ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ

२०७७ असोज, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरस बीमा (कोभिड–१९ बीमालेख) को दाबी भुक्तानीमा ढिलाइ भएको भनी निकै आलोचनापछि अन्ततः त्यसलाई एकद्वार प्रणालीमार्फत गर्ने तयारी गरिएको छ । भुक्तानी हुन बाँकी र अब आउन सक्ने दाबीको भुक्तानीलाई एकद्वार प्रणालीबाट गर्न लागिएको हो ।

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको बीमितहरूको गुनासो बढेपछि समितिले दाबी भुक्तानीलाई सरल र छिटो गर्न एकद्वार प्रणाली बनाउन लागेको हो । यस विषयमा आवश्यक तयारी भइरहेको समितिको भनाइ छ ।

आगामी सातादेखि नै दाबी भुक्तानीमा एकद्वार प्रणाली लागू गरिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बीमा समिति शिल गरिएको छ । आगामी आइतवारदेखि भने कार्यालय खोल्ने योजना छ,’ उनले भने, ‘सम्भवतः आइतवार/सोमवारदेखि नै यसलाई लागू गर्छाैं ।’ यो व्यवस्था लागू भएपछि दाबी भुक्तानी हुन बाँकी र अब पर्ने दाबीको भुक्तानी एकद्वार प्रणालीबाट गरिनेछ । निर्जीवन बीमा कम्पनीहरूले यो बीमालाई लघुबीमा पुलमार्फत सञ्चालन गरेका छन् । त्यसको संयोजन भने नेपाल बीमक संघले गरेको छ । बीमा गर्ने काम एकद्वार प्रणालीमा भएको छ ।

तर, कम्पनीहरूले आफूले गरेको बीमितलाई छुट्टाछुट्टै रूपमा दाबी भुक्तानी दिँदै आएका छन् । त्यसको सेटलमेन्ट भने संघमा नै गराउँदै आइएको छ ।

त्यसरी भुक्तानी गर्दा दाबी दोहिरिन पनि सक्ने भएपछि एकद्वार प्रणाली लागू गर्न लागिएको समितिको भनाइ छ । यस्तै, नक्कली रिपोर्टसमेत सदर भएर दाबी भुक्तानी हुन सक्ने सम्भावना रहन्छ । कम्पनीमा आवेदन आएपछि त्यो पुल अर्थात् बीमक संघबाट स्वीकृति लिनुपर्ने हुन्छ । फलस्वरूप दाबी प्रक्रिया लामो र झन्झटिलो भएपछि दाबी भुक्तानीमा हुन ढिलाइ हुने गरेको थियो । अब एकद्वार प्रणाली लागू गरेपछि दाबी भुक्तानी समयमा नै हुन सक्ने समितिको विश्वास छ ।

दाबी भुक्तानीमा ढिलाइ हुने गरेको विषय बाहिरिएपछि बीमक संघले दाबी भुक्तानी दिन कम्पनीहरू कटिबद्ध रहेको वक्तव्य निकालेको छ । संघले बिहीवार वक्तव्य निकाल्दै दाबी भुक्तानीमा ढिलाइ भएको स्वीकार पनि गरेको छ । संघले कोरोनाका कारण बीमा कम्पनीको कार्यालयहरू पूर्ण रूपमा सुचारू हुन नसक्दा यस्तो समस्या आएको बताएको छ ।

‘कोरोना बीमा कार्यक्रममा सरकारको बजेटको प्रयोग हुने कारण झूटो दाबीमार्फत नेपाली जनताको करको दुरुपयोग नहोस् भन्नेतर्फ सचेत हुनुसमेत हाम्रो कर्तव्य हो ।

सोहीअन्तर्गत नैतिक जोखिम नियन्त्रणका लागि केही प्रक्रिया अवलम्बन गर्न आवश्यक भएका कारण दाबी भुक्तानीमा केही समय लाग्ने गरेको जानकारी गराउन चाहन्छौंं,’ नेपाल बीमक संघको वक्तव्यमा भनिएको छ ।

अहिले ६० करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

गत भदौ २९ गतेदेखि यता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू. २५ हजार पाउने छन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । भदौ २९ गतेभन्दा अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांकबराबरको रकम नै भुक्तानी पाउँछन् ।

नेपालमा कोरोना संक्रमण शुरू हुन थालेपछि बीमा समितिले गत वैशाखदेखि लघुबीमाअन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)