ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंकमा रहेको हबिबको शेयर विक्री गर्न हम्मे

२०७७ असोज, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । पाकिस्तानी हबिब बैंकलाई हिमालयन बैंकमा रहेकोे २० प्रतिशत संस्थापक शेयर विक्री गर्न हम्मे परेको छ । उक्त शेयर किन्न करीब डेढ वर्षअघिदेखि चासो देखाएको बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप (सीडीसी) कोभिडको कारण देखाउँदै पन्छिएको छ ।

गतवर्ष बैंकको वार्षिक साधारणसभा अघिसम्म हबिबको शेयरको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) को काम करीब ८० प्रतिशत सकिएको र बाँकी साधारणसभापछि गर्ने भनिएको थियो । तर, तत्कालै यसो हुन सकेन । तर, अहिले कोभिडको कारण देखाएर सीडीसी हबिबको शेयर किन्नबाट पन्छिएको छ ।

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले सीडीसीले कोभिडका कारण उक्त शेयरमा लगानी नगर्ने आशय व्यक्त गरेको बताए । ‘हबिबका प्रतिनिधिसँग कुराकानी भएको थियो । सीडीसीले कोभिडका कारण नकिन्ने मनसाय व्यक्त गरेको छ । तत्काललाई यो स्थगित भएको छ,’ उनले भने ।

करीब १ महीना अघिसम्म सीडीसीले कोरोनाका कारण आउजाउ गर्न सम्भव नभएकाले सन् २०२० भरिलाई उक्त शेयर खरीद सम्झौता होल्ड गर्ने भनेको थियो । तर, पछिल्लो समय कोभिडको टुंगो नलाग्ने देखेपछि लगानी गर्न इच्छुक नभएको उनको भनाइ छ ।

गत पुसमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेपछि हिमालयन बैंकको जारी पूँजी रू. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ रहेको छ । बैंकको कुल शेयर संख्याको २० प्रतिशतले हुन आउने १ करोड ७० लाख ४० हजार ५११ कित्ता शेयर हबिबको नाममा छ ।

लामो समयदेखि नेपालमा लगानी गरेको हबिबले आफ्नो शेयर विक्री गरेर फर्कन खोजे पनि खरीदकर्ता नआएपछि मौन बस्न बाध्य भएको छ । यसअघि हिमालयन बैंकमा रहेको संस्थापक शेयरबाट हबिबले प्रतिफल पाइरहे पनि उसको रणनीतिअनुसारको योजना सफल हुन नसकेपछि शेयर विक्री गर्न चाहेको थियो ।

नेपाल–पाकिस्तानबीच व्यापार नभएको र नेपालमा पाकिस्तानी समुदाय नरहेको भन्दै हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो शेयर विक्री गर्न चाहेको थियो ।

हबिबले शेयर विक्रीको निर्णय गरेपछि हिमालयन बैंकका संस्थापक शेयरधनीहरूलाई किन्न प्रस्ताव गरेको थियो । कानूनी रूपमा संस्थापक शेयर किन्ने पहिलो अधिकार संस्थाका अन्य संस्थापक शेयरधनीहरूलाई हुने भएकाले शुरूमा हबिबले त्यस्तो प्रस्ताव राखेको थियो । तर, संस्थापक शेयरधनीले शेयर नकिन्ने जवाफ दिएपछि हबिबले अन्तरराष्ट्रिय संस्थालाई विक्री गर्ने मनसाय बनाएको थियो । सीडीसीले शेयर खरीदबाट हात झिकेपछि हबिब बैंकले कर्मचारी सञ्चय कोषलाई शेयर किन्न आग्रह गरेको थियो ।

बैंकका अध्यक्ष गौतम भने कोषसँग हिमालयन बैंकमा १४ प्रतिशत संस्थापक शेयर भएकाले हबिबको सबै शेयर किन्न सम्भव नहुने बताउँछन् । कर्मचारी सञ्चयकोष ऐनमा उल्लेख भएबमोजिम कोषले कुनै पनि बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउने नीतिगत व्यवस्था छ ।

‘हबिबले शेयर विक्री गर्दा पूरै अर्थात् २० प्रतिशत नै एकैचोटि बेच्नुपर्ने हुन्छ । नीतिगत व्यवस्थाअनुसार कोषले सबै खरीद गर्न सम्भव छैन,’ उनले अभियानसँग भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)