ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय बसको स्पेशिफिकेशन बन्यो

पहिलो चरणमा बढीमा ५० बसका लागि मात्र टेन्डर खोल्ने तयारी

२०७७ असोज, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ सय विद्युतीय बस खरीदका लागि आवश्यक स्पेशिफिकेशन बनाउने काम सम्पन्न गरेको छ । चालू आर्थिक वर्षको बजेटमा स्रोत विनियोजन नभए पनि मन्त्रालयले बस खरीदका लागि स्पेशिफिकेशन बनाएर टेन्डर निष्कासन गर्ने तयारी गरेको हो ।

सरकारले २०७५ पुसमा ३ सय विद्युतीय बस खरीद गरी काठमाडौं उपत्यकामा चलाउने निर्णय गरेको थियो । त्यसअघि एशियाली डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले पाँचओटा विद्युतीय बस खरीद गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नै उद्घाटन गराएको थियो । कात्तिक ६ गते प्रधानमन्त्री ओलीले बीवाईडीका पाँचओटा बस उद्घाटन गरेकोमा ती बसमा विवाद भएपछि थन्किएका छन् ।

२०७६ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस गुडाउने दाबी गरेको सरकारले सोही वर्षको असारमा मात्रै बस खरीदका लागि बजेट विनियोजन गरेको थियो ।

असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयबाट सरकारी स्वामित्व रहेको साझा यातायात प्रालिलाई बस खरीदका लागि रू. ३ अर्ब दिने घोषणा गरेको थियो । तर, ३ महीनापछि नै समयमै बस खरीद गर्न नसकेको आरोप लगाउँदै खरीद प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।

माघ दोस्रो साता साझालाई दिएको रकम फिर्ता लिँदै सरकारले बस खरीदको जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो । तर, निर्णय गरेको ८ महीना बितिसक्दा पनि मन्त्रालयले बस खरीद गर्न सकेको छैन ।

मन्त्रालयले सहसचिव प्रमिला वज्राचार्यको नेतृत्वमा स्पेशिफिकेशनका लागि समिति बनाएको थियो । बसको स्पेशिफिकेशन बनाउन गठित समितिका सदस्य एवं मन्त्रालयका यातायात शाखाका प्रमुख शंकर सिंह धामीले स्पेशिफिकेशन बनाउने काम सकिएकाले टेन्डरको काम अघि बढिसकेको बताए । दशैंअघि नै टेन्डर खोल्ने निर्णय मन्त्रालयले गरेको थियो । तर, मन्त्रालयका कर्मचारीलाई कोभिड देखिएपछि काम केही पछि सरेको मन्त्रालयको भनाइ छ ।

कम्पनीले गत असारमा विद्युतीय बसको विवरण पेश गर्न बस उत्पादक, वितरक तथा सञ्चालकहरूलाई सूचना जारी गरेको थियो । सूचनापछि ४१ ओटा कम्पनीले विवरण पेश गरेका थिए । कम्पनीहरूले दिएको विवरणका आधारमा मन्त्रालयले विज्ञ टोली, विद्युत् प्राधिकरण, इन्जिनीयरिङ अध्ययन संस्थानलगायतसँग छलफल गरी बसको स्पेशिफिकेशन बनाएको हो ।

समितिले स्पेशिफिकेशनमा बसको लम्बाइ ८ दशमलव ५ देखि ९ दशमलव ५ मीटरको बीचमा हुनुपर्ने, पूर्ण विद्युतीय ब्याट्रीबाट चल्ने हुनुपर्ने, ब्याट्री क्षमता १६० किलोवाट प्रतिघण्टाको हुनुपर्नेलगायत शर्त राखेको छ ।

एकपटकको चार्जमा कम्तीमा २०० किलोमीटर चल्ने सिटी बसको शर्त स्पेशिफिकेशनमा राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले टेन्डरमा सहभागी हुन कम्पनी स्टक मार्केटमा दर्ता भई अन्तरराष्ट्रिय बजारमा कम्तीमा १०० ओटा बस बेचेको तथा उत्पादन शुरू गरिरहेको कम्पनी १० वर्ष पुगेको हुनुपर्ने शर्त राखेको छ ।

मन्त्रालयले विद्युतीय बस ल्याउन चाँडै नै टेन्डर निकाल्ने बताए पनि बस कसले सञ्चालन गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । मन्त्रालयले बस खरीदपछि सञ्चालनका लागि दुईओटा डकुमेन्ट बनाएको छ । मन्त्रालयले खरीद गरेर आफै वा सरकारी स्वामित्वका सरकारी निकायलाई सञ्चालन गर्न दिन सकिने र बस उत्पादक कम्पनीसँग नै निश्चित मितिका लागि सम्झौता गरेर उसैलाई सञ्चालन गर्न दिन सकिने डकुमेन्ट बनाइएको मन्त्रालय स्रोतले बताएको छ ।

सरकारले टेन्डर निकाल्ने तयारी गरेको बताए पनि चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमा विद्युतीय बस खरीदको शीर्षकमा बजेट विनियोजन भने गरिएको छैन । दशैंपछि वा तिहारलगत्तै टेन्डर निष्कासन गर्ने तयारी गरिरहेको बताउँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकारले आवश्यक मात्रामा बस खरीदका लागि रकम उपलब्ध गराउने बताए । ‘एकैपटक ३०० विद्युतीय बस खरीद नगरी चरणबद्ध रूपमा गरिने हुँदा आवश्कयताअनुसार अर्थ मन्त्रालयले बजेट निकासा गर्नेछ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)