ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कञ्चनपुरको मझगाँउ विमानस्थलका लागि बजेट र जग्गा अभाव

२०७७ असोज, २०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाँउ विमानस्थल सञ्चालनका लागि बजेट र जग्गा दुवै अभाव देखिएको छ । आइतवार विमानस्थल सञ्चालनको सम्भाव्यताबारे बुभ्mन स्थलगत निरीक्षणका लागि पुगेको सरकारी टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

टोलीका संयोजक नेपाल उड्डयन प्राधिकरण, धनगढीका प्रबन्धक रत्नबहादुर श्रेष्ठले विमानसथ सञ्चालनको सम्भावना भए पनि तत्कालको अवस्थामा जग्गा र बजेटको अभाव देखिएको बताए । उनका अनुसार मध्यम आकारका विमान सञ्चालन गर्न न्यूनतम १ हजार ५२५ मिटर लम्बाइको धावनमार्ग आवश्यक पर्ने भए पनि १ हजार २ मिटर मात्र कायम छ । ‘हाल उपलब्ध क्षेत्रफलमा धावनमार्ग निर्माण गर्न त सकिन्छ,’ संयोजक श्रेष्ठले भने, ‘तर हवाई सुरक्षाका दृष्टिकोणले धावनमार्गको अगाडि/पछाडि पनि जमीन चाहिन्छ ।’

विमानस्थलमा धावनमार्गको लम्बाइ ३०० मिटरसम्म बढाउन सके ७२ सिटको विमान सजिलै उडाउन सकिने उनको भनाइ छ । त्यस्तै विमानस्थल सञ्चालनमा ल्याउन ३७ लाख ७६ लाख बजेट आवश्यक पर्नेमा त्यसको व्यवस्था हुन सकेको छैन । संघीय सरकारले बहुवर्षीय योजना अन्तर्गत २० लाख मात्र विनियोजन गरेको छ ।

‘विमानस्थल सञ्चालनका लागि ठूलो लगानी आवश्यक पर्छ । सबै खर्च प्राधिकरणले जुटाउन सक्दैन,’ संयोजक श्रेष्ठले भने, ‘बजेटका लागि यहाँका स्थानीय तह र प्रदेश सरकारले पनि अग्रसरता देखाउनु प¥यो ।’ स्थानीय स्तरबाट कम्तीमा ५० प्रतिशत लगानी जुटाउनुपर्नेमा उनले जोड दिए ।

बजेट र जग्गाको अभाव रहे पनि प्रारम्भिक अध्ययनले सम्भावना देखाएको मझगाउँ विमानस्थल सञ्चालनका लागि दबाब बढेको छ । सुदूरपश्चिम प्रदेश उद्योग वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले सम्भावना बोकेका विमानस्थल सञ्चालनका लागि  प्रदेश सरकार योजनाबद्ध रूपमा अगाडि बढेको बताए । मझगाउँ विमानस्थल सञ्चालनका लागि प्रदेशले यथाशक्य बजेट विनियोजन गर्ने र थप बजेटका लागि केन्द्र सरकारसँग पनि पहल गरिने उनको भनाइ छ ।

विमानस्थल रहको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि सबै किसिमको तयारी थालिएको बताए । ‘तीनओटै तहका सरकारको समन्वयमा बजेट व्यवस्थापन गरिनेछ,’ उनले भने, ‘बजेटका लागि यहाँका स्थानीय तह सकारात्मक छन् । बाँकी बजेट प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरिरहेका छौं ।’ विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गरिने भन्दै उनले विमानस्थल निर्माण तीन चरणमा अगाडि बढाइने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)