ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वेदकोटमा भूमिहीनका लागि घर निर्माण गरिँदै

२०७७ असोज, २१  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–५ का भूमिहीनका लागि घर निर्माण शुरू गरिएको छ । मंगलवार धरमपुरस्थित मुक्ति शिविरमा नगर प्रमुख अशोक कुमार चन्दले पाँच घरको शिलान्यास गरेका छन् । मधेश समृद्धि कार्यक्रम र नगरपालिकाको सहकार्यमा भूमिहीनका लागि घर निर्माण गर्न लागिएको हो ।

नगर प्रमुख चन्दले तीन महीनामा निर्माण सक्नेगरी योजनाको काम अगाडि बढाइएको बताए । उनका अनुसार भूमिहीनका लागि एउटा बरण्डा सहितको दुईकोठे घर र शौचालय निर्माण गरिनेछ । ‘लामो समयेदखि मुक्ति शिविरमा बस्दै आएका भूमिहीन आफ्नै पक्की घर नहुँदा असुरक्षित थिए,’ नगर प्रमुख चन्दले भने, ‘यसअघि शिविरमा आठओटा घर निर्माण भइसकेका छन् । अन्य घर निर्माणका लागि प्रदेश सरकारसँग पनि पहल  भइरहेको छ ।’

घर निर्माणका लागि गत आर्थिक वर्षमै ठेक्का सम्झौता भइसकेको भए पनि कोरोना महामारीका कारण  निर्माण अवरुद्ध भएको थियो । बछेला सामुदायिक वन क्षेत्रमा पर्ने उक्त बस्तीमा घर निर्माणका लागि सामुदायिक वन र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको नगर प्रमुख चन्दको भनाइ छ ।

नगरपालिकाले घर निर्माणका लागि बुढी घटाल निर्माण सेवासँग २९ लाख १३ हजारमा ठेक्का सम्झौता गरिएको छ । त्यस्तै वेदकोट नगरपालिका–५ का वडाध्यक्ष गणेश विकले भूमिहीनको सुरक्षित वासका लागि घर निर्माण गर्न लागिएको बताए । उनका अनुसार वडा कार्यालयले भूमिहीनको समस्यालाई ध्यानमा राख्दै नमूना घर निर्माणका लागि योजना अगाडि सारेको हो । ‘दैनिक ज्यालादारी गरी खाने वर्गले पैसा कमाएर घर बनाउन सक्दैन,’ उनले भने, ‘सरकारले घर निर्माण गरिदिए उनीहरूले कमाएको पैसा छोराछोरीका राम्रो शिक्षामा खर्च गर्न सक्छन् । त्यसले समाज उन्नत बन्छ ।’

उक्त शिविरमा यसअघि कञ्चनपुर निर्वाचन क्षेत्र–२ का संघीय सांसद नरबहादुर धामीको निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत आठओटा घर निर्माण भइसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)