ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाले घटायो निर्जीवन बीमा व्यवसाय

भदौमा साढे २२ प्रतिशत ह्रास

२०७७ असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न भदौ महीनामा लगाइएको निषेधाज्ञाका कारण निर्जीवन बीमा व्यवसाय प्रभावित भएको देखिएको छ । साउन महीनाको तुलनामा भदौमा निर्जीवन बीमा २२ दशमलव ६७ प्रतिशतले घटेको छ ।

चैत दोस्रो साताबाट लगाइएको बन्दाबन्दी खुकुलो बनाएपछि गत असार र साउनमा निर्जीवन बीमाको व्यवसाय बढ्न थालेको थियो । तर, भदौमा काठमाडौं उपत्यकालगायत शहर तथा जिल्लाहरूमा निषेधाज्ञा लगाइएपछि व्यवसाय पुनः प्रभावित भएको निर्जीवन बीमा कम्पनीहरूले बताएका छन् ।

बीमा समितिको तथ्यांकअनुसार साउनमा रू. २ अर्ब ६९ करोड बीमाशुल्क संकलन भएको थियो । भदौमा भने त्योभन्दा रू. ६१ करोड कम अर्थात् रू. २ अर्ब ८ करोड बीमा शुल्क संकलन भयो । समग्रमा चालू आवको २ महीनामा भने रू. ४ अर्ब ७७ करोड निर्जीवन बीमाशुल्क संकलन भएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि करीब ३ महीना पूर्ण बन्दाबन्दी लगाएको थियो । त्यस अवस्थामा निर्जीवन बीमा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । असारदेखि बन्दाबन्दी खुकुलो बनाएपछि भने निर्जीवन बीमाको व्यवसाय बढ्न थालेको थियो । तर, भदौमा निषेधाज्ञा लगाएपछि व्यवसाय पुनः प्रभावित भएको युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

‘साउनमा जुन रूपमा व्यवसाय भएको थियो । भदौमा निषेधाज्ञाका कारण त्यसअनुसार हुन सकेन । समग्रमा चालू आवको व्यवसायमा सन्तोष हुन सक्ने आधार छैन,’ उनले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि असोजमा पनि व्यवसाय खासै भएको छैन । अबका महीना पनि व्यवसाय घट्दै गयो भने निर्जीवन बीमा क्षेत्र नमज्जाले नै प्रभावित हुने देखिन्छ ।’

कोरोनाको जोखिम बढेपछि काठमाडांै उपत्यकासहितका प्रमुमख शहर तथा जिल्लामा समयसमयमा निषेधाज्ञा लगाइएको थियो ।

बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिनुपर्ने व्यवस्थाले पनि बीमाशुल्क संकलनमा कमी आएको उनको भनाइ छ । ‘बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिने भनेर बीमा समितिले राहत प्याकेज ल्याएको थियो । बीमितले त्यसबापत पाउने छूट रकम कट्टी गरेर बीमालेख नवीकरण गर्ने गरेका छौं,’ उनले भने, ‘त्यसले पनि व्यवसायलाई केही प्रभावित बनाएको छ ।’

हाल नेपालमा नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ निर्जीवन बीमा कम्पनीले समीक्षा अवधिमा उक्त बराबरको व्यवसाय गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले विवरण नपठाएको समितिको भनाइ छ ।

बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । उक्त कम्पनीले २ महीनाको अवधिमा रू. ५८ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले रू. ४८ करोड र तेस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्सले रू. ४१ करोड बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, २ वर्षअघि सञ्चालनमा आएका तीन नयाँ कम्पनीमध्ये अजोड इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले पुराना कम्पनीलाई पनि पछि पार्दै आफूलाई ११औं स्थानमा ल्याएको छ । उक्त कम्पनीले रू. २० करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, जनरल इन्स्योरेन्सले रू. १२ करोड र सानिमा जनरलले रू. ७ करोड बीमाशुल्क संकलन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)