ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जा प्रवाहमा सुधार : वाणिज्य बैंकले गरे आधा महीनामै रू. ४२ अर्ब थप ऋण लगानी

२०७७ असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारीका कारण ऋणात्मक कर्जा प्रवाहसमेत भोग्नुपरेको बैंकिङ बजारमा निषेधाज्ञा खुलेपछि भने कर्जा बजारमा क्रमशः सुधार देखिन थालेको छ ।

असोज महीनामा १५ दिनमा नै रू. ४२ अर्ब थप कर्जा प्रवाह भएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २७ वाणिज्य बैंकको गत असोजको १५ दिन अर्थात् १६ गतेसम्ममा रू. ४२ अर्ब नयाँ ऋण थपिएर कुल प्रवाहित कर्जा रू. २९ खर्ब ४६ अर्ब पुगेको छ । गत भदौसम्म यस्तो कर्जा प्रवाह २९ खर्ब ४ अर्ब रुपैयाँमा सीमित थियो ।

बन्दाबन्दीपछिका केही महीना कर्जा प्रवाह अर्बौं रुपैयाँले ऋणात्मकसमेत भयो । कोरोना महामारी यथावत् रहे पनि अर्थतन्त्र केही हदसम्म चलायमान भएकाले बैंकबाट थप कर्जा प्रवाह भएको बैंकर संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन् ।

कोरोना महामारी रोक्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह संकुचन आएको थियो ।

सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि बैंक तथा वित्तीय संस्थामा नयाँ कर्जाको माग बढेको छ । यसअघि बैंकरबीच पुराना ऋणी तानातान गर्ने अस्वस्थ प्रतिस्पर्धा भएको थियो ।

नेपाल राष्ट्र बैंकले कर्जा स्वापको सीमा घटाएर शून्य दशमलव १५ प्रतिशत (सेवा शुल्क शून्य दशमलव ७५ प्रतिशतको पनि २० प्रतिशत) मात्र कायम गर्‍यो । यसले गर्दा ऋणीहरू कम ब्याजदर भएको बैंकमा सर्ने प्रवृत्ति बढेको थियो । तर, नयाँ कर्जामा भने सुधार आएको थिएन ।

कर्जा प्रवाहमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै केन्द्रीय बैंकले घर तथा सवारीजस्ता व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर बनाउन असोज मसान्तसम्म अवधि तोकेको छ ।

बैंकरहरूले भने २० देखि २५ वर्षसम्मको लामो अवधिको घर कर्जामा उक्त निर्देशन अनुकूल नहुने भन्दै यसलाई ५ वर्षको अवधि निर्धारण गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

दशैं नजिकिँदै गर्दा बजारमा चहलपहल बढेकाले व्यवसायीहरू कर्जा लिन आएको शर्माको भनाइ छ । ‘चीनबाट आउने सामान रोकिएको थियो । अहिले नाका खुलेपछि नजिकिँदै गरेको चाडपर्वका लागि समेत एलसी खोल्न थालेका छन् । साथै, अरू व्यवसाय सञ्चालन गर्नसमेत ऋण लिनेहरू बढ्न थालेका छन्,’ उनले भने ।

गत भदौ अन्तिमसम्म बैंकमा लेटर अफ क्रेडिट (एलसी) को माग खासै नभएको नबिल बैंकका सीईओ अनिलकेशरी शाहले बताए । नजिकिँदै गरेको दशैंतिहारजस्ता चाडपर्व लक्षित गरी वस्तु आयातका एलसी कर्जामा समेत केही सुधार भएको छ । यद्यपि यस वर्ष अघिल्ला वर्षहरूझैं रमझम गरेर दशैं मनाउने वातावरण नहुने भएकाले लगानी जोखिमयुक्त रहेकाले पनि मागमा प्रभाव परेकोे उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह हुने खालका नीतिनिर्देशन दिएकाले पनि बैंकमार्फत जाने कर्जा बढेको संघका कार्यकारी निर्देशक शर्माको तर्क छ । उनका अनुसार कोभिडबाट प्रभावित ठूला तथा साना सबै खाले संस्थाको सञ्चालन खर्च अर्थात चालू कर्जा प्रवाहको माग बढ्दा समग्रमा कर्जाको रकम बढेको हो ।

कर्जाको माग बढेसँगै विप्रेषण वृद्धि भएकाले निक्षेप संकलन पनि बढेको छ ।

हुन त बन्दाबन्दी भएदेखि नै बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदै आएको थियो । भदौपछिको आधा महीनामा बैंकिङ प्रणालीमा रू. ६४ अर्ब निक्षेप थपिएको नेपाल बैंकर्स संघले बताएको छ । थपिएको रकमसहित बैंकमा असोज १६ गतेसम्ममा रू. ३५ खर्ब ५९ अर्ब निक्षेप संकलन भएको छ । भदौसम्ममा कुल निक्षेप रू. ३४ खर्ब ९५ अर्ब थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)