ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कन्टेनर थुप्रिन थालेपछि महावाणिज्य दूतावासले थाल्यो सहजीकरण

कोलकाता बन्दरगाहमा ईडीआई

२०७७ असोज, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गोमा कोलकाता बन्दरगाहमा लागू भएको इलोक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणालीलाई सहज बनाइने भएको छ । यो प्रणालीबाट कस्टम ट्रान्जिट डिक्लेरेसन (सीटीडी) मा बढी समय लाग्न थालेपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले सहजीकरण गरेको हो ।

कोलकाता बन्दरगाह भन्सारले सीटीडी प्रक्रियामा अनलाइनमा आधारित ईडीआई प्रणाली अनिवार्य गरेयता नेपालका लागि आएका करीब ३०० कन्टेनर थुप्रिएको महावाणिज्य दूतावासले बताएको छ । ईडीआई कार्यान्वयनको शुरुआतमै कन्टेनर थुप्रिन थालेपछि तत्कालका लागि अनलाइन र भौतिक रूपमा कागजात पेश गर्ने दुवै प्रक्रिया अपनाउन आग्रह गरिएको महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए ।

‘सामान्यतः नेपालका लागि दैनिक १०० को हाराहारीमा कन्टेनर रहने बन्दरगाहमा ३०० जति पुगेपछि अहिलेका लागि अनलाइन र कागजात चेकजाँच दुवै प्रक्रियाको विकल्प अपनाउन भनिएको हो,’ महावाणिज्यदूत पौडेलले आर्थिक अभियानसँग भने, ‘त्यसयता आयातकर्ताका प्रतिनिधिको गुनासो आएको छैन ।’

महावाणिज्यदूतावासले आयातकर्ताका कोलकातास्थित प्रतिनिधिहरूसित गत बिहीवार छलफल गरी कोलकाता भन्सारलाई समस्या समाधानको तत्कालीन विकल्प सुझाएको हो । अहिले दशैंतिहार र छठजस्ता चाडपर्वलक्षित मालसामान भित्रिने मुख्य समय भएकाले बन्दरगाहमा कन्टेनरको चाप बढेको छ । यसै बेला अनिवार्य गरिएको ईडीआई छरितो नहुँदा बन्दरगाहमा कन्टेनर रोकिएका हुन् ।

चाडपर्वका बेला कार्गोको चाप बढ्ने भएकाले डिटेन्सन र डेमरेज नलाग्ने गरी सहजीकरणका लागि सरोकारी पक्षसँग समन्वय भइरहेको महावाणिज्यदूत पौडेलले बताए । कोलकाता बन्दरगाहमार्फत हुने तेस्रो मुलुकसँगको व्यापारलाई कागजी प्रक्रिया मुक्त बनाउने उद्देश्यले गत असोज ६ गतेबाट ईडीआई अनिवार्य गरिएको हो ।

यो प्रणालीमार्फत कार्गोको सीटीडीका लागि आयातकर्ताले अनलाइनबाटै कागजात पेश गर्ने व्यवस्था मिलाइएको छ । सामानको बिल, प्याकिङ लिस्ट, उत्पत्तिको प्रमाणपत्र, प्रतीतपत्र, कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले दिने प्रमाणपत्रलगायत कागजात अपलोड गर्नुपर्छ । तर, प्रविधि असहज भएकाले पक्रिया पूरा गर्न बन्दरगाह भन्सारमै पुग्नु परेको गुनासो कस्टम हाउस एजेन्टको छ ।

यसबाट सीटीडी प्रक्रिया छरितो हुने अपेक्षा गरिए पनि प्रणालीमा कागजात प्रवृष्टि र संशोधन सहज नभएकाले बढी समय लागेको आयातकर्ताका प्रतिनिधिले बताएका छन् ।

ईडीआईमा गल्ती सच्याउने, रूट परिवर्तनलगायत विकल्प नभएकाले समस्या देखिएको कस्टम हाउस एजेन्ट अमृतभक्त श्रेष्ठको भनाइ छ । अनलाइनबाट सीटीडीको कागजात अपलोड गरे पनि प्रमाणित कागजपत्र लिन भन्सारमै धाउनु परेको श्रेष्ठले बताए ।

भारतका लागि आउने कार्गोमा यसअघि नै यो प्रणाली कार्यान्वयनमा छ । त्यहाँका लागि आएको कार्गो छुटाउन आयातकर्ताका प्रतिनिधि कागजपत्र बोकेर भन्सारमा पुग्नु पर्दैन । अनलाइनबाट पठाइएको काजगात भन्सारले अनलाइनबाटै प्रमाणित गरिदिन्छ ।

ईडीआई प्रणालीलाई पूर्ण अनलाइनमा आधारित बनाउन पहल भइरहेको महावाणिज्यदूत पौडेलले बताए । अनलाइनबाटै प्रक्रिया पूरा हुँदा नेपालको समुद्रपार व्यापार बढी पारदर्शी, प्रभावकारी र छरितो हुने दाबी उनको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)