ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी आयोजना : डिजाइन परिवर्तनसँगै गेट राखिने स्थानमा ‘ग्राउटिङ’

२०७७ असोज, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको डिजाइन परिवर्तन गरिएसँगै अब गेट राख्ने स्थानमा ग्राउटिङ गर्नुका साथै गेट खोल्ने तरीका पनि फरक गरिने भएको छ । सुरुङमा पानी पथान्तरणका क्रममा असार ३० गते गेट फुस्किएर भएको मानवीय र भौतिक क्षतिलाई दोहोरिन नदिन आयोजनाले ग्राउटिङ गर्नुका साथै बाहिर बसेरैभित्र गेट खोल्न र गेट बन्द गर्ने पद्धति अपनाउने भएको हो । पहिला भएको दुर्घटना पुनः नदोहोरियोस् भन्नका लागि सुरुङभित्र गेट राखिने स्थानका भित्तामा १५ मीटर प्वाल पारेर ग्राउटिङ गरी कंक्रिट गरिनेछ । ग्राउटिङ भनेको सुरुङभित्र गेट राख्ने स्थानको भित्तामा प्वाल पारेर केही केमिकलसहित सिमेन्टको घोल ढुंगाको क्र्याकरमा पठाइने प्रक्रिया हो । यसले पानी चुहिने समस्या समाधान गर्छ । यसको सुनिश्चितताका लागि अहिले ठूलो स्केलमा ग्राउटिङ भइरहेको र यो प्रक्रिया सकिएपछि मात्रै सुरुङमा कंक्रिट गरिने आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

‘ग्राउटिङ गर्न तथा सुरुङभित्र सामग्रीहरू लैजाँदा प्रयोग हुने खाली स्थान साँघुरो भएको हुँदा निर्माणमा समय लागेको छ,’ श्रेष्ठले भने, ‘गेटमात्रै राख्ने काम भएको भए १ महीनामै सकिने थियो ।’ गेट निकालिए पनि चौकस सोही स्थानमै भएको र ती संरचना साढे २ वाई ३ मीटर रहेकाले पनि आवतजावतका लागि साँघुरो भएको हो । चारओटा गेट रहेको उक्त सुरुङमार्गमा भने पहिला निर्माण गरिएका गेट नै प्रयोग हुने श्रेष्ठको भनाइ छ ।

यसअघि भएको दुर्घटनामा साइडको ग्राउन्डमा ढुंगाको क्र्याकबाट पनि पानी लिकेज भइरहेको थियो । पहिला तयार गरिएको डिजाइनमा ग्राउटिङ गर्नुपर्ने भनिए पनि यो प्रक्रिया अपनाइएको थिएन ।

आयोजनाका कारण गेटमा समस्या आएपछि थप संरचना निर्माण तथा सामग्री खरीदका लागि सरकारको खर्च भने हुनेछैन । गेट जडान, ग्राउटिङलगायत कामका लागि रू. ४५ लाख थप खर्च हुने उनको भनाइ छ ।

दुर्घटना नदोहोरियोस् भनेर यी प्रक्रिया अपनाइएको हो,’ श्रेष्ठले भने, ‘पहिला गेट बाहिरबाट बाहिर नै खोल्ने थियो, अब डिजाइन परिवर्तन गरेर बाहिर बसेरै भित्र खोल्न मिल्ने र बाहिर बसेर नै भित्र बन्द गर्ने गरी बनाइनेछ ।’

यसैगरी रिकभरी प्लानअनुसार आयोजनाले मङसिरको दोस्रो हप्ताभित्र सुरुङमा पानी परीक्षण गर्ने गरी काम अघि बढाएको छ । अहिले अम्बाथान, ग्याल्थुङ, सिन्धु र सुन्दरीजलमा रहेका गेट निकालिएको छ । यी गेटमध्ये असार ३० गते पानी पथान्तरणका क्रममा अम्बाथानमा रहेको १७ नम्बर गेट पानीको प्रेशर थेग्न नसकी नटबोल्ट फुस्किँदा गेट पनि फुस्किएर मानवीय क्षति भएको थियो । दुर्घटना नदोहोरियोस् भन्नका लागि आयोजनाले चारओटै गेटमा काम गरेको छ ।

गत असार २१ गते सुरुङमार्गमा परीक्षणका लागि पानी पथान्तरण गरेको ९ दिनमै गेट फुस्किएको थियो । त्यसको अध्ययनका लागि खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो भने समितिले डिजाइन नै परिवर्तन गरी सबै गेट पुनः जडान गर्न सुझावसमेत दिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)