबको माग धान्नेछ । विगत वर्षहरूमा भन्दा यस वर्ष उल्लेख्य मात्रामा सिमेन्टको माग घटिरहेको मुरारकाले बताए ।

अहिले बन्दाबन्दी तथा अन्य कारणले भन्दा पनि कारखानामा कामदारको अभाव हुँदा उत्पादनमा समस्या आएको भन्दै उनले भने, ‘विकास निर्माणको सिजन शुरू भएपछि र कोरोनाको प्रभाव कम हुँदै गएमा उत्पादन र माग बढ्ने आशा छ ।’

संघका अनुसार अहिले सिमेन्ट तथा क्लिंकर उद्योगहरू कुल उत्पादन क्षमताको ३० देखि ४० प्रतिशतसम्ममा सञ्चालन भएका छन् । कोरोनाको प्रभाव कायमै रहेको, दशैंतिहार तथा छठ पर्वहरू पनि नजिकिँदै गरेको र पूर्वाधार र आवास निर्माण कम मात्रामा भएको हुँदा सिमेन्टको खपत तथा माग पनि कम रहेको संघको भनाइ छ ।

गत असारदेखि सिमेन्टको मूल्य पनि स्थिर रहेको संघको भनाइ छ । अहिले ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य रू. ६५० सम्म र पीपीसीको मूल्य रू. ५५० सम्म रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)