ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेले डेटा सेन्टर खोजेपछि नागरिक स्टक डिलर कम्पनी अन्योलमा

क्लाउडमार्फत काम गर्ने तयारी, कर्मचारीलाई कोरोना देखिएपछि तयारी थप प्रभावित

२०७७ असोज, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डेटा सेन्टर खोजेपछि नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा आउने विषय थप अन्योलमा परेको छ । नेप्सेले कम्पनीलाई तथ्यांकहरू राख्न डेटा सेन्टर बनाउन वा क्लाउड प्रयोग गर्न भनेको छ । तर, त्यो बढी खर्चिलो हुने भएपछि कम्पनीले अझै पनि यस विषयमा निर्णय गर्न सकेको छैन । त्यसैले कम्पनीले नेप्सेबाट कारोबार सञ्चालन अनुमति अर्थात् ब्रोकर कोड नम्बर पाउन सकेको छैन ।

नेपाल धितोपत्र बोर्डले साउनमा नै स्टक डिलरको काम गर्न कम्पनीलाई आशयपत्र (एलओआई) दिइसकेको थियो । कम्पनी कारोबार सञ्चालनका लागि आवश्यक पूर्वाधार जुटाउन लागिपरेको छ । तर, अहिले नेप्सेले आप्mनै डेटा सेन्टर बनाउन वा क्लाउड प्रयोग गर्न भनेपछि कम्पनी सञ्चालनमा आउने विषय अन्योल देखिएको हो ।

स्टक डिलरको काम गर्ने उद्देश्यअनुरूप नागरिक लगानी कोषले सहायक कम्पनीको रूपमा गत माघमा नै उक्त कम्पनी स्थापना गरेको थियो । बोर्डबाट आशयपत्र पाएसँगै कम्पनीले गत साउनदेखि नै सेवा सञ्चालन गर्ने भनेको थियो । तर, कोरोना भाइरसले उब्जाएको अप्ठ्यारो परिस्थितिका कारण त्यो सम्भव हुन सकेन । त्यसपछि कम्पनीले असोजभित्र सेवा सञ्चालन गर्ने भनिएको थियो । तर, अहिले नेप्से डेटा सेन्टर बनाउन वा क्लाउड प्रयोग गर्न भनेपछि कम्पनी सञ्चालनमा आउने विषयमा अन्योल देखिएको हो ।

अहिले नागरिक लगानी कोषका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कम्पनीको आन्तरिक काम थप प्रभावित बनेको छ ।

आशयपत्र पाएको ६ महीनाभित्र कम्पनीले आवश्यक पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । नेप्सेबाट ब्रोकर कोड नम्बर लिनुपर्छ । त्यसपछि कारोबार सेटलमेन्टका लागि नेपाल क्लियरिङ हाउसको सफ्टवेयरसँग आफ्नो सफ्टवेयर मिलान गर्नुपर्ने हुन्छ । अनिमात्र धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा अनुगमन गरेर उक्त कम्पनीलार्ई अन्तिम स्वीकृति दिनेछ । तर, नेप्सेबाट ब्रोकर कोड नम्बर लिन नसकेपछि कम्पनीले अन्तिम स्वीकृतिका लागि बोर्डमा निवेदन दिन सकेको छैन ।

कोषका नायब कार्यकारी निर्देशक तथा कम्पनीका सञ्चालक डा.इन्द्रकुमार कट्टेलले नेप्सेले तोकेको मापदण्डमा डेटा सेन्टर बनाउन एकदमै महँगो पर्ने बताए । ‘नेप्सेले जुन मापदण्डमा डेटा सेन्टर बनाउन वा क्लाउडमा डेटा राख्न भनेको छ, त्यो मापदण्डअनुसार जादाँ खर्च बढी हुने देखियो । डेटा सेन्टर बनाउन सार्वजनिक खरीद ऐनअनुसार टेन्डर प्रक्रियामा नै जानुपर्छ,’ उनले भने, ‘यद्यपि, हामीले यस विषयमा नेप्सेको प्राविधिक पक्ष हेर्न वाइको कम्पनीसँग छलफल गरिरहेका छौं । शायद त्यसबाट केही समाधान आउँछ होला ।’

कम्पनीले मंगलवार पनि सिस्टम भेन्डर कम्पनी वाइको प्रालिसँग थप छलफल गर्दै छ । सम्भवतः हाललाई क्लाउडमा डेटा राख्ने गरी यस विषयलाई टुंग्याउने कट्टेलको भनाइ छ । ‘यो प्राविधिक समस्या हो, यसलाई हामी सकभर छिट्टै टुंग्याउने तयारीमा छौं,’ उनले भने ।

क्लाउडमामार्फत समाधान गर्न सकिएमा असोज महीनाभित्र नै कारोबार सञ्चालन गर्न सकिने उनले बताए । ‘हाम्रो अन्य तयारी लगभग पूरा भइसकेको छ । बाँकी भनेको यही मात्र हो,’ उनले भने ।

कम्पनीको सीईओ पनि नियुक्ति भइसकेकाले अब थप प्रभावकारी रूपमा तयारी अगाडि बढ्ने उनको भनाइ छ ।

आवश्यक पूर्वाधार तयार भएपछि कम्पनीले सेवा सञ्चालनका लागि पुनः बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि बोर्डले आवश्यक अध्ययन गरेर सेवा सञ्चालनका लागि अन्तिम स्वीकृति दिनेछ । त्यसपछि मात्र कम्पनीले शेयरबजारमा स्टक डिलरका रूपमा काम गर्न पाउनेछ ।

कोषले शेयर किनबेच गर्ने उद्देश्यसहित गत माघमा नै सहायक कम्पनीका रूपमा नागरिक स्टक डिलर कम्पनी स्थापना गरेको थियो । त्यसमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको शेयर स्वामित्व रहेको छ ।

उक्त कम्पनीको कुल चुक्ता पूँजी रू. ५ अर्ब हुनेछ । त्यसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधरणमार्फत उठाइनेछ । अबको २ वर्षभित्र सर्वसाधारणलाई शेयर निष्कासन गरिने कोषको भनाइ छ । कम्पनीको अधिकृत पूँजी भने रू. १० अर्ब राखिएको छ ।स्टक डिलर कम्पनीले शेयरबजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर किन्ने जस्ता काम गर्नुपर्ने हुन्छ ।

कम्पनीको सीईओमा श्रेष्ठ नियुक्त
कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरेको हो । अबको केही दिनमा नै उनलाई पदबहाली गराउने तयारी कम्पनीको छ । श्रेष्ठ नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् । यसअघि उनले विभिन्न बैंकमा पनि काम गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)